coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मेसिनले चुँडाएको हात शल्यक्रिया गरी जोडियो

राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया गरी हात जोडिएपछि पाँचवर्षीय कुलदीप मण्डल आफन्तसँग । तस्बिर सौजन्यः राष्ट्रिय ट्रमा सेन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा एक बालकको शरीरबाट चुँडिएको हात जोडिएको छ। धनुषाको जाँकी गाउँपालिका–८ का पाँच वर्षीय कुलदीप मण्डलको घाँस काट्ने मेसिनले चुँडालेको हात जोडिएको हो। ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी मण्डलको हात जोडेका हुन्।

प्लास्टिक सर्जरी विभागका प्रमुख डा. पियुष दाहालको नेतृत्वमा प्लास्टिक सर्जन डा. पशुपति पोखरेल, डा. अपार लामिछाने, डा. निरन महर्जन, डा. यम महर्जन, डा. मनीष देवकोटा, डा. अजय ढकाल, डा. अनुरागसिंह थापा, डा. सुरेशराज ढकाल, डा. विजय यादवसहितको टोलीले मेसिनले चुँडाएको बालकको हात सफलतापूर्वक जोडेको हो। उक्त शल्यक्रियामा एनेसथेसिया विभागका प्रमुख डा. रूपेश यादव, डा. दीपेन्द्र र डा. शरद खकुरेल सहभागी थिए।

नेपालमा यति सानो उमेरका बालकको मेसिनले चुँडाएको हात जोडिएको यो पहिलो पटक भएको दाबी चिकित्सकले गरेका छन्। गत फागुन ९ गते साँझ ५ः३० बजे घाँस काट्ने थे्रसर मेसिनमा तीनजना बालक खेलिरहेको अवस्थामा अर्का बालकले एक्कासि मेसिन चलाउँदा मण्डलको एउटा हात पूरै चुँडिएको थियो। हात चुँडिएपछि बालक रुँदै घर पुगे। घरमा बाबुआमा थिएनन्। आमा घरदेखि टाढा काममा गएकी थिइन् भने बाबु भारतको दिल्लीमा थिए। गाउँलेले तुरुन्तै ती बालकलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए।

अस्पतालका चिकित्सकले घटनाबारे राष्ट्रिय ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागलाई जानकारी गराए। प्रारम्भिक उपचारपछि बालकलाई जनकपुरबाट काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा ल्याइएको थियो। त्यसबेला रातिको साढे आठ बजेको थियो। शल्यक्रिया सुरु गर्दा रातिको साढे १० बजेको थियो। त्यसपछि लगातार १५ घण्टा शल्यक्रिया गरी चुँडिएको हात जोड्न चिकित्सक सफल भएका हुन्।

मेसिनले चुँडाएको हातको नसा, हड्डी, तन्तुलगायत सबै लथालिंग अवस्थामा थिए। चुँडिएको हातको रक्तनली, हड्डी, तन्तुलगायत गरी २५ वटा संरचना जोड्ने काम चिकित्सकले गरेका थिए। ‘यो शल्यक्रियामा हातको पछिल्लो, अघिल्लो भाग चलाउने स्नायुसहित २५ वटा संरचना जोड्यांै,’ शल्यक्रियामा सहभागी प्लास्टिक सर्जन डा. अपार लामिछानेले भने। पाँच वर्षीय बालकलाई लगातार १५ घण्टासम्म बेहोस बनाएर शल्यक्रिया गर्नु जोखिमपूर्ण मानिन्छ। जोखिमपूर्ण भए पनि बिनाअड्चन शल्यक्रिया सम्पन्न भएको एनेसथेसिस्ट डा. रूपेश यादवले बताए।

