१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा पनि मनाइयो स्वास्थ्य बीमा दिवस

छैटौँ स्वास्थ्य बीमा दिवसमा सहभागीहरु। तस्बिर: नागरिक

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच भन्ने नाराका साथ शुक्रबार बैतडीमा पनि विभिन्न कार्यक्रम गर्दै छैटौँ स्वास्थ्य बीमा दिवस मनाइएको छ। स्वास्थ्य बीमा बोर्ड बैतडीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमनसिंह बडालले बताए। 

दिवसको अवसरमा स्वास्थ्य बीमाले पुर्‍याउने सहयोगका बारेमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ। यस्तै स्वास्थ्य बीमाले आजै सार्वजनिक गरेको एचआइबी नामक मोबाइल एपका बारेमा समेत छलफल भएको कार्यालय प्रमुख बडालले बताए। सो एप डाउनलोड गरेमा ग्राहकहरुले आफ्नो स्वास्थ्य बीमाको बारेमा सबै जानकारी प्राप्त गर्नुका साथै नविकरणसमेत गर्न सक्ने छन्।  

बैतडीमा २२ हजार ९ सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएको तथ्यांक छ। यो मध्ये १८ हजार १८५ जना जेष्ठ नागरिक र २ हजार ५ सय २९ जना अन्य नागरिक रहेका बताइएको छ। जेष्ठ नागरिक, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति, एमडीआर टीबी भएका व्यक्तिहरुको नेपाल सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ। स्वास्थ्य बीमा गरेका नागरिकलाई १ लाख रुपैयाँ बराबरको उपचार निशुल्क गर्ने गरिएको कार्यालय प्रमुख बडालले जानकारी दिए।

२०७२ सालमा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा अन्तर्गत अहिलेसम्म  देशभर ५३ लाख चार हजार २ सय ७० जना बीमामा समावेश भएका छन्। तीमध्ये २० लाख ८९ हजार ५ सय ९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन्।

३ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क तिरेमा १ लाख बराबरको उपचार निशुल्क लिन सकिने छ। स्वास्थ्यबीमामा आवद्ध नागरिकको सूचीकृत स्वास्थ्य संस्था र अस्पतालहरुमा निशुल्क उपचार हुने गरेको छ। आर्थिक अभावमा उपचारमा पहुँच पुग्न नसकेका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताइएको छ। दर्ता सहयोगीहरुमार्फत स्वास्थ्य बीमा गर्ने कार्यक्रम जारी रहेको स्वास्थ्य बीमा बोर्ड बैतडीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७८ १२:१५ शुक्रबार