बुधबार मुलुककै ठूलो सरकारी अस्पताल बीर अस्पतालमा एक जना बिरामीमा स्वाइन भएको पुष्टिपछि ती बिरामीको उपचार र अन्य बिरामीलाई छुट्टै राख्न गरिएको हतारोले अस्पतालले कुनै तयारी नगरेको पुष्टि गरेको हो। बीरमा स्वाइनको जस्तै लक्षण भएर उपचार भइरहँदा अन्य बिरामीसँगै आइसियूमा राखेर उपचार भइरहेको थियो। टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ती बिरामीमा स्वाइन फ्लु पोजेटिभ भएको पुष्टि गरेपछि बिरामीका आफन्तले नै अत्यावश्यकीय औषधी टाँमी फ्लु, माक्स र एन ९५ विशेष प्रकारको माक्स अस्पतालमा लगेका थिए।
शंकास्पद लक्षण देखिएपछि परीक्षणको समयदेखि नै बिरामीका आफन्तले टेकुस्थित एभियन इन्फ्लुएन्जा कार्यालयमा सम्पर्क राखेर रोगका बारेमा जानकारी लिएका थिए। प्रयोगशालाले निमोनियाको उपचार गराइरहेकी ती बिरामीमा स्वाइन पोजेटिभ भएको जानकारी आफन्तलाई गराएका थिए। सो लगतै बीरमा विशेष व्यवस्था नदेखेपछि औषधी र माक्स टेकूस्थित आयोजनाबाट बिरामीका आफन्तले नै अस्पतालमा लगेका थिए।
बीरको सघन उपचार कक्ष आइसियूमा तीन दिनदेखि उपचाररत विरामीमा स्वाइन भएको थाहा पाएपछि आइसियूका चिकित्सक, नर्स र अन्य कर्मचारी केहीबेर अतालिएका थिए। 'उपचाररत बिरामीमा स्वाइन भएको पाएपछि हामीले अन्य बिरामीलाई जनरल वार्डमा सार्यौं।' न्यु आइसियू वार्डका चिकित्सक शंकर ठाकुरले नागरिकसँग भने। डा. ठाकूरले बुधबार दिउँसो न्यु आइसियू वार्डमा स्वाइन फ्लु भएकी ती महिलाबाहेक अन्य २ बिरामीलाई तत्कालै अन्त सारिएको जानकारी दिए। उनले बुधबार नै छुट्टै आइसोलेसन कक्ष तयार पारिएको बताए। अहिले अस्पतालले ती बिरामीको उपचारमा पूरै ध्यान दिएको बिरामीका आफन्तले बताएका छन्।
अस्पतालका अर्का एक चिकित्सकका अनुसार स्वाइनबारे चिकित्सकमा चेतानाको अभाव रहेकाले पनि उपचाररत बिरामीमा स्वाइन भएको भन्ने थाहा पाउँदा एक्कासि डरको स्थिति बनेको बताए। 'समूहमा स्वाइन भएको अवस्थामा मिल्ने लक्षणका बिरामीको उपचारमा संलग्न चिकित्सकले पूर्व सावधानीका उपाय अपनाउनु पर्नेमा बिरामीका आफन्तले ल्याएका माक्स र औषधी प्रयोग गर्नुपर्ने अवस्था आउनु लापरवाहीको नमूना हो', ती चिकित्सकले भने।
डा. ठाकूर भने स्टोरमा माक्स रहेको भन्दै बिहीबारदेखि आइसियूमा काम गर्ने सबैलाई माक्स लगाउन दिने बताए। चिकित्सकहरूका अनुसार शंकास्पद बिरामी रहेर प्रयोगशालामा परीक्षण भइरहेको अवस्थामा अन्य बिरामीसँगै राखेर उपचार गरिनु र स्वाइन फ्लु भएको बिरामी आउँदाका लागि पूर्व तयारी नगर्नुले अस्पतालको लापरवाही देखिएको हो।
केही स्थानमा समुदायमा स्वाइन फ्लु देखापरेको केही दिनपछि नै एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाले काठमाडौंका अस्पतालहरूलाई छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको थियो। आयोजनाले अत्यावश्यकीय औषधी टाँमी फ्लु, सर्जिकल माक्स दिने बताए पनि अन्य कृत्रिम श्वासप्रश्वास गराउने मेसिन भ्यान्टिलेटर र न्यूनतम छुट्टै कक्षको तयारीको आग्रह गरेको थियो। 'हामीले औपचारिकरूपमा आग्रह गरेका हौं, तर राजधानीकै अस्पतालमा छुट्टै कक्ष स्थापना गरेका छैनन् भने त्यो दुःखद् कुरा हो' एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनका प्रमुख डा. श्यामसुन्दर मिश्रले भने।
आयोजनाका उपनिर्देशक डा. जितेन्द्रमान श्रेष्ठले राजधानी कै अस्पतालहरूले सामान्य सर्तकता र सचेतना अपनाउन नसक्ने अवस्था दुःखद् भएको बताए। उनले भने, 'राजधानीका ठूला अस्पतालले छुट्टै बेड र एउटा भेन्टिलेटर राख्नुपर्छ।'
सरकारले छुट्टै कक्ष स्थापनाको आग्रहसँगै कस्तो अवस्थामा स्वाइन परीक्षण गर्ने, कस्तो अवस्थामा औषधी दिने भन्ने जानकारी र उपचारमा एकरूपता ल्याउन गाइडलाइनका बारेमा समेत अस्पताल प्रमुखहरूलाई जानकारी गराएको थियो। स्वाइन् भएका सबै विरामीलाई औषधी दिन र परीक्षण गर्न पर्दैन।
प्रकाशित: २५ मंसिर २०६६ ०१:२९ बिहीबार





