७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नक्कली औषधि अवैध वितरण भन्ने समाचारप्रति औषधि उत्पादक संघको ध्यानाकर्षण

नेपाल औषधि उत्पादक संघले रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीवितरण भन्ने समाचार भ्रामक भएको बताएको छ।  

संघले एक विज्ञप्ती जारी गर्दै बिगत केही दिनदेखि बिभिन्न सञ्चारमाध्यममा रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीवितरण, प्याकिङ,लेबलिङ्ग साथै अधिकतम विक्रीमुल्य समेत प्रिन्ट गरि बजारमा पठाईएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

त्यस्तै संघले गोदामहरुमा छापा मार्दा बरामद भएका बस्तुहरु नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको जनाएको छ।  

नेपालमा उत्पादन तथा विक्रीवितरण हुने औषधीहरु औषधि व्यवस्था बिभाग बाट गुणस्तरको सुनिश्चितता गरि दर्ता भई बजारमा जाने गरेको पनि संघले बताएको छ। 

यस्तो छ विज्ञप्ती

विगत केही दिनदेखि बिभिन्न सञ्चारमाध्यममा रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीबितरण, प्याकिङ,लेबलिङ्ग साथै अधिकतम विक्रीमुल्य समेत प्रिन्ट गरि बजारमा पठाईएको भन्ने समाचार प्रति यस नेपाल औषधि उत्पादक संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त गोदामहरुमा छापा मार्दा बरामद भएका बस्तुहरु नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको यसै बिज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौ।

नेपालमा उत्पादन तथा विक्रीबितरण हुने औषधिहरु औषधि व्यवस्था बिभागबाट गुणस्तरको सुनिश्चितता गरि दर्ता भई बजारमा जाने सबैलाई बिदित नै छ। केही वर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधी कै बनावट र प्याकिङ्गमा विक्रीबितरण भै रहेका छन्। औषधि भन्दा कयौं गुणा बढी मूल्य लिई यस्ता उत्पादन विक्रीबितरण भैरहेको छन्। खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको सिफारिसमा यस्ता बस्तुहरुको आयात भैरहेका छन्। स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रबिधिजन्य स्वास्थ्य सम्बन्धि निर्देशिका जारी गरिसकेको भएतापनि यस्ता उत्पादन नेपाली औषधि उद्योगले बनाउन हालसम्म पनि अनुमति पाएका छैनन्। चिकित्सकलाई समेत भ्रममा पारी यस्ता उत्पादनहरु लेखाउने प्रबृति बढ्दो छ। औषधिजन्य पदार्थ मात्र बिक्री गर्ने अनुमति पाएका औषधि पसलबाट निर्वाध रुपमा यस्ता बस्तुहरु बिक्री हुँदा समेत सम्बन्धित निकाय मौन रहको छ। आयातलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट खाद्य पदार्थको रुपमा अनुमति लिने तर औषधि कै रुपमा औषधि पसलबाट विक्रीबितरण हुँदा सर्बसाधारणले यसलाई औषधि कै रुपमा प्रयोग गरिरहेका छन्। नेपाली औषधि उद्योगहरुले सजिलै बनाउन सक्ने यस्तै प्रकारका उत्पादनहरु आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरुद्वारा विक्रीबितरण गर्न पाउने, चिकित्सकहरुले सिफारिस गर्न पाउने तर नेपाली औषधि उद्योगले भने बनाउन नपाउने नितिले हामी स्वदेशी उद्योगहरु देश भित्र नै बञ्चित रहेको प्रष्ट हुन्छ। स्वदेशी औषधि उद्योगलाई बञ्चित गरि जनमानस लाई भ्रममा पार्दै औषधि कै रुपमा अत्यधिक मुल्यमा बिक्री भैरहेका यस्ता बस्तुहरुको बारेमा सम्पुर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौ।

खाद्यपुरकको रुपमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग बाट अनुमति लिई आयात गर्ने तर खाद्य पसलबाट बिक्रि बितरण नभई औषधि ऐन २०३५ अनुसार औषधि व्यवस्था बिभागमा दर्ता भएका औषधिजन्य पदार्थ विक्री गर्ने अनुमति पाएका औषधि पसलबाट बिक्री गरिने हुँदा यो सरासर सर्वसाधारण जनतालाई भ्रममा पारी बिक्री भइरहेको कुरा प्रष्ट छ। अनुमति दिने र बिक्री गर्ने निकाय फरक फरक हुँदा र पर्याप्त नियमन हुन नसक्दा यस्ता प्रकारका बिकृति फैलिएको यस संघको निस्कर्ष रहेको छ।

तसर्थ कानुन बिपरित न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरुमा आँफै लेबलिङग, प्याकिङग तथा मुल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानुनी दायरामा  ल्याई कडा भन्दा कडा कारबाहिको माग गर्दछौ। साथै यस्ता प्रकारका समस्याहरुलाई जडबाट नै समाधान गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै स्वदेशी औषधि उद्योगहरुले सजिलै उत्पादन गर्न सक्ने यस्ता उत्पादनहरु तत्काल उत्पादन गर्ने अनुमति प्रदान गर्नको लागि यसै बिज्ञप्ती मार्फत जोडदार माग गर्दछौ।

बिप्लब अधिकारी

महासचिव नेपाल औषधि उत्पादक संघ

प्रकाशित: १३ असार २०७९ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App