१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘उच्च रक्तचापबाट जोगिन नियमित जाँच र व्यायाम’

तपाईंमा पनि उच्च रक्तचाप हुन सक्छ। आजै जाँच गराउनुस्। उच्च रक्तचापको उपचार ढिला भए ज्यान समेत जान सक्छ।

उच्च रक्त चापले मिर्गौला, मुटु, आँखा र मस्तिष्कमा गम्भीर असर पारी जीवनभरि अपांगता पनि बनाउन सक्छ। विश्व उच्च रक्तचाप दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञ चिकित्सकले यस्तो बताएका हुन्। उनीहरूले समयमै रक्तचाप जाँच गरी त्यसलाई नियन्त्रणमा राख्न सुझाए। ‘दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।

चिकित्सकका अनुसार स्वस्थ मानिसको रक्तचाप १२० भन्दा तल र डिस्टोलिक ८० भन्दा कम डिग्रीमा हुनुलाई सामान्य मानिन्छ। १२० भन्दा माथि रहे उच्च रक्तचाप भएको अवस्था हो। नेपालमा कुल जनसंख्याको २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको र समस्या भएकामध्ये ५० प्रतिशतलाई मात्र यसबारे जानकारी छ।

समस्या थाहा भएकामध्ये ४ लाख मात्र उपचारमा पुगेका छन्। उपचारमा पुगेका मध्येमा पनि ५० प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा छ। यो हिसाबले नेपालमा ७५ प्रतिशत उच्च रक्तचापको समस्या नियन्त्रणबाहिरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नसर्ने रोग विभागका प्रमुख डा. फणीन्द्र बरालले औंल्याए।

मुटु रोगले हुने मृत्युमध्येमा ४५ प्रतिशत कारण उच्च रक्तचापसँग सम्बन्धित रहेको बताइन्छ। मिर्गौला बिग्रिनु, मस्तिष्कघात तथा आँखाजन्य रोग लाग्नुको प्रमुख कारण उच्च रक्तचाप रहेको चिकित्सकले औंल्याएका छन्। नेपालसहित मध्य र निम्न आय भएका राष्ट्रहरूमा उच्च रक्तचाप नियन्त्रणमा नहुँदा यो जनस्वास्थ्य चुनौतीका रूपमा देखापरेको डा. बरालले बताए।

विज्ञ चिकित्सकले नेपालमा नसर्ने रोगबाट हुने मृत्युको पहिलो कारण उच्च रक्तचाप भएको औंल्याएका छन्। उच्च रक्तचापले रक्तनली जोडिएका आँखा, मुटु, मिर्गौला र मस्तिष्कजस्ता अंगहरू नष्ट गर्ने, कतिपय अवस्थामा हृदयाघात निम्त्याउने र मृत्युसमेत हुने हुनाले यसबारे प्रत्येक व्यक्तिले थाहा पाउनुपर्ने चिकित्सकहरूले बताएका छन्।

पहिला ‘साइलेन्ट किलर’ का रूपमा रहेको उच्च रक्तचाप अहिले ‘मेन किलर’ (मृत्युको मुख्य कारण) का रूपमा देखापरेको चिकित्सकले बताए। नेपालमा उच्च रक्तचाप भएका बिरामीले नियमित औषधि सेवन नगर्दा यो समस्या नियन्त्रणमा आउन नसकेको चिकित्सकको भनाइ छ। यसले विश्वका धेरै मानिसलाई प्रभावित गरेको छ।

२५ वर्षमुनिका १० प्रतिशत युवामा उच्च रक्तचाप

नेपालमा पछिल्लो समय गलत जीवनशैलीका कारण युवा उमेरमै रक्तचाप हुनेको संख्या बढ्दो रहेको राष्ट्रिय कार्डियोक सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बताए। नेपालमा २०१९ मा भएको एक अध्ययनअनुसार १४ वर्षमाथि र २५ वर्षमुनिका १० प्रतिशत युवामा प्राथमिक उच्च रक्तचापको समस्या देखिएको छ।

