१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

यौन जिज्ञासा राख्‍ने पुरुष बढी

दीपक दाहाल, काठमाडौं, मंसिर २८- स्याङजाका रमेश जोशी (नाम परिवर्तन) आफ्नो यौन जीवनप्रति सन्तुष्ट छैनन्। उनलाई थाहा छ, उनकै कमजोरीले परिवारिक जीवन पनि राम्रो छैन्। तर घरपरिवार र साथीलाई भन्न उनी सक्दैनन्। परामर्श र उपचारका लागि उपयुक्त स्वास्थ्य केन्द्र पनि उनलाई कुनै लागेन।
परिवार नियोजन संघले सञ्चालन गरेको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी हटलाइनका परामर्शदातासँग समस्या प्रस्तुत गरिरहँदा उनी हडबडाएका थिए। नाम र ठेगाना गोप्य राख्न चाहने मात्रै होइन, छ परामर्शदाताको परामर्शले पनि उनको चित्त बुझाउन सकेन।
परामर्शदाताले भेटेरै परामर्श(फेस टु फेस काउन्सलिङ)का लागि आउन अनुरोध गर्दा उनी मान्दैनन्। 'मलाई यस्तो समस्या छ भन्ने थाहा पाए, न परिवारले राम्रो रूपमा हेर्छन्, न साथीभाइले' जोशीलाई उद्धृत गर्दै टेलिफोन परामर्शदाताले भनिन्, 'स्वास्थ्य केन्द्रमा जाँदा पनि कसैले भेटे भने के भएर आएको भन्ने।'
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पुरुषमा पनि उत्तिकै पाइने भएपनि सेवा केन्द्र जान हिच्किचाउने प्रवृत्ति बढिरहेको अध्ययनले देखाएका छन्। समस्या भए पनि लुकाएरै राख्ने प्रवृत्तिले समाजमा गम्भीर समस्या निम्त्याउने विज्ञहरू बताउँछन्। समस्याको उचित समाधान भन्दा लुकाएरै राख्ने प्रवृतिले यौनजन्य हिंसा एवं अपराधका घटनामा समेत वृद्धि भइरहेको नेपाल परिवार नियोजन संघ हटलाइन कार्यक्रम संयोजक रेखा जोशीले बताइन्। भेटेर यस्ता समस्या भन्न लजाउने र सार्वजनिक गर्न नचाहनेलाई लक्षित गरी संघले २ वर्षदेखि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी हटलाइन सेवा चलाइरहेको छ।
फोन सम्पर्कमा आउने दैनिक झण्डै ४० जनामध्ये ९० प्रतिशत पुरुष हुन्छन्। यौन तथा प्रजनन स्वास्थ्य बारे परामर्श एवं उपचारका लागि परिवार नियोजन संघले स्थापना गरेको क्लिनिकमा भने दैनिक झण्डै २५जना आउनेमध्ये ४ देखि ५ मात्रै पुरुष हुने गरेका छन्। जोशीले भनिन्, 'असावधानीवश असुरक्षित यौन सम्पर्क गर्ने तर परीक्षण गर्न जानुको सट्टा तनाव लिए बस्ने युवाको संख्या हटलाइनमा बढिरहेको छ।'
'हटलाइनमा महिलाले भन्न नसक्ने विषयमा समेत पुरुषहरू खुलेर कुरा गर्छन्। तर सेवा केन्द्रमा पुरुष कमै आउछन्' हटलाइन कार्यक्रम संयोजक जोशीले भनिन्। हटलाइनमा राखिएका जिज्ञासाका आधारमा युवा पुस्तामा समेत ठूलो समूह यौनजन्य समस्याबाट पीडित रहेको र उचित परामर्श एवं उपाचार केन्द्रको खोजीमा रहेको देखिएको संघले जनाएको छ। 'सामाजिक, साँस्कृतिक रूपमा यौन समस्यालाई अरुका अगाडि देखाउन नचाहाने चिन्तन, सेवा केन्द्रको अनुपलब्धता, भएका सेवा केन्द्र पनि पुरुषमैत्री नहुनु जस्ता कारणले समस्या झन जटिल बनाएको छ' जोशीले बताइन्।
