२ भाद्र २०७९ बिहीबार
स्वास्थ्य

काठमाडौंमा हैजा फैलने सम्भावना कति? के भन्छन् स्वास्थ्य विशेषज्ञ?

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजा संक्रमण देखिएसँगै यसको महामारी फैलने त्रास बढेको छ। इपिडिमियोलोजी तथा रोग महाशाखाका अनुसार मंगलबारसम्म उपत्यकामा १२ जनामा हैजा संक्रमण देखिएको छ।  

बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट, नैकाप र बुढानिलकण्ठमा हैजा देखिएको महाशाखाले जनाएको छ। 

उपत्यकामा हैजा देखिनुको प्रमुख कारण खानेपानी देखिएको इपिडिमियोलोजी तथा रोग महाशाखाका प्रमुख डा.चुमनलाल दास बताउँछन्।  

उनका अनुसार उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएका छन्।  बर्खायाम लागेसँगै हैजा, झाडापखाला जस्ता रोगहरु देखिनु सामान्य रहेको चिकित्सकहरु बताउँछन्। यो बेला धेरै जस्तो पानीका मुहानहरु दुषीत हुने कारणले गर्दा यस्ता रोगहरु फैलने चिकित्सकहरुको बुझाइ छ।

यो बेला खानेपानी शुद्धिकरण गरेर खानुका साथै बाँसी सडेगलेका खानेकुराहरु नखान चिकित्सकहरुले सुझाव दिने गर्दछन्। संक्रामक रोग बिशेषज्ञ डा.शेरबहादुर पुन बर्षायाममा हैजा जस्ता रोगहरु देखिनु सामान्य भइसकेको बताउँछन्। पुन भन्छन्,‘काठमाडौंमा हैजा देखिनुभन्दा एक हप्ता अघिदेखि मैले हैजा के हो? हैजाबाट बच्नका लागि कस्ता कुरामा ध्यान दिर्नुपर्छ भन्ने जस्ता जनचेतनामुलक कुराहरु भन्दै आइरहेको थिए। काठमाडौंको फोहोर नउँठदा हैजा जस्ता रोगहरु देखिन सक्छ भन्ने कुरामा म अवगत नै थिएँ।’ यस्ता रोगहरुबाट बच्न सर्वसाधरणहरुले खानेकुरामा ध्यान दिर्नुपर्ने उनको भनाई छ।  

उपत्यकामा हैजाको महामारी फैलने सम्भावना कति?

उपत्यकामा हैजा संक्रमण देखिएसँगै हैजाको महामारी नै फैलने संभावना बढेको छ। बिगतका घटनाहरुलाई नै हामीले नियाल्ने हो भने हैजाले महामारीकै रुप लिएको अवस्था छ।  

गत वर्ष कपिलवस्तुमा हैजाले महामारीकै रुप लिएपछि सरकारले हैजाविरुद्वको खोप अभियान नै सञ्चालन गरेको थियो। विभिन्न प्रयासबाट पनि महामारी नियन्त्रणमा नआउँदा सरकारले अमेरिकाबाट हैजाविरुद्वको ओरल करेला भ्याक्सिन नै ल्याउनु परेको थियो। यसले गर्दा उपत्यकामा पनि हैजाको महामारी नफैलेला भन्न सकिँदैन। 

तर, संक्रामक रोग बिशेषज्ञ पुन अहिलेनै उपत्यकामा हैजाको महामारी फैलेला भन्न नसकिने बताउँछन्। उनका अनुसार हैजाको फैलनुको श्रोत तत्काल पहिचान गर्नुपर्छ। सरोकारवाला निकायहरुले बजार अनुगमन र खानेकुराको सरसफाईमा कडाई गर्नुपर्छ। सर्वसाधरण सबैभन्दा बढि सचेत हुनुपर्छ। ‘खानेकुरा, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ’, डा.पुन भन्छन्। यस्ता कुराहरुमा ध्यान दिन सकेमा काठमाडौंमा हैजा फैलनबाट रोक्न सकिने उनको बुझाई छ।  

हैजा महामारी रोक्न के गर्न सक्छ सरकारले?

हैजा जस्ता महामारी रोक्न सरकार र नागरिक दुवैको उत्तिकै भूमिका हुने डा.पुन बताउँछन्। उनी भन्छन्, ‘मैले यो क्षेत्रमा काम गर्न लागेको २० वर्ष भयो, पहिला पहिला त हैजाका कारणले उपचार गर्ने ठाउँ सम्म हुदैनथ्यो। अहिले त्यो अवस्था छैन्। तर संक्रमण देखिएपछि नियन्त्रण गर्न तर्फ लाग्नुपर्छ।’

हैजा फैलिसकेको हुँदा सरकारले श्रोत पहिचान गरी नियन्त्रण तर्फ लाग्नुपर्ने, फैलन् नदिँन निरन्तर बजार अनुगमन गर्नुपर्ने, खानेपानीका कुराहरुमा जनचेतनामुलक जानकारीहरु दिने जस्ता कार्यक्रमहरु सरकारले गर्न सक्ने पुन बताउँछन्।  

त्यस्तै सर्वसाधरणहरुले खानेपानी विशेष ध्यान दिनुपर्छ। जार र बोतलका पानीको स्वच्छ छ की छैन? ख्याल गर्नुपर्छ। पानी शुद्धिकरण गर्ने, बासीँ सडेगलेका खानेकुराहरु नखाने जस्ता विधिहर अपनाउनुपर्छ।

हैजा नियन्त्रण गर्न के गर्दै छ स्वास्थ्य मन्त्रालय?