यो समस्या हुनेमा सबैजसो सहरी क्षेत्रमा बस्ने युवा रहेको डा. अनिलले बताए। ग्रामीण भेगका मानिस पनि भविष्यमा उच्च रक्तचापको जोखिममा पर्ने उनले औंल्याए। ‘गाउँमा पनि उच्च रक्तचापको समस्या दर वृद्धि हुँदैछ,’ उनले भने। पहिला ४० वर्षमाथिको उमेर समूहमा देखिने यो समस्या अहिले कम उमेर समूहमा पनि बढ्दै गएको चिकित्सकले औंल्याए। ‘पहिला ५० वर्ष कटेपछि मात्र उच्च रक्तचाप हुन्छ भन्ने मान्यता थियो, अहिले ३० वर्षमाथिकै उमेर समूहमा यो समस्या बढ्दो छ,’ डा. अनिलले भने। महिलाको तुलनामा पुरुषमा यो समस्या बढी रहेको उनले बताए।

उच्च रक्तचापका कारण

गलत जीवनशैलीको कारण कम उमेरमै उच्च रक्तचापको समस्या बढ्दै गएको चिकित्सकले औंल्याएका छन्। शारीरिक व्यायमको कमी, अत्यधिक तनाव, मदिरा सेवन, प्रदूषण, चिल्लो, गुलियोयुक्त खाना, बढी नुन भएका खाना, तौल नियन्त्रणमा नराख्नु, जंकफुडको प्रयोग, धूमपान लगायत उच्च रक्तचापका मुख्य कारण हुन्।

युवामा उच्च रक्तचाप बढ्नुको मुख्य कारण तनावयुक्त जीवनशैली रहेको डा. अनिलले बताए। नियमित रक्तचाप जाँच गराउने, दैनिक एक घन्टा हिँड्ने, बढी नुनिलो, गुलियो, चिल्लो खाना नखाने, तनावमुक्त जीवन जिउने, धूमपान र मध्यपान नगर्ने, सन्तुलित खाना खाने गर्दा उच्च रक्तचापको जोखिमबाट बच्न सकिने डा. अनिलले सुझाए।

सरकारले विगत एक दशकदेखि उच्च रक्तचाप तथा अन्य नसर्ने रोगहरूको विषयमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि खासै उपलब्धि हुन नसकेको चिकित्सकले औंल्याए। डा. अनिलले विद्यालय तहको पाठ्यक्रममै नसर्ने रोगसहित उच्च रक्तचापको विषयमा पठनपाठन गराउन सके सचेतना बढ्ने बताए। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रक्तचापको जाँच र औषधि व्यवस्थापन गर्न सकेमा पनि यो समस्यालाई नियन्त्रणमा ल्याउन सकिने उनले बताए। ‘प्यारामेडिक्सलाई उच्च रक्तचापसम्बन्धी समस्याको तालिम दिएर औषधि सिफारिस गरेमा जनस्वास्थ्यमा व्यापक परिवर्तन आउँछ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नसर्ने रोग विभागका प्रमुख बरालले सरकारले प्रत्येक स्वास्थ्य चौकीबाटै उच्च रक्तचापको औषधि निःशुल्क वितरण गर्ने तयारी गरिरहेको बताए। विशेषज्ञ चिकित्सकको अभावमा उच्च रक्तचाप पहिचान भएकालाई प्यारामेडिक्सले पनि कमन औषधि दिए रोकथाम गर्न सकिने उनले बताए। स्वास्थ्य सेवा विभागका निर्देशक डा. दीपेन्द्ररमण सिहंले स्वस्थ जीवनशैली अपनाउन सके उच्च रक्तचापको समस्याबाट जोगिन सकिने बताए।

प्रकाशित: ४ जेष्ठ २०७९ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App