१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गोरखाका दुई स्थानीय तह कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणामा योगदान गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै जिसस प्रमुख, नगरप्रमुख लगायत। तस्बिरः नागरिक

गोरखा नगरपालिका र धार्चे गाउँपालिका कोभिड १९विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। ११ स्थानीय तह रहेको गोरखामा धार्चे गाउँपालिकालाई गत मंगलवार र गोरखा नगरपालिकाले शनिवार पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेका हुन्।  

‘पालिका भित्र लक्षित वर्गका सबैले कोभिड १९विरुद्धको खोप लगाएका छन्,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘अब हामी पूर्ण खोप लगाउन सक्षम भएका छौँ।’ सदरमुकामको पालिका भएकाले यहाँ बसोबास गर्ने मानिस धेरै हुँदा र अन्यत्रबाट पनि आउने भएकाले खोज्दै खोप लगाउँदा पूर्ण खोप सुनिश्चितता घोषणा केही समय अझै ढिला हुन गएको बताए।  

धार्चे गाउँपालिकाका सात वटा वडाका १० हजार पाँच सय ५७ जनालाई कोभिडको दोस्रो मात्राको खोप लगाएसँगै पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। खोप लगाएको र नलगाएको घरधुरी सर्वेक्षण गर्ने क्रममा छुटेका ८६ जनालाई दोस्रो मात्राको खोप लगाएर खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको उनले बताए। यसका लागि सम्पूर्ण प्रक्रिया पुर्‍याएर जिल्ला खोप समन्वय समिति, प्रदेश र राष्ट्रिय खोप समन्वय समितिलाई गाउँपालिको पत्राचार गरेको थियो। उनीहरुले प्रमाणित गरेसँगै खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

नगरपालिकाभित्र १२ वर्षभन्दा माथिका सबै जनाले कोरोनाको खोप लगाएसँगै कोभिड–१९ कोरोना भाइरसविरुद्धको पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले बताए। १२ देखि १७ वर्ष उमेरका पाँच हजार चार सय ९९ जनाले र १८ वर्ष उमेर माथिका ३६ हजार ६ सय ५४ जनालाई खोप लगाइएको उनले बताए। उनकाअनुसार कोभिशिल्ड तथा अष्ट्राजेनिका पहिलो र दोस्रो, जन्सन एण्ड जन्सन एक मात्रा, भेरोसिल पहिलो र दोस्रो र मोर्डना पहिलो र दोस्रो मात्रा खोप सबैले लगाएका छन्।  

कोभिड–१९विरुद्धको खोप लगाएपछि पनि तथ्यांक संकलनको क्रममा छुटेका पाँच सय ३९ जनालाई खोप लगाइएको उनले बताए । कार्यक्रमकै अवसरमा नगरपालिका भित्रका कोभिडको समयमा खोप अभियान खटिने स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी गरी ९० जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।

प्रकाशित: १९ चैत्र २०७८ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App