८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ख्वप अस्पताललाई सय शैय्या क्षमताको बनाउन स्वीकृतिको आग्रह

भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल एक सय शैय्या क्षमताको बनाउन स्वीकृतिको लागि आग्रह गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटघाट गरी यस्तो माग गरिएको नगरपालिकाले जनाएको छ।  

नगरपालिका प्रमुख प्रजापति, बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी सम्मिलित टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र एक सय शैय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गरिएको जनाइएको हो।

भेटमा मुख्यमन्त्री पाण्डेले स्थानीय तहबाट सञ्चालित ख्वप अस्पताललाई सय बेडको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न सकारात्मक रहेको बताएको जनाइएको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धितलाई निर्देशन दिने बताएको जनाइएको छ।

टोलीले प्रदेश स्वास्थ्यमन्त्री निमा लामा र स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झासँग भेटी ख्वप अस्पताल र कोभिड रोकथाम तथा नियन्त्रणमा भएका विविध गतिविधिहरुबारे छलफल गरेको जनाइएको छ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणका लागि तयार पारिएको प्रतिवेदन र स्वमूल्यांकन प्रतिवेदनलगायत अस्पतालका थप शैय्या स्वीकृतिका लागि आवश्यक कागजातहरु पनि हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App