३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

तयार हुँदै होल्डिङ सेन्टर

कोरोना महामारीलाई  ध्यानमा राख्दै सुरु गरिएको प्रदेश १ को  होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। झापाको मेची नगरपालिका १ मा निर्माण थालिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ।

कोरोनाको तेस्रो लहर फैलिएको अवस्थामा विभिन्न देशबाट नेपाल प्रबेश गर्ने यात्रुहरूलाई राख्ने उद्देश्यले निर्माण थालिएको होल्डिङ सेन्टर १ हजार वेड क्षमताको  रहेको छ। कोरोनाको संभावित तेस्रो लहरलाई ध्यानमा राख्दै प्रदेश १ को होल्डिङ सेन्टर पुस महिनाभित्रै तयार पार्ने गरी काम भइरहेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतिले जानकारी दिइन्।

उप्रेतिका अनुसार प्रदेशस्तरीय होल्डिङ सेन्टर निर्माणको काम नेपाली सेनाले गरिरहेको छ। होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड बजेट विनियोजन भए पनि हालसम्म करिब २२ करोड रुपैयाँ  बजेट प्राप्त भइसकेको छ। अन्य ६ करोड रुपैयाँ बजेट निकासीको क्रममा रहेको छ। होल्डिङ सेन्टर निर्माणका लागि २२ करोड र सडक निर्माणका लागि ६ करोड रुपैयाँ बजेट स्वीकृत भएको उप्रेतिले बताइन्।

होल्डिङ सेन्टरमा २२ वटा ब्लक रहेका छन्। जसमा हरेक ब्लकका लागि छुट्टा–छुट्टै शौचालय रहेको छ। २२ मध्ये २० वटा क्वारेन्टाइन र २ वटा प्रशासनिक ब्लक छन्। यस्तै १५ वटा भान्सा रहेको छ। जसमा १२ वटा डाइनिङ हल र २ वटा प्रशासनका लागि र एउटा सेन्टर भान्छा रहेको छ।  एकै पटक एक हजार मानिस राख्न सकिने भएकाले कोरोनाको तेस्रो लहर फैलिएको अवस्थामा होल्डिङ सेन्टर उपयोगी हुने उप्रेतिको भनाइ छ। उनले भनिन्, ‘कोरोनाको तेस्रो लहर छिमेकी भारतमा बढ्दै गएको र नेपालमा पनि फैलन सक्ने भएकाले तेस्रो लहरको संक्रमण फैलिएको अवस्थामा होल्डिङ सेन्टर उपयोगी हुनेछ।’ यति मात्रै हैन, होल्डिङ सेन्टर महामारी मात्रै नभई बाढी, भुकम्पलगायतका विभिन्न किसिमका प्रकोपहरूबाट विस्थापित भएकाहरूलाई राख्न पनि उपयोगी हुनेछ।

उपप्रमुख  उप्रेतिका अनुसार होल्डिङ सेन्टर भएको स्थानमा  नदी उकासको १२ विघा जग्गा रहेको छ। नगरपालिकाले सो जग्गामा कृषि केन्द्र निर्माणको योजना बनाएको थियो। धेरै जग्गा भएकाले होल्डिङ सेन्टरको अबधारणा आएपछि करिब ३ विघा जग्गा होल्डिङ सेन्टर निर्माणका लागि दिइएको उनले जानकारी दिइन्।

कोरोनाको पहिलो र दोस्रो लहरका समयमा प्रदेश १ मा होल्डिङ सेन्टर नहुँदा विदेशबाट आएका शंकास्पद कोरोनाका विरामीहरूलाई राख्न  प्रदेश र स्थानिय सरकारलाई सकस भएको थियो। सोही  समयमा प्रदेश १ लगायत देशका विभिन्न स्थानमा  व्यवस्थित होल्डिङ सेन्टर निर्माणको काम सुरू गरिएको थियो।

काँकडभिट्टा नाकाबाट भारत, भुटान, बंगलादेश लगायतका विभिन्न देशका नागरिकहरू भारतको बाटो हुँदै नेपाल भित्रने गरेका छन्। प्रदेश १ मा काँकडभिट्टा नाकामा मात्रै अध्यागमन कार्यालय भएका कारण पनि भारतबाहेकका देशबाट आउने यात्रुहरूले काँकडभिट्टा नाकाको प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: १९ पुस २०७८ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App