१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आदेश कार्यान्वयन नहुँदा कोरोनाको जोखिम

कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले जारी गरेको आदेश कार्यान्वयन हुन सक्दा जोखिम बढ्दै गएको छ। कोरोना भाइरसको जोखिम कम गर्न सिडिओले पुस २७ गते पाँच बुँदे आदेश जारी गरेका थिए।

जारी गरेको आदेशमा भनिएको छ, ‘सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने र यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्ने।’ तर, आदेश कार्यान्वयन नहुँदा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। 

सिडिओ खत्रीको आदेश भने भनिएजस्तै सार्वजनिक गाडीमा यात्रुले अनिवार्यरुपमा मास्क लगाउँदैनन्। स्थानीय (लोकल) गाडीमा यात्रुहरु कोचाकोच हुन्छन्। अहिलेसम्म कुनै पनि सार्वजनिक गाडीको ढोकामा सेनिटाइजर राखेको देखिँदैन। यातायात व्यवसायी सिडिओ खत्रीको आदेश कार्यान्वयन गर्न कन्जुस्याइ गरिरहेका छन् भने नियामक निकाय मौन छ।

आदेश जारी भएयता जिल्ला प्रशासनबाट कुनै पनि अनुगमन भएको छैन जसले, आदेश कार्यान्वयनलाई चुनौती देखिएको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको सिटभन्दा धेरै कोचाकोच यात्रु राख्ने, गाडीभित्र यात्रुले मास्क प्रयोग नगर्ने र गाडीमा सेनिटाइजर प्रयोग नगर्ने देखिएको छ। पछिल्लो समय कोरोना भाइरस दिनानुदिन बढ्दै छ। 

जनस्वास्थ्यका लागि महत्वपूर्ण मानिएको सिडिओको आदेश कार्यान्वयन नहुँदा कोरोना भाइरसको जोखिम अझ बढी देखिन्छ। यातायात व्यवसायी मात्र होइन, स्वयम् नागरिक पनि आफ्नो दायित्व निर्वाह नगर्दा सिडिओको आदेश कार्यान्वयनमा समस्या देखिएका छ।

सार्वजनिक यातायातका साधन मात्र होइन प्रमुख सिडिओले जारी गरेको विद्यालय बन्द गर्नेबाहेक अन्य आदेश कार्यान्वयन भएको छैन। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीस्तर) को २०७८ पुस २६ गतेको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम सिडिओ खत्रीले आदेश जारी गरेका थिए।  

सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सवहरु ऋायोजना नगर्ने। सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने।  

बुँदा नम्बर ५ मा कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने गराउने। यो बुँदा पनि प्रभावकारीरुपमा कार्यान्वय हुन सकेको छैन। सबैभन्दा सार्वजनिक यातायातका साधनबाट कोरोना भाइरस जोखिम देखिन्छ। यातायातका साधनमा बिनामापदण्ड कोचाकोच गरेर यात्रुहरु बस्दा पनि कोरोना भाइरसको जोखिम बढ्दो छ।

जिल्ला प्रशासन कार्यालयको कमजोरीका कारण आदेश कार्यान्वयन हुन नसकेको कोहलपुर नगरपालिका ११ का वडाध्यक्ष कर्णबहादुर थापाले जनाए। ‘निर्णय हतारमा गरिने र कार्यान्वयनमा चुक्ने हाम्रो परिपाटी नै छ। कतिपय निर्णय औपचारिकतामा लागि गरिन्छ। त्यस्तो सोचाइ गलत हो र छ,’ उनी भन्छन्, ‘पुस २७ गते प्रमुख जिल्ला अधिकारीको आदेश पनि त्यस्तै देखियो। आदेश जारी गरेपछि अनुगमन गर्नुपथ्र्याे। अहिलेसम्म अनुगमन भएको देखिँदैन। सिडिओ आफैँ कार्यालयभन्दा बाहिर आएर अनुगमन गर्नुपथ्र्याे। यदी त्यस्तो होइन भने, अनुगमन समिति गठन गरेर कार्यान्वयन गर्नुपथ्र्याे।’

आदेश कार्यान्वयनको अहिलेसम्म अनुगमन नभए पनि अब अनुगमन गरेर कडाइ गरिने यता सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए। ‘अर्काे कुरा उक्त आदेश कार्यान्वयनमा स्थानीय तह पनि गम्भीर हुन जरुरी छ,’ उनी भन्छन्, ‘आफ्ना पालिकाभित्र आदेश कार्यान्वयनमा सहयोग पु¥याए कोरोना भाइरसको जोखिम कम गर्न सकिन्छ।’ नागरिकले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ। पछिल्लो समय बाँकेमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा यसले ठूलो रुप लिन सक्ने स्थानीयको भनाइ छ।

प्रकाशित: २ माघ २०७८ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App