कर्णालीमा कोरोनाको पहिलो लहरमा निकै त्रास थियो। कोरोना संक्रमण हुने बित्तिकै ज्यान लिन्छ भन्ने छाप बस्यो। गाउँगाउँमा त्रास फैलियो। घरदैलोमा जान प्रतिबन्ध गरियो। गाउँगाउँ जोड्ने पुलपुलेसामा पर्खाल तथा बार लगाइयो। तर पहिलो लहरको कोरोनाले जुम्लालाई खासै असर पारेन। कारण थियो,‘पहिलो लहरको कोरोनामा यहाँका स्थानीय तह र सरोकारवालाको उच्च सतर्कता थियो।’
कोरोनाको दोस्रो लहरले जुम्लामा निकै असर पार्याे। २७ जनाको ज्यान गयो। स्थानीयतह कोरोना रोकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी रुपमा लागेनन। फलस्वरुप कोरोना महामारी फैलियो। रोकथाम तथा नियन्त्रणमा निकै चुनौति देखियो। चुनौतिका बावजुद स्थानीय प्रशासनले गैरसरकारी संस्था संगको समन्वयमा गाउँगाउँमा स्वास्थ्य सामाग्री पुर्यायो।
अहिलेको तेस्रो चरणको कोरोना लहरमा जुम्लाका १३१ जनामा कोरोना संक्रमण भएको छ। अधिकांस संक्रमित होमआइशोलेसनमै छन्। स्वास्थ्य अवस्था जटिल भएका बिरामी मात्र अस्पतालमा पुगेर चिकित्सकको निगरानीमा आइशोलेसनमा बस्ने गरेका छन्।
तेस्रो लहरको कारोनामा खासै गम्भीर प्रकारका बिरामी नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। यो पटक नरम प्रकारको भाइरसको संक्रमण भएकोले खासै प्रभाव नपारेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
यो पटक धेरै बिरामी घरमै सुरक्षित रुपमा बसेका छन्। थोरै मात्र अस्पतालमा भर्ना भएका हुन। प्रतिष्ठानका आइशोलेसन विभाग प्रमुख सृजना महत अस्पतालमा पनि गम्भीर प्रकारका बिरामी नआएको बताउँछिन्। उनले भनिन्,‘यस पटक अस्पतालमा भर्ना भएका विरामीहरुमा खासै गम्भीर प्रकारको संक्रमण छैन। समुदायमा भने व्यापक फैलिएको अनुमान रहेको छ। तर संक्रमणको प्रभाव परेको छैन।’ कोरोना संक्रमणको अवस्था देखिएपनि गम्भीर खालका बिरामी नहुने भएकोले परिक्षणको दर पनि बढ्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मंगलवार सम्म जुम्लामा जम्मा १३१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीन जना अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्। मंगरबार सम्म गरिएको एन्टिजन परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएपछि १३१ जना संक्रमित भएका हुन्। यस मध्य ३८ जना निको भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार दैनिक कारोनाको अवस्था विश्लेषण गर्न थालिएको छ। यो पटकको भेरियन्टमा समुदायमा कोरोना भएपनि खासै कठिन अवस्थाका विरामी आएका छैनन्। अस्पतालमा ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुलाई भने अलिकति असर भई उपचार गर्न आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरुले पछिल्लो समय खोप अभियानलाई तीब्र पारेका छन। कोरोना परीक्षण गर्ने शंकास्पद व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण भईरहेको छ।
पछिल्लो समय १२ देखी १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइशोलेसन वार्ड सञ्चालनमा ल्याइसकेको छ। त्यही अनुसारको जनशक्ति खटाएको छ। जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा छन्।
गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न,घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, नियमितरुपमा साबुनपानीले हातधुन र कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिन कोभिड १९ संकट व्यवस्थापन समितिले आग्रह गरेको छ।
प्रकाशित: २० माघ २०७८ १२:५९ बिहीबार





