१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखापरेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले गत वर्ष डेंगी भएका बिरामी कोरोना भएको भ्रममा परेको र यो वर्ष स्क्रब टाइफस संक्रमितहरू ओमिक्रोन संक्रमणको भ्रममा परेको पाइएको बताए।

टेकु अस्पतालमा ओमिक्रोन जाँच्न भनी आएका दुईजनामा स्क्रब टाइफस भेटिएको र अन्य अस्पतालमा परीक्षण भएका करिब एक दर्जन नमुनामा पनि स्क्रब टाइफस पुष्टि भएको डा. पुनले बताए। यसबाट उपत्यका नजिकका जिल्लामा बितेका वर्षहरूमा जस्तै यो वर्ष पनि स्क्रब टाइफस संक्रमण भएको हुनसक्ने देखिएको उनले प्रस्ट पारे। त्यसैले ज्वरो आएका बेला ओमिक्रोन भन्दै घरैमा बस्न नहुने र परीक्षण गराउनुपर्ने सुझाव उनको छ।

उनले स्वास्थ्यकर्मीलाई पनि नझुक्किन सचेत बनाए। ‘कोरोना महामारी फैलिएपछि ज्वरो आयो कि पिसिआर परीक्षण गरौं भन्दै बिरामी आउँछन् तर उनीहरूमा अन्य संक्रमणले पनि ज्वरो आएको हुन सक्छ’, उनले भने। उनका अनुसार स्क्रब टाइफस संक्रमणको उपचार ढिला भएमा बिरामीको मृत्यु समेत हुन सक्छ। त्यसैले ज्वरो आएका बिरामीमा कोरोना मात्र नभई स्क्रब टाइफसको समेत संक्रमण हुन सक्ने भएकाले थप सजग हुनुपर्ने उनको सुझाव छ।

वीर अस्पतालको मेडिकल युनिटका अनुसार गत भदौदेखि नै स्क्रब टाइफसका बिरामी आइरहेका छन्। उनीहरू काठमाडौं उपत्यकानजिकका धादिङ, नुवाकोट, काभे्र, सिन्धुलीलगायतका जिल्लाबाट आइरहेका छन्। ‘ज्वरो आएर अस्पताल आएका हुन्छन्।

परीक्षण गर्दा स्क्रब टाइफस भेटिन्छ,’ अस्पतालका वरिष्ठ फिजिसियन डा. ध्रुव गैरेले भने। टिचिङ अस्पतालको आकस्मिक कक्षका अनुसार स्क्रब टाइफस भएर विभिन्न अंगमा संक्रमण भएपछि उपचारमा आउने बिरामी भेटिएका छन्।

रेफरल अस्पताल भएकाले पनि बिरामी स्क्रब टाइफसले अन्य अंगमा समेत संक्रमण गरेपछि मात्र टिचिङमा आइपुग्ने गरेको देखिन्छ। कलेजो, मिर्गौला र फोक्सोमा समेत संक्रमण भएर निमोनिया भएपछि, कलेजोमा जन्डिस देखिएपछि बिरामी टिचिङ पुग्ने गरेका छन्। उनीहरूलाई वार्डमै भर्ना गरी उपचार गरिएको आकस्मिक कक्षका प्रमुख डा. रमेशकुमार महर्जनले बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्षजस्तो भदौपछि स्क्रब टाइफस देखा पर्छ। यसपटक कुनै पनि अस्पतालले स्क्रब टाइफस संक्रमणका बिरामीको रिपोर्ट नपठाएको महाशाखाले जनाएको छ।

के हो स्क्रब टाइफस ?

चिकित्सकका अनुसार खेतबारी या झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा सर्ने रोगलाई स्क्रब टाइफस भनिन्छ। झाडीमा बस्ने परजीवी माइटभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि यो संक्रमण हुन्छ।

रोग सार्ने यो परजीवीलाई बोलीचालीको भाषामा किर्ना पनि भनिन्छ। यो परजीवी घाँस या झाडीको सम्पर्कमा पुग्दा मानिसको शरीरमा सल्केमा संक्रमण हुन्छ। मुसा घरभित्र पसेर किर्ना छोडेमा यो परजीवीले टोकेर स्क्रब टाइफस संक्रमण हुन सक्छ।

चिकित्सकका अनुसार किर्नाले टोकेको ५ देखि ६ दिनभित्रमा ज्वरो आउने, शरीरमा रातो बिबिरा आउने, शरीर दुख्ने, ग्रन्थी सुन्निनेलगायतका लक्षण देखिन्छन्। कतिपयमा यो परजीवीले टोकेको भागमा कालो दाग पनि देखिन्छ। कसैमा बिबिरा नदेखिन पनि सक्छ। ‘ओरेन्सिया’ जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतको माध्यमबाट विभिन्न अंगमा समेत संक्रमण गराउँछ।

प्रकाशित: १ फाल्गुन २०७८ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App