'सामाजिक, साँस्कृतिक र प्रविधिक रूपमा पनि परामर्श केन्द्रहरू पुरुषमैत्री नभएर यसो भएको हुनसक्छ' संघका उपमहानिर्देशक डा. गिरिधारी शर्मा पौडेल भने। परिवार नियोजन संघका स्वास्थ्य क्लिनिक, सरकार र विभिन्न गैरसरकारी संस्थाले सञ्चालन गरेका स्वेच्छिक परामर्श केन्द्रहरू भए पनि पर्याप्त नभएको पौडेलले बताए। 'राज्यले प्रदान गर्ने सेवा महिला केन्द्रित छ, पुरुषको सोच पनि उपचार खोज्न लजाउने खालको छ' डा. पौडेलले भने।
संघले उपलब्ध गराउने सेवाग्राहीको तथ्यांक हेर्दा हटलाइन सेवा प्रयोग गर्ने पुरुषको तुलनामा स्वास्थ्य सेवा लिन पुग्ने पुरुषको निकै कम छ। पौडेलले भने, 'केन्द्रमा परामर्श दिने महिला बढी छन्, सेवा केन्द्रमा पनि यौन तथा प्रजनन रोग महिलाको मात्रै हो भन्ने दर्शाउने खालको परिस्थिति र मनोविज्ञानले पनि सेवा केन्द्र जान प्रेरित गर्दैन।' ती केन्द्रमा गर्भवती महिलाका पोस्टर टाँसिएका छन् भने परामर्शदाताको संख्या पनि महिलाभन्दा कम छ।
नेपालमा यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी गराउने उद्देश्यले खुलेका स्वेच्छिक परामर्श केन्द्र र अन्य सेवा केन्द्र छन्। यस्ता केन्द्रको संख्या बढाउँदै लगेर समस्याबारे उचित परामर्श लिन प्रोत्साहित गर्ने सन्देश पनि आवश्यक भइसकेको जोशीले बताइन्।
यौन तथा प्रजनन स्वास्थ्य समस्या महिला र पुरुषमा उत्तिकै हुने भए पनि पुरुषमा समस्या लुकाउने प्रवृत्ति बढी पाइएको संघले जनाएको छ। विश्वमा भएका पछिल्ला अध्ययनहरूले पुरुषहरू यौन रोगले मनोवैज्ञनिक रूपमा समेत निकै बिरामी बन्दै गएको देखाएको छ।
'हटलाइनमा परामर्शका लागि आउने अधिकांश पुरुषमा यौन सम्पर्कका समयमा लिंग तयार नहुने, यौन इच्छा अधिक र कम रहने लगायतका यौन जीवनसँग सम्बन्धित समस्याको दर बढ्दै गएको छ' संघकी कार्यक्रम संयोजक जोशीले भनिन्, 'तर सेवा केन्द्रको तथ्यांक हेरियो भने यौन र प्रजनन स्वास्थ्यसम्बन्धी रोग महिलाको मात्रै जस्तो लाग्छ।'
खास गरी नेपाली पुरुषहरूमा रहेको यौनसम्बन्धी समस्या अरूले थाहा पाएमा समाजले हेर्ने दृष्टिकोण बदलिने डर, अधिकांश यौनजन्य समस्यालाई महिलाको समस्याका रूपमा हेर्ने प्रवृत्ति रहेकोले पनि सेवा केन्द्रसम्म जान हिच्किचाउने गरेको विज्ञहरू बताउँछन्।
'बच्चा हुने-नहुने, यौन सन्तुष्टिका विषयमा महिलालाई दोष दिएर सो समस्या घरेलु हिंसामा परिणत भएको उदाहरणसमेत पाइन्छ, सेवा केन्द्रमा परामर्शका लागि जाँदैनन्' संघकी एक स्वास्थ्य परामर्शदाताले भनिन्, 'केन्द्रहरूलाई पनि क्रमशः पुरुषमैत्री बनाउँदै लैजानु पर्ने जरुरी छ र उनीहरूलाई सेवाका लागि प्रोत्साहित गर्नुपर्छ।'

प्रकाशित: २७ मंसिर २०६६ २२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App