८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

हरेक दिन ८ सय ८२ जनालाई टाउकामा चोट

नेपालमा हरेक दिन ८८२ जनालाई विभिन्न कारणले टाउकोमा चोट लाग्ने गर्छ भने प्रतिघन्टामा ३४ जनालाई चोटपटक लाग्ने गरेको सन् २०१९ को तथ्यांकले औंल्याएको छ।

आइतबार विश्व टाउकोको चोट जनचेतना दिवसका अवसरमा टिचिङ अस्पतालले एक कार्यक्रम गरी टाउकोको चोट लागेपछि उपचारले पनि पुरै निको हुन कठिन कुरा भएको औंल्याएका हुन्। ‘चोट लागिसकेपछि महिनौं उपचारपछि पनि बिरामी पुरै निको नहुन सक्छ,’ टिचिङ अस्पताल आइसियु एन्ड क्रिटिकल केयर युनिटका प्रमुख डा. सुभाष आचार्यले भने। तथ्यांकअनुसार चोटपटक लागेकामध्ये १० प्रतिशतको मृत्यु हुन्छ भने २० प्रतिशत आइसियुमा राखेर उपचार गर्ने अवस्थाका हुन्छन्। गम्भीर चोटपटक लागेकामध्ये ४० देखि ५० प्रतिशतको मृत्यु हुन्छ।

टाउकोमा चोटपटक लाग्नेमा २० देखि ४० वर्षभित्रका ७३ प्रतिशत छन्। गम्भीर चोट लागेर अस्पताल पुगेका मध्येमा ३ प्रतिशतको आकस्मिक कक्षमै मृत्यु हुने गरेको टिचिङ अस्पताल आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनले बताए। अस्पतालको न्यरोलोजी विभागका प्रमुख डा. मोहनराज शर्माका अनुसार नेपालमा भौगोलिक अवस्था, यात्रुवाहक बसको लापरबाही, मोटरसाइकल दुर्घटना, रूख तथा भिरबाट लडेर बढी टाउकोमा चोट लाग्ने गरेको देखिन्छ। सहरमा सडक दुर्घटनाका कारण बढी मात्रामा चोट लाग्ने गरेको देखिन्छ। बिहेको जन्ती बोकेको बस लडेर, अप्ठेरो ठाउँमा सेल्फी खिच्ने क्रममा र होली पर्व खेल्दा चंगा उडाउने क्रममा पनि छतबाट खसेर टाउकोमा चोट लाग्ने गरेको छ। विकसित देशमा भने सडक दुर्घटना र वृद्ध उमेरका मानिस अग्लो ठाउँबाट खसेर पनि चोटपटक लाग्ने गरेको छ।  

पछिल्लो समय नेपालमा ट्राफिक प्रहरीले सडक सुरक्षाको नीति लिएर कारबाही गर्न थालेपछि पहिलेको तुलनामा सडक दुर्घटना घटे पनि अपेक्षित रूपमा दुर्घटना कम हुन नसक्दा टाउकोको चोटपटक लाग्नेको संख्या उल्लेखनीय छ। बर्सेनि चाडपर्वका बखत सडक दुर्घटनामा धेरैको मृत्यु हुने र उपत्यकाको हकमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा मोटरसाइकल दुर्घटनामा टाउकोको चोटपटकका दुर्घटना बढी थियो। मापसे जाँच र भारभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही सुरु गरेपछि सडक दुर्घटनाले हुने टाउकोको चोटमा केही कमी आएको प्रहरीले बताउने गरेको छ।

पछिल्लो समय मोटरसाइकलको पछि बस्नेले अनिवार्य हेलमेटको प्रयोग नगर्नाले दुर्घटनाका क्रममा टाउकोको चोट बढी लाग्ने गरेको टिचिङ अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. मोहनराज शर्माले बताए। चिकित्सकका अनुसार नेपालको सन्दर्भमा असुरक्षित सडक, विकट भौगोलिक बनोट, गरिबी टाउकोमा चोटपटक लाग्ने मुख्य कारण देखिन्छ। ‘कतिपय मजदुर घर निर्माण गर्ने क्रममा अग्लो ठाउँबाट खसेर पनि चोटपटक लागेको देखिन्छ,’ डा. शर्माले भने।

प्रकाशित: ८ चैत्र २०७८ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App