coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महिला प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा गण्डकी सरकारले सघाउने

महिला प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ। महिलाहरुको प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा सघाउने गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र गण्डकी सरकारबीच सम्झौता भएको हो।  

सम्झौतामा प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. श्रीराम तिवारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा.देजकुमार गौतमले हस्ताक्षर गरेका छन । सम्झौतामा महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा प्रदेश सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ। जस अनुसार गण्डकी प्रदेशमा बसोबास गर्ने महिलाको स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा प्रदेश सरकारले सहयोग उपलब्ध गराउने जनाइएको छ।

यसअघि संघ सरकारले महिलाको प्रजनन् अंगको क्यान्सर उपचारका लागि एकलाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। उक्त रकमले अपुग भएपछि मात्रै प्रदेश सरकारको रकमले उपचार खर्च बेहोर्ने मन्त्रालयका सचिव डा. तिवारीले जानकारी दिए।

प्रदेश सरकारले उपलब्ध गराएको सहयोग रकम प्राप्त गर्न गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाण पेस गर्नुपर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले बताए। ‘प्रमाण पुष्टि भएपछि मात्रै यो सुविधा प्राप्त हुन्छ,’ उनले भने। उनका अनुसार प्रमाण पुष्टि गर्न वडाको सिफारिस अनिवार्य गरिएको छ।

मन्त्रालयका सचिव डा.तिवारीले चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको जानकारी दिए। यस कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ५० लाख रकम छुट्याएको उनले बताए। प्रदेश सरकारले आफ्नो स्वास्थ्य नीतिमै महिलाको प्रजनन् अङ्गको क्यान्सर उपचारमा सघाउने भनेको थियो। प्रदेशको स्वास्थ्य नीतिकै आधारमा विरामीको उपचारमा पचास हजार उपलब्ध गराउन लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App