१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुर्व्यवहार नगर्न आग्रह

बेनी अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलन।

बेनी अस्पताल म्याग्दीले सेवा प्रवाहको क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ। बेनी अस्पतालमा आयोजित पत्रकार भेटघाटको क्रममा अस्पतालबाट जारी एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरिएको हो।

पछिल्लो समय बेनी अस्पतालमा सचेत वर्ग तथा सेवाग्राहीबाटै स्वास्थ्यकर्मी र कर्मचारीमाथि अपशब्द प्रयोगसहित गालीगलौज तथा दुर्व्यवहार हुन थालेपछि बेनी अस्पतालले विज्ञप्ति सार्वजनिक गरी ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालमा सेवा लिन आउने बिरामीलाई सेवा प्रवाहकै क्रममा बिरामी तथा सचेत वर्गबाट हुने दुर्व्यवहारजन्य गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमार्फत आगामी दिनमा अस्पतालले प्रदान गर्ने सेवा प्रवाहमा कुनै समस्या आइपरेमा प्रक्रियाअनुसार सम्बन्धित निकायमा गुनासो गर्न सकिने बताइएको छ। विज्ञप्तिमा कसैले पनि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कार्यस्थलमा गई दुर्व्यवहार गर्नु उचित नभएकाले आउँदा दिनमा कुनै पनि दुर्व्यवहार नगर्न र असभ्य दुर्व्यवहारमा संलग्न व्यक्ति कानुनी कारवाहीको भागिदार हुनुपर्ने भनिएको छ।

गएको फागनु २७ गते पर्वतको जलजला गाउँपालिकाको एक बिरामीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएपछि अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका विज्ञान शर्माले अस्पतालको कार्यालय प्रमुख, स्वास्थ्यकर्मी र कर्मचारीलाई गालीगलौज तथा असभ्य व्यवहारपछि आत्मालोचनासहित माफी मागेका थिए।

यसैगरी यही चैत ८ गते मङ्गलबार बेनी अस्पतालमा दाँतको उपचार गर्न आएकी सावित्री कार्कीले डेन्टल चिकित्सकलाई अपशब्द बोलेर गालीगलौज गर्नुका साथै डर, धम्की दिएकोप्रति पनि अस्पतालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिरामी कार्कीले डेन्टल चिकित्सकलाई गरेको दुर्व्यवहारका कारण अस्पतालका चिकित्सकहरुले सुरक्षा लगायतको कारण देखाउँदै गएको बुधबार ओपिडी सेवा बन्द गरेका थिए। यस्ता खालका घटनाहरुले अस्पतालको सेवा प्रवाह तथा विस्तारमा अप्ठ्यारो पर्ने भएकाले सीमित स्रोतसाधन र जनशक्तिको बाबजुद अस्पतालले प्रदान गरिरहेको सेवालाई सबै जनसमुदाय मिलेर थप स्तरीय बनाउन अपिल समेत गरिएको छ।

विरामीसँगको विवादमा चिकित्सकले आवेगमा आएर ओपिडी सेवा बन्द गरेकोमा समेत अस्पतालले कमजोरी स्वीकार गरेको छ। बिरामीले चिकित्सकलाई हली भनेपछि दिनभरी ओपिडी सेवा बन्द  गरेकोमा चिकित्सकको समेत आलोचना भएको थियो।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले अस्पतालको पछिल्लो घटना नितान्त सेवाग्राही र डेन्टलको चिकित्सकसँग सम्बन्धित रहेपनि त्यसलाई बुझ्ने र लिने क्रम फरक रहेकाले अर्को अवस्था सिर्जना भएको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले अस्पतालको सेवा प्रवाहबारे कसैलाई चित्त नबुझेको खण्डमा प्रक्रियाअनुसार आए समस्या समाधान हुनेमा जोड दिए।

प्रकाशित: १५ चैत्र २०७८ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App