दुई वर्षअघि कुकुरले सुनसरी इनरुवा वडा नं. ५ की ४९ वर्षीया थुनीदेवी चौधरीलाई टोक्यो। उनी कृषि विकास बैंकको इनरुवा शाखामा किस्ता बुझाएर फर्कदा कुकुरको एउटा समूहलाई छेउमै मासु काट्नेले ढुंगाले हान्दै खेदाए। खेदाउँदा थुनीदेवीले कुदाई रहेको साइकलमा एउटा कुकुर ठोक्किन आइ पुग्यो अनि टोक्यो।
कुकुरले टेकेपछि रेबिजविरुद्धको सुईं तत्काल लगाउन उनका श्रीमान कैलाश चौधरीले भने पनि अटेर गरिन्। सुईं लगाउनको सट्टा उनले धामी झाक्रीकोमा गइन्। कुकुरले टोकेको चार महिनापछि उनको मृत्यु हुन पुग्यो। कुकुरको टोकाइलाई सामान्य सम्झेर उपचारमा लापरबाही गरेकै कारण उनको मृत्यु हुन पुगेको थियो।
जनावरले टोकेको व्यक्तिलाई रेबिजको संक्रमण हुनबाट बचाउन एन्टी रेबिज भ्याक्सिन लगाइन्छ। जनावरले टोकेपछि समयमै रेबिजविरुद्धको भ्याक्सिन लगाएमा रोगबाट बच्न सकिन्छ। तर, धेरैले अज्ञानताका कारण लापरबाही गर्ने गरेका छन्।
सुनसरीमा केही वर्षयता श्रृंखलाबद्ध रुपमा रेबिजले मानिस र चौपायाको मृत्यु हुने तथा थुप्रै टोकाइको सिकार भएका छन्। जसले गर्दा इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका भुसिया कुकुरको टोकाइले मानिस र जनावरमा समस्या हुन नदिन सचेतनासहित अभियान थालेको छ। इटहरीले भुसिया कुकुरविरुद्ध निःशुल्क रेबिजविरुद्धको खोप तथा बन्ध्याकरण अभियान सञ्चालन थालेको हो।
भुसिया कुकुरको टोकाइबाट रेबिज जस्ता रोग फैलिन नदिन र शहरमा कुकुरहरूको संख्या न्यूनीकरण गर्ने उद्देश्यका साथ खोप तथा बन्ध्याकरण अभियान सञ्चालन गरेको जानकारी दिइयो। अभियान ३ दिनसम्म सञ्चालन हुने इटहरी उपमहानगरपालिकाको पशुपन्छी शाखाले जनाएको छ। पशु अधिकारलाई समेत ध्यानमा राखेर पशु चिकित्सक तथा स्वयम्सेवकको सहयोगमा सडकमा भेटिएका कुकुरहरूलाई बेहोस बनाएर खोप लगाउने र सुरक्षित बन्ध्याकरण गरि छाडिने उपमहानगरको योजना रहेको पशुपन्छी शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताए।
उनका अनुसार खोप लगाएका र बन्ध्याकरण गरिएका कुकुरहरूको निगरानी गर्न समेत पशुकर्मी परिचालन गरिने छ। इटहरीमा प्रायः भुसिया कुकुरको आतंक बढी हुने गर्छ। कुकुरको टोकाइबाट सडकमा हिँड्ने यात्री तथा बालबालिकाहरू यसको जोखिममा बढी पर्ने गरेका छन्।
इटहरी अस्पतालका अनुसार मासिक १३ जनासम्म बिरामीहरु कुकुरको टोकाइबाट उपचार गर्न आउने तथ्यांक छ। उपचार गर्न आउने मध्ये धेरैलाई रेबिज भएका कुकुरले टोकेको अवस्था छ। कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाइबाट घाइते बन्नेहरूको संख्या पनि बढिरहेको सम्बद्ध चिकित्सक बताउँछन्। इटहरीका सडक गल्लीमा भेटिने यस्ता कुकुरलाई उपमहानगरले नियन्त्रणमा ल्याउने कार्यको स्थानीयले स्वागत गरेका छन्। भुसिया कुकुरबाट हुने जोखिम न्यूनीकरणको लागि गरिएका यस्ता अभियानले निरन्तरता पाउनु पर्ने स्थानीय माया सुनुवारले बताइन्।
फागुन २० गते बाट २२ गतेसम्म सञ्चालन हुने कुकुर शिविरमा इटहरी उपमहानगर क्षेत्रका भाले र पोथी गरी करिब २०० वटा कुकुरको बन्ध्याकरण गर्ने योजन रहेको छ। नेपाल एग्री लार्ईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भुसिया कुकुरलाई रेबिजविरुद्धको खोप तथा बन्ध्याकरण गर्ने अभियान चलाइएको हो।
विशेषगरी बढी मात्रामा छाडा कुकुरको ग्याङ्–ग्याङ् बनाएर मानिससँगै गाईवस्तु र बाख्रालाईं टोक्ने गरेको पाइएको छ। सुनसरी जिल्लाभर कुकुरको संख्या २३ हजारभन्दा बढी रहेको छ।
सुनसरीमा कोशी टप्पु वन्य जन्तु आरक्ष नजिकै रहेको र धेरै घरपालुवा जनावर कोशी टप्पुमा चर्ने भएकोले जंगली तथा घरपालुवा जनावरबीच सम्पर्क हुनाले गर्दा पनि बढी रेबिजको लक्षण देखा पर्ने गरेको पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनायो।
रेबिज शतप्रतिशत रोक्थाम गर्न सकिने भएकाले गर्दा जनचेतना फैलाउनु आवश्यक छ। अहिलेसम्म जिल्लामा छाडा कुकुरको नियन्त्रणका लागि कुनै उपाय नअप्नाएकाले पनि धेरै जनावर प्रभावित भएको पुश सेवा विज्ञ केन्द्रको रिपोर्टमा समेटिएको छ।
रेबिजले संक्रमित जनावरको र्यालले अर्को जनावर वा मानिसमा सर्छ। सामान्य रुपमा यो रोग रेबिज संक्रमित जनावरले टोक्दा, चिथोर्दा वा काटिएको घाउ भएको छालालाई चाट्दा हुन्छ।
रेबिज रोग भएका कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ। यसको अलावा अन्य जनावरहरु जस्तै विरालो, न्याउरी मुसा, स्याल, ब्वांसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाइबाट पनि रोग सर्ने गर्छ। तर, बांदर र मुसाहरुबाट बिरलै सर्ने गरेको पाइन्छ।
प्रकाशित: २० फाल्गुन २०७८ १४:१२ शुक्रबार





