२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

इनरुवा जिल्ला अस्पताल सुधार गर्न दलहरु एकमत

संवाद कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेतासँगै अन्य सरोकारवालाहरु। तस्बिर: नागरिक

दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि समस्या रहेको छ। राण प्रधानमन्त्री भिम समेशरका पालमा १९८७ सालमा झोडा फडानी ताका सुरु भएको ५० वेडको अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा समस्या सृजना भएको हो। बढ्दो शहरीकरण, जनसंख्या वृद्धि संगै बिरामीको चाप हुने गरेपनि विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मार खेप्न बाध्य छन्। अस्पताल सुधार गर्न लामो समयदेखि विभिन्न समूहले आन्दोचलन चर्काउदै पनि आएका छन्।  

यसरी समस्यमा रहेको जिल्ला अस्पताल सुधार गर्न राजनीतिक दलहरुले चासो देखाएका छन्।  संवाद समुह सुनसरीले आयोजना गरेको संवादमा जिल्लाका राजनीतिक दलहरुले अस्पताल सुधारका लागि संगठीत हुने प्रतिवद्दता जनाए। अस्पतालमा अहिले करारमा कार्यरत दुई जना चिकित्सक रहेकाले गर्दा विरामीको चाप अनुसार सेवा प्रदान गर्न समस्या छ। संवादका क्रममा चिकित्सक नहुनुका साथै आन्तरिक रुपमा केही कर्मचारीका कारण अस्पताल विकास समिति र अस्पताल प्रशासनलाई समस्या भएको जानकारी दिइयो। अस्पताल प्रशासन भित्र सुधारका लागि कार्यरत जुनसुकै कर्मचारीलाई दलहरूले संरक्षण नगर्ने पनि प्रतिबद्दता जनाए।  

राजनीतिक संरक्षणमा जागिर खाएर कर्मचारी कार्यालय नै नजाने, काम नगर्ने, काम नगर्ने कर्मचारीलाई राजनीतिक दलहरुले नै संरक्षण गर्ने समस्या रहेको छ। संवाद कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले अस्पताल सबैको साझा भएकोले सबैले सहयोग गर्नु पर्ने बताए। ‘अस्पताल अहिलेको अवस्थामा पुग्नुको दोषी सबैभन्दा पहिला हामी इनरुवाका नागरिक र राजनीतिक दल हौँ, उनले भने, अहिलेसम्म हामीले अरूलाई जिम्मा दियौँ हामीले जुन अवस्थामा काम गर्नु पर्ने थियो त्यो अनुसारको हुन सकेन।’ अस्पतालको भूमिकामा दलहरू चुकेको स्वीकार गर्दै भण्डारीले अब दलहरू सबै मिलेर अस्पताल सपार्न लाग्नु पर्ने बताए।  

नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाले अस्पताल भनेको विशेष जिम्मेवार क्षेत्र हो भनेर नसोच्दा अहिलेको समस्या आएको बताए। ‘अस्पतालको हित विरुद्ध हुने कुरा दलहरूले बन्द गर्नु पर्छ,’ उनले भने, कर्मचारीलाई कर्मचारीको रूपमा अघि बढाउन दिनु पर्छ, अस्पताललाई राम्रो बनाउन लागिएको अवस्थामा दलहरूले हस्तक्षेप गर्नु हुँदैन।’

सो संवादका क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनारायण यादवले अस्पतालमा सुधारका लागि राजनीति हुनुपर्ने बताए। ‘अस्पतालमा राजनीति छिराउनु पर्छ तर नेतागिरी छिराउनु हुनु हुँदैन,’ उनले भने, ‘दलगत स्वार्थ छिराउनु हुँदैन, हाम्रो सहयोग कहाँ कहाँ खाँचो छ त्यहाँ सहयोग गर्न हामी तयार छौँ।’  

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य ओके दाहालले अस्पतालमा राजनीतिक नेतृत्व नभएको कारण अहिलेको अवस्था आएको बताए। अस्पताल राम्रो छ, सेवा सुविधा छ भन्ने भावना नागरिकलाई जगाउनु पर्ने बताए। ‘सबै क्षेत्रमा ध्यान गयो हामीले अस्पताल बनाउने कुरामा ध्यान दिन सकेनौँ, उनले भने, अहिलेको समस्या भनेको बिचौलियाले खेलेको छ, निजी अस्पतालको एजेन्ट इनरुवा अस्पतालमा छन्।’ उनले ती एजेन्टले बिरामी विराटनगरका ठुला अस्पतालमा पु¥याउनका लागि इनरुवा अस्पतालमा बसेर कमिसन खाईरहेको पनि आरोप लगाए।

जनता समाजवादी पार्टी नेपालका कार्यवाहक जिल्ला अध्यक्ष  रविन राईले इनरुवा अस्पताल सुनसरीको नै जिल्ला अस्पताल भएकोले यसलाई जिल्लागत रूपमा अघि बढाउनु पर्ने बताए।अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीले अस्पतालमा बिचौलियाहरू समस्याको रूपमा रहेको बताए। ‘कर्मचारी भित्रको विवादले गर्दा मेसूलाई काम गर्न नदिने, अप्ठेरो पार्ने लगायतका कारणले गर्दा लामो समय मेसुलाई बस्न समस्या गरिएको छ,’ उनले भने, ‘कर्मचारी भित्रैका केही व्यक्तिहरूले आफ्नो राज गर्न खोजेको देखिन्छ, उनले भने, ठेक्का लाग्न नदिने। टेण्डरको सूचना निकाल्न नदिने कारणले गत वर्ष पनि डेढ करोड फ्रिज गयो।’   इनरुवा अस्पतालमा दैनिक तीन सय हाराहारी बिरामी आउने गरेका छन्। 

प्रकाशित: ६ फाल्गुन २०७८ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App