बेलायतमा गएिको दुई अध्ययनले डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन सामान्य रहेको देखाएका छन्। इम्पेरियल कलेज लन्डनले गरेको समिक्षात्मक अध्ययनले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना हुनुपर्ने सम्भावना डेल्टाका तुलनामा २० प्रतिशत कम देखिएको छ।
यसैगरी अस्पतालमा एक रात वा त्यो भन्दा बढी समयका लागि भर्ना हुनुपर्ने सम्भावना डेल्टाको तुलनामा ४० प्रतिशत कम पाइएको छ। प्रारम्भिक नतिजाले यस्तो देखाए पनि वैज्ञानिकले रोगको गम्भीरतामा कमी देखिए पनि यो भेरियन्ट अत्यन्त छिटो प्रसार हुने र कोरोना खोप निस्प्रभावी हुनसक्ने सम्भावनलाई महत्व दिँदै आएका छन्।
अत्यधिक मात्रामा संक्रमितको संख्या बढेसँगै अस्पतालमा पनि चाप बढ्ने वैज्ञानिक तर्क छ। बुधबार सार्वजनिक गरिएको नयाँ अध्ययनका नतिजाले डेल्टा जस्तो ओमिक्रोन घातक नभएको देखाएको भाइरसको अध्ययन गर्दै आएका भ्यान्डरविल्ट विश्वविद्यालयका वायोकेमिष्ट म्यानुल एस्कानोले बताए। ‘यसो हुँदाहुँदै पनि हामी सावधानीपूर्वक आशावादी हुन जरुरी छ,’ उनले भने।
डिसेम्बरको पहिलो दुई सातामा पिसीआर परीक्षणमार्फत बेलायतमा पत्ता लागेका ५६ हजार ओमिक्रोन र २ लाख ६९ हजार डेल्टा संक्रमितको समीक्षात्मक अध्ययन गरिएको थियो। यसैगरी, स्कटल्यान्डमा गरिएको एक अर्काे अध्ययनले डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनका कारण अस्पताल भर्ना हुन पर्ने सम्भावना दुईतिहाइले कम रहेको देखिएको छ।
इडिनबर्ग विश्व विद्यालयका वैज्ञानिक तथा अन्य विज्ञ सहभागी रहेको उक्त अध्ययनले अधिकांश संक्रमित २० देखि ३९ वर्षभित्रका रहेको देखिएको छ। सामान्यतया युवाहरूलाई कोभिड–१९ले गम्भीर हिसाबले बिरामी पार्दैन। ‘यो राष्ट्रिय अनुसन्धानले अस्पताल भर्ना हुनुपर्ने अवस्था सिर्जना गर्न डेल्टाको तुलनामा ओमिक्रोनको कम छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
पहिलोपटक देखिएको ओमिक्रोन राष्ट्र दक्षिण अफ्रिकाका तथ्यांकले पनि डेल्टा भन्दा ओमिक्रोन कम खतरनाक देखाएका थिए। यो साताको सुरुमा दक्षिण अफ्रिकाका सरुवारोग विशेषज्ञ अब्दुल करिमले डेल्टाको तुलनामा ओमिक्रोनको कारण अस्पताल भर्ना हुनुपर्ने दर अत्यन्त कम रहेको दाबी गरेका थिए।
प्रकाशित: ९ पुस २०७८ ०७:२७ शुक्रबार