‘लामो समय बेहोस बनाउँदा जोखिम हुने भएकाले बरु हात नभए पनि बालकलाई बचाउनुपर्छ भन्ने सोच नआएको होइन तर टिमको अथक प्रयासमा सफलतापूर्वक हात जोडियो,’ शल्यक्रियामा सहभागी डा. पशुपति पोखरेलले भने। शल्यक्रियापछि पनि बालकलाई संक्रमणमुक्त राख्नु अर्को चुनौती थियो। ‘नर्सले बालकलाई राम्रो हेरचाह गरे। आइसियुमा संक्रमणमुक्त बनाएरै राख्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो,’ एनेसथेसिस्ट डा. यादवले भने।

ट्रमामा रहेका बालक मण्डलको हात सामान्य हुँदैछ। हातलाई पूरै सामान्य बनाउन करिब एक वर्षजति फिजियोथेरापी गर्नुपर्ने प्लास्टिक सर्जरी विभागका प्रमुख डा. पियुष दाहालले बताए। बालक केही दिनमा डिस्चार्ज हुने क्रममा रहेकाले ट्रमा सेन्टरले आइतबार उनको उपचारबारे सार्वजनिक रूपमा जानकारी गराएको हो।

बालकको चुँडिएको हात सुरक्षित तरिकाले ठीक समयमा जनकपुर प्रादेशिक अस्पतालले यहाँ पठाएकाले उपचार सफल भएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले बताए। उनले बालकको सफल शल्यक्रिया गर्ने चिकित्सक र हेरचाह गर्ने नर्सलाई धन्यवाद दिए। विपन्न परिवारका ती बालकको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ। सेन्टरमा चुँडिएको हात जोडिएको यो दोस्रो पटक हो। डेढ वर्ष पहिला काठमाडौंको चोभारमा मेसिनले एक युवकको हात काटेपछि ट्रमामा ल्याएर जोडिएको थियो।

बावु नवीन मण्डलले छोराको चुँडिएको हात जोडिएला भन्ने सोचेका थिएनन्। तर चिकित्सकले जोडिदिए। ‘हात जोडिएला भन्ने लागेको थिएन, अहिले जोडिएको हात हेरेर छक्क परेको छु,’ नवीनले आइतबार भने।

डा. पियुष दाहालका अनुसार नेपालमा घर तथा भवन निर्माण र कारखानामा काम गर्दा हाइटेन्सनमा छोइएर, मिलको लोतीले छोएर, मेसिनले काटेर र करेन्ट लागेर शरीरको अंग काटिएका घटना धेरै छन्। यस्ता ठाउँमा बालबालिकालाई निषेध र सुरक्षित रूपमा काम गर्ने अवस्था सिर्जना गरिनुपर्ने उनको भनाइ छ। यस्तो दुर्घटनामा दु्रत उपचार सेवाका लागि प्लास्टिक सर्जरी सेवा सबै प्रादेशिक अस्पतालमा विस्तार गर्नु आवश्यक रहेको उनले बताए। यस्तो सेवा विस्तार गर्न राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष तीनजना प्लास्टिक सर्जन उत्पादन गरिरहेको जानकारी उनले दिए।

पाँच घण्टाभित्र अस्पताल पुगे जोडिन्छ  

कुनै पनि दुर्घटनाका कारण शरीरबाट हात चुँडिएमा ५ घण्टाभित्र चुँडिएको हातसहित अस्पताल पुगे जोड्न सकिने चिकित्सक बताउँछन्। राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकका अनुसार शरीरबाट चुँडिएको हात सफा र ओभानो प्लास्टिकमा बेरी त्यसलाई बरफको स्लाइड भएको प्लास्टिकको बट्टाभित्र राखेमा तत्काल बिग्रिन पाउँदैन र शल्यक्रिया गरेर जोडेपछि सामान्य अवस्थामा फर्काउन सकिन्छ। ‘यस्तो घटना भएमा गर्मीमा पाँच घण्टाभित्रै अस्पताल पुग्नुपर्छ, जाडोमा सात घण्टाभित्र अस्पताल पुगे चुँडिएको हात जोड्न सकिन्छ,’ डा. पियुष दाहालले भने।

प्रकाशित: २१ चैत्र २०७८ ००:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App