वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागका एक चिकित्सकले निःशुल्क आएको इम्प्लान्ट बिरामीलाई बिक्री गरेको र अप्रेसन थिएटरमा डाक्टरहरुबीच विवाद भएको अर्को घटनाबारे पनि नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ।
दुवै घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा.हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान आएको छ। शुक्रबार प्रतिष्ठान आएको टोलीले घटनाबारे आवश्यक कागजपत्र लिने र सम्बन्धित व्यक्तिहरुसँग वयानसमेत लिएको छ। छानबिन टोलीमा डा.वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र बिषय विज्ञ पनि छन्। टोली शनिबार काठमाडौं फर्किसकेको छ।
भेट्नुपर्ने केही व्यक्तिहरु काठमाडौंमा भएकोले वयान लिने काम अझै बाँकी नै रहेको र रिपोर्ट बुझाउन एक सातासम्म लाग्नसक्ने डा.वस्तीले बताए। उनले भने,‘वीपीको हाडजोर्नी विभागमा खटपट भएको छ। एउटा निःशुल्क हुनुपर्ने इम्प्लान्टमा पैसा लियो भन्ने उजुरी छ अर्को ओटिमा डाक्टरबीच झगडा भएको बिषय छ। के भएको हो भनेर यथार्थ बुझ्नलाई डकुमेन्ट हेर्ने, सुन्ने काम गर्यौ। आवश्यक कागजपत्र लिएर फर्कदैछौ।’
अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले विरामीको निवेदन आएको र अस्पताल प्रशासनले सम्बन्धित निकाय(मेकिडल काउन्सिल)लाई छानबिन गर्न पत्राचार गरेअनुसार नै टोली आएको बताए। ‘विरामीले पनि निवेदन दिएको छ। मेडिकल इथिक्स उल्लंघन भएकोबारे हेर्ने निकाय नेपाल मेकिडल काउन्सिल हो। हामीले पनि काउन्सिलमा पत्राचार गरेका थियौ। त्यसैले त्यहाँबाट टोली आएको हो,’ उनले भने।
के हो विवाद?
अमेरिकाको साइन नामक संस्थाले गरिब विरामीहरुलाई निःशुल्क उपलब्ध गराउन भनेर पठाएको साइन नेल प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सक डा.रोशनप्रसाद साह कलवारले मेडिकल पसलमार्फत विरामीलाई बिक्री गरेका थिए। उनको यो बदमासी गत मंसिरमा सार्वजनिक भएपछि विभागले उनलाई आफूसँग भएको साइन नेल बुझाउन र नबुझाएसम्म साइन नेल प्रयोगमा हुने सर्जरी नगराउन निर्देशनसमेत दिएको थियो। पीडित विरामीका आफन्तले सोही घटनामा प्रहरीमा समेत उजुरी दिएका थिए। विरामी पक्षले नै मेडिकल काउन्सिलमा समेत उजुरी दिएको बताइएको छ।
यस्तै, अर्को घटना गत पुष २९ गते अप्रेसन थिएटरमा भएको थियो। दुर्घटनामा परि एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरि रड लगाउने बेला डा.कलवार र अन्य डाक्टरबीच झगडा परेको थियो। डाक्टरहरुबीच झगडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएको ती विरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो। अहिले ती विरामी घर फर्किइसकेका छन्।
अघिल्लो घटनापछि साइन नेलको विवरण र आफूसँग भएको नेल बुझाउन विभागले दिएको निर्देशन अटेर गर्दै डा.कलवारले पुष २९ गते पनि साइन नेल नै प्रयोग गर्दै अप्रेसन गरेका थिए। तर, अन्य डाक्टरहरुले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए। सोही विवादले चर्कोरुप लिएपछि यो घटना पनि प्रहरी, अस्पताल प्रशासन हुँदै मेडिकल काउन्सिलसम्म पुगेको थियो।
यो घटनामा डा.कलवारले विभागीय प्रमुख प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठलाई निसाना बनाउँदै उनकै निर्देशनमा आफूलाई अप्रेसन गर्न रोकिएको र विरामीको ज्यान जोखिममा पारेको भन्दै सामाजिक सञ्जालमा आरोप लगाएका थिए। उनले डा.अमित लिम्बु र डा.अमितबिक्रम साहले अप्रेसन कक्षमा तनावको वातावरण सृजना गराएको आरोप लगाए।
तर, विभागीय प्रमुख प्रा.डा.श्रेष्ठसहित डा.लिम्बु, डा.साह, रुटिन ओटी इञ्चार्ज रुक्मा श्रेष्ठ, हाडजोर्नी अप्रेसन ओटी नर्स सञ्जु राई, कविता सुब्बा, सलिना गुरुङ र रेनुका राजवंशीले विज्ञप्तीमार्फत नै डा.कलवारको आरोपमा खण्डन गरेका थिए। उनीहरुले स्टोर दाखिला प्रक्रियाविना नयाँ लटको सामान चलाउँदा हिसाब नमिले विभागीय निर्णयको र अस्पताल प्रशासनको नियमविरुद्ध भएर गलत नजिर बस्ने भएकोले प्रयोग नगर्न आग्रह गर्दा जबर्जस्ती प्रयोग गर्दा नेल गलत तरिकाले पसेको र त्यसलाई पछि सच्याउन बढी समय लागेको दाबी गरेका छन्।
विभागीय प्रमुख प्रा.डा.श्रेष्ठले निःशुल्क साइन नेलको विरामीसँग पैसा लिएको र अप्रेसन थिएटरमा भएको घटनाबारे पनि मेडिकल काउन्सिलको टोलीले सम्बन्धितहरुसँग वयान लिएको जानकारी दिए। ‘काउन्सिलबाट छानबिन गर्न टोली आएको थियो। निःशुल्क नेलको पैसा लिएको भनेर विरामीले उजुरी गरेको रहेछ। अर्को घटनामा डा.कलवारले असहयोग भयो भनेर निवेदन दिएको भन्ने छ। काउन्सिल टोलीले सम्बन्धित व्यक्तिसँग वयान लिएको छ,’ प्रा.डा.श्रेष्ठले भने।
प्रकाशित: १५ माघ २०७८ १४:४५ शनिबार





-600x400.jpg)