काठमाडौं उपत्यकामा हैजा जस्तो संक्रमण देखिनु दुर्भाग्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी बताउँछन्।  

उनी भन्छन्, ‘काठमाडौं जस्तो सरसफाइको हिसाबले, चेतनाको हिसाबले,पानीको शुद्धता राम्रो, सबै राम्रो भएको ठाउँमा हैजा देखिनु हुदैनथ्यो। जनस्वास्थ्यको हिसाबले एउटा मात्र पुष्टि हुनु चिन्ताको बिषय हो, काठमाडौंको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट नैकप लगायतका ठाउँहरुमा हैजा देखिनुले धेरै प्रश्नहरु उठाएको छ।’  

काठमाडौंमा देखिएको हैजा नियन्त्रणका लागि मन्त्रालयले बिभिन्न निकायहरुसँग समन्वय गरी काम गरिरहेको अधिकारी बताउँछन्। बिशेषगरी हैजा भनेको के हो? कसरी सर्छ? संक्रमण भएका व्यक्तिहरु कसरी पहिचान गर्ने? उपचार व्यवस्था कसरी गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको उनले बताए।  

खानेपानीको कुराहरुमा कसरी निगरानी गरिरहनु भएको छ भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘बर्षायामको पानी र अन्य समयमा पानीमा हामीले ध्यान दिर्नुपर्छ। अर्को बर्षायाममा खानेपानीका मुहानहरु प्राय गरी दुषित नै हुने गर्दछ। हामीले गरेका फोहोरहरु पानीको मुहानसम्म पुग्न नदिएको भए र हामीले जथाभावी फोहोर गर्दैन थियौं भने राम्रो हुन्थ्यो। तर त्यो अवस्था छैन्। त्यसैले हामीले आफ्नो निकायबाट गर्न सक्ने कामहरु गरिरहेका छौं।’

हैजा के हो?

भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ। डा.पुनका अनुसार बिशेषगरी हैजा दुषित खानेकुरा र दुषित पानीको कारणले हुने गर्दछ। ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश भएपछि विस्तारै झाडापखाला हुने उनी बताउँछन्।  

पुनका अनुसार हैजा हुँदा एकोहोरो चौलानी जस्तो दिसा लाग्नुका साथै बान्ता हुनु यसको प्रमुख लक्षणहरु हो।  यस्तै हैजा हुँदा कम्तीमा ५ देखि ८ दिनसम्म लक्षण देखापर्न सक्छन्। हैजा भएको खण्डमा जलवियोजनमा कमी आउने गर्छ। जलवियोजनका कारण पेट दुख्ने, छाला चिसो हुने, तौल घट्ने, आँखा गढ्ने, छाला नीलो हुने लगायतका लक्षण देखा पर्छन्।

हैजाका कारण शरीरमा पानीको मात्रा कम हुँदै जाने भएकाले त्यसपछि पिसाब बन्द भई मिर्गौला बिग्रने सम्भावना हुन्छ। यदि समयमा उपचार नभए व्यक्तिको मृत्यु समेत हुने पुन बताउँछन्।  

कस्ता व्यक्ति हैजाको बढी जोखिममा  

डा.पुन सबै व्यक्ति हैजा संक्रमणको जोखिममा रहेको बताउँछन्। धेरै जस्तो युवा उमेरका व्यक्तिहरु धेरै बाहिर हिड्ने, खाने, घुम्ने हुँदा उनीहरुमा संक्रमणको जोखिम रहेको उनको भनाई छ। तर बिशेषगरी बुद्धबृद्धा र बालबालिका हैजाको बढी जोखिममा हुने गर्दछन्।  

हैजा भएका व्यक्तिले कस्ता कुरामा ध्यान दिनुपर्छ?

हैजा भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने डा. पुन बताउँछन्। दाल, हैजा भएको बेलामा दही, जुस तथा फलफूल प्रशस्त मात्रामा खुवाउनु पर्दछ।  

यस्तै प्रशस्त मात्रामा जीवनजल खुवाउने, यदि जीवनजल उपलब्ध नभएमा उमालेको सफा ६ गिलास पानीमा ६ चम्चा चिनी र आधा चम्चा नुन घोलेर खुवाउन उनको सुझाव छ।

त्योसँगै नरम तथा सजिलै पच्न सक्ने खानेकुराहरु थोरै थोरै गरी पटक पटक खुवाउने, व्यक्तगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्ने पुन बताउँछन्।  

यदि घरेलु उपचारबाट पनि निको भएन भने तत्काल स्वास्थ्य संस्था लैजानुपर्ने उनी बताउँछन्। झाडापखाला अनि बान्ता आयो भन्दैमा अनुमानको भरमा जथाभावी औषधि किनेर नखान उनको सुझाव छ।

प्रकाशित: १४ असार २०७९ २०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App