८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपाल पनि मंकिपक्सको जोखिममा

हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्।

संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन्।

मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ। संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले आंैल्याएको छ। संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो।

मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्। यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ। सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउँछन्। चिकित्सकका अनुसार यसको असर बढी मात्रामा बालबालिका र वृद्धवृद्धामा पर्छ।

संक्रमण भएमा तीन दिनदेखि चार सातासम्म लक्षण रहने भएकाले यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी रहन्छ। नेपालमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नेपाल प्रवेश गर्ने स्थान, अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकाका स्वास्थ्यकर्मीलाई सजग रहन निर्देशन दिइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

‘सीमानाकाबाट आउने मानिसमा मंकिपक्स संक्रमण देखिए निगरानीमा राख्न र अन्यको सम्पर्कमा जान नदिन निर्देशन दिइसकेका छौं,’ उनले भने।

नेपालमा मंकिपक्सको जोखिम रहे पनि कोरोनाजस्तो सजिलै नफैलिने भएकाले आत्तिहाल्नु नपर्ने तर सजग रहनुपर्ने निर्देशक दासको सुझाव छ। कोरोना भाइरसकै तहमा आत्तिनु नपर्ने डा. शेरबहादुर पुनले समेत सुझाएका छन्। उनका अनुसार अहिले यो भाइरस पश्चिम अफ्रिकामा फैलिरहेको र तुलनात्मक रुपमा दक्षिण अफ्रिकामा फैलिएकोभन्दा कडा नदेखिएकाले आत्तिहाल्नु पर्ने अवस्था छैन। तर प्रतिरक्षा कमजोर भएका, वृद्धवृद्धा र बालबालिकालाई भने असर गर्नसक्ने उनले जानकारी दिए। संक्रमण भएमा कमजोर तथा वृद्धवृद्धामा असर गर्ने र अनुहार तथा हातखुट्टामा फोका आउने, ज्वरो आउने र छालामासमेत दाग बस्नसक्ने भएकाले सचेत हुनुपर्ने डा. पुनले बताए।

पछिल्लो अध्ययनले समलिंगीमा संक्रमण बढी देखिएकाले यौन सम्पर्कबाट समेत यो भाइरस संक्रमण हुने जोखिम रहेको हुँदा असुरक्षित यौन सम्पर्क नगर्न डा. पुनको सुझाव छ। हात सफा राख्ने, भीडमा जाँदा मास्क प्रयोग गर्ने, संक्रमित व्यक्ति आफैं आइसोलेसनमा बस्ने जस्ता सावधानी अपनाउने, कसैलाई मंकिपक्सको लक्षण देखिएमा तुरुन्त पायक पर्ने ठाउँको छाला रोग विशेषज्ञसँग परीक्षण गराउन निर्देशक दासको सुझाव छ। ‘मंकिपक्सको लक्षण देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग जाने, दुर्गममा छाला रोगविशेषज्ञ नभएमा स्थानीय स्वास्थ्यकर्मीले रेफर गरिदिने गरी सबै तहमा निर्देशन दिइसकेका छौं,’ उनले भने।

हालसम्म मंकिपक्सको परीक्षण गर्न नेपालमा प्रयोगशाला नभएकाले हाल लक्षणका आधारमा पहिचान गर्ने र संक्रमितको नमुना भारत पठाउने तयारी भएको दासले बताए। घाँटीको स्वाब र रगत परीक्षणबाट यसको पहिचान गर्न सकिन्छ। मंकिपक्सको लक्षण देखिएमा अन्य भाइरसमा जस्तै लक्षणअनुसारको उपचार गरिने र एन्टिभाइरल औषधि पनि उपचारमा प्रयोग हुने चिकित्सकले जनाएका छन्। यसमा स्मलपक्सका लागि प्रयोग हुने खोप प्रभावकारी हुने जनाइएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App