१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान थप अस्तव्यस्त बन्दै: डा.यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न जिम्मेवारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले पठाए पनि काम गर्न ऐन र नियमावली वाधक भएपछि फर्किएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले उपकुलपतिको हैसियतमा जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडाले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.यादवलाई यस्तो जिम्मेवारी दिएका हुन्। प्रतिष्ठानको ऐन २०४९ र नियमावली २०५५ मा उपकुलपतिबाहेक अन्यलाई आर्थिक अधिकार नभएकोले डा.यादव दुई साता प्रतिष्ठान बसेर फर्किएका थिए। सरकारले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोकेको र डा.यादवसँग आर्थिक अधिकार नभएपछि प्रतिष्ठानको आर्थिक कारोबार ठप्प छ भने अस्पताल सेवा पनि प्रभावित हुन थालेको छ।

यही गाँठो फुकाउन मन्त्रालयले डा.यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्रालयले उनलाई पुष ३० गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रतिष्ठानको ऐन २० क दफा टेकेर यस्तो निर्णय गरेको जनाएको छ। यो दफामा मन्त्रालयले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिनसक्ने उल्लेख छ। मन्त्रालयले हालका उपकुलपतिको जाँचबुझ र निर्णयको अन्तिम निक्यौल नभएसम्मको लागि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा र प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अध्यापन अवरुद्ध नहोस् भनेर निर्णय गरि निर्देशन दिएको जनाएको छ।  

डा.यादवलाई प्रतिष्ठान नियमावली २०५५ को नियम ६.४ वमोजिमको दैनिक अर्थिक, प्रशासनिक, शैक्षिक र अन्य तोकिएको काम, कर्तव्य र अधिकारसहित जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ। यसैगरि, आर्थिक अधिकार प्रयोगमा डा. यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीको संयुक्त हस्ताक्षरबाट गर्न गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

डा.यादवले फोन सम्पर्कमा प्रतिष्ठानको निकासको लागि मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पनि परामर्श गरेको र सोही अनुसार मन्त्रीस्तरीय निर्णय भएको जानकारी दिए। उनले अब प्रतिष्ठान आउँदा महालेखाबाटै कर्मचारी लिएर आउने पनि बताए। यसअघि महालेखाले कोष तथा लेखा नियन्त्रकको कार्यालय सुनसरीका प्रमुखलाई नै खटाएको थियो। ‘उपकुलपतिको निक्यौल नभएसम्मको लागि वीपीमा विरामीहरुलाई समस्या नहोस्, पठनपाठनमा अफ्ठेरो नहोस् भनेर निर्णय भएको हो,’डा.यादवले भने,‘अस्पताल नै बन्द हुने अवस्था भएकोले अल्पकालिन व्यवस्था भएको हो।’ उनले बिहिबार वा शुक्रबार धरान आउने पनि बताए।

प्रकाशित: २६ माघ २०७८ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App