१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

बिरामीलाई नौ महिना पहिले म्याद सकिएको स्लाइन पानी

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले शुक्रबार अस्पतालको अनुगमन गर्दै।

रौतहटको गौरमा रहेको सरकारी अस्पतालमा बिरामीलाई म्याद गुज्रिएको औषधि दिने गरिएको छ। सरकारी अस्पतालको सेवा र सुविधाको विषयमा व्यापक गुनासो बढेपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले शुक्रबार अस्पतालको अनुगमन गर्दा चरम बेथिति रहेको देखिएको छ। अस्पतालमा भर्ना भएका एक बिरामीलाई नौ महिना पहिले नै म्याद गुज्रेको स्लाइन पानी चढाउँदै गरेको अनुगमनको क्रममा देखिएको छ।  

नौ महिना पहिले नै म्याद नाघिसकेको स्लाइन पानी बिरामीलाई चढाइँदै गरेको फेला परेपछि नगर प्रमुख साहले यस विषयमा जिम्मेवार पदाधिकारीलाई सोध्दा गल्ती हुन गएको स्वीकार गरेका छन्। अब आइन्दा बिरामीसित कुनै किसिमको लापरबाही नगर्न र सर्वसाधारणले गुनासो गर्न नहुने गरी सेवा प्रदान गर्न नगर प्रमुख साहले निर्देशन दिएका छन्। यस किसिमको गम्भीर त्रुटी फेला परेमा कानुनी कारबाही अगाडि बढाउने चेतावनी पनि नगर प्रमुख साहले दिएका छन्।

अस्पतालको शौचालय, बिरामी भर्ना कक्ष तथा अन्य ठाउँमा फोहोर र दुर्गन्ध धेरै भएको अनुगमनको क्रममा देखिएको छ। अस्पतालमा अस्पतालजन्य फोहोर र अन्य किसिमको फोहोर दुर्गन्ध फैलिने तथा रोगहरुको डर हुने भएकोले सरसफाइमा पनि गम्भीर हुन नगर प्रमुख साहले निर्देशन दिएका छन्।

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले पाउने सुविधालाई थप व्यवस्थित गर्न नगर प्रमुख साहले अस्पतालमा नगर प्रहरीसहितको सहायता कक्ष स्थापना गर्ने पनि जानकारी गराएका छन्।

प्रकाशित: २० जेष्ठ २०७९ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App