१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ओमिक्रोनबाट जोगिन उच्च सतर्कताः दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना महामारीबाट बिस्तारै तंग्रिँदै गरेको विश्व भाइरसको नयाँ तथा खतरनाक ठानिएको प्रजातिका कारण पुनः चिन्तित बनेको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नामकरण गरिएको यो प्रजातिले तीव्र रूपमा संक्रमण फैलाउन सक्ने भएकाले सतर्क रहन भनेको छ। बी.१.१.५२९ का नामले चिनिने यो प्रजाति दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको समाचार बुधबार सार्वजनिक भएको हो।

आइतबारसम्म विश्वका ९ देशमा यो प्रजातिको संक्रमण देखिएको छ। अन्य देशमा ओमिक्रोनबाट संक्रमित देखिने क्रम जारी छ। कतिपय राष्ट्रले अफ्रिकी महादेशका विभिन्न राष्ट्रसँग हवाई सम्बन्ध टुटाएका छन् भने अन्यले सम्बन्धित देश प्रवेश गर्ने यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने घोषणा गरेका छन्।

आइतबारसम्म यो भाइरस दक्षिण अफ्रिकासहित हङकङ,बेल्जियम, बेलायत, चेक रिपब्लिक, इटाली, अस्ट्रेलिया, जर्मनी तथा नेदरल्यान्डमा देखिएको छ। यो भाइरसको प्रसारण रोक्न विभिन्न देशले निगरानी व्यवस्था सशक्त पारेका छन्। जनसंख्याको झन्डै ६३ प्रतिशतलाई खोपको दुवै डोज लगाएको इजरायलले सबै विदेशी यात्रुलाई अनिवार्य रूपमा दुई सातासम्म क्वारेन्टिन बस्नुपर्ने प्रावधान गरेको छ।

जापानले दक्षिण अफ्रिकी देशबाट आएका यात्रुलाई १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ भने अमेरिका तथा बेलायतले दक्षिण अफ्रिकी देशका यात्रुलाई प्रवेश निषेधको घोषणा गरिसकेका छन्। अस्ट्रेलियाले दक्षिण अफ्रिका,नामिबिया, जिम्बावे, बोत्स्वाना, लेसोथो, इसवाटिनी, सेचलिस तथा मलावीसँग हवाई सम्बन्ध १४ दिनका लागि विच्छेद गरेको छ।

छिमेकी मुलुक भारतले पछिल्लो विकासक्रमका कारण व्यावसायिक अन्तर्राष्ट्रिय उडान पुनः सुचारु गर्ने समयसारिणीमा पुनरवलोकन गर्ने भएको छ। भारतले यसअघि डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान नियमित गर्ने बताएको थियो। भारतीय दैनिक टाइम्स अफ इन्डियाका अनुसार आइतबार भारतका गृहसचिवको संयोजकत्वमा बसेको आकस्मिक बैठकले स्थितिको निरन्तर अनुगमन गर्ने र अन्तर्राष्ट्रिय उडानको यसअघिको निर्णयलाई पुनरवलोकन गरिने निर्णय गरिएको हो।

नेपालमा पनि उच्च सतर्कता

कोरोना भाइरसको संक्रमण दर पछिल्ला दिनमा दुईतीन प्रतिशतमा झरे पनि नयाँ प्रजातिको ओमिक्रोनको विकासक्रमले नेपालमा पनि चिन्ता थपिएको छ। स्वास्थ्य मन्त्रालयले यो भाइरसको सम्भावित प्रवेशलाई रोक्न उच्च सतर्कता अपनाइएको जनाएको छ।

यो भाइरसको उत्पत्तिस्थल मानिएको दक्षिण अफ्रिकासँग नेपालको सीधा हवाईसम्बन्ध नभए पनि विश्वका अन्य देशमा यो फैलने क्रम तीव्र देखिएका कारण हवाई तथा स्थलमार्ग हुँदै आउने यात्रुलाई निगरानी गर्ने व्यवस्था थप मजबुत पारिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन्। उनले हेल्थ डेस्क थप्ने, क्वारेन्टिनको व्यवस्था गर्ने तथा भाइरसको थप आनुवंशिक अध्ययन गर्ने कार्यमा जोड दिइएको बताए।

भाइरसको यो प्रजातिका कारण विश्वव्यापी चिन्ता बढेपछि नेपालले कस्तो निर्णय लिने भन्ने विषयमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रअन्तर्गतको समन्वय समितिको बैठकमा आइतबार प्रारम्भिक छलफल भएको थियो। केन्द्रकी प्रवक्ता सुनिता नेपालले बैठकमा सम्बन्धित देशबाट आउने यात्रुको निगरानी बढाउने तथा आवागमन रोक्ने विषयमा छलफल भएको बताइन्।

भाइरसको नयाँ प्रजातिको उद्गमस्थल दक्षिण अफ्रिकासँग नेपालको सीधा हवाईसम्पर्क नभए पनि त्यस क्षेत्र र भाइरस देखिएका अन्य राष्ट्रबाट नेपाल आउने यात्रुलाई परीक्षण तथा निगरानी व्यवस्था बलियो बनाउन विज्ञको सुझाव छ।

विज्ञको सुझाव र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रअन्तर्गतको समन्वय समितिको बैठकपछि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ। ‘हालका लागि अफ्रिका महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने। उनका अनुसार कूटनीतिक सरकारी प्रयोजनमा आउनेलाई भने रोक लगाइएको छैन। उनीहरूले नेपाल आउँदा निश्चित स्वास्थ्य मापदण्ड पालना भने गर्नुपर्ने छ। मन्त्रालयले यो निर्देशन कार्यान्वयन गर्न अध्यागमन विभाग,त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ।

‘ओमिक्रोन विश्वका विभिन्न देशमा देखिइसकेको अवस्थामा हामीले उच्च सतर्कता र सावधानी अपनाउन आवश्यक छ,’टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘खोपको पहुँचलाई व्यापक पार्न तथा भाइरसको आनुवंशिकअध्ययनको दायरा तत्काल बढाउन आवश्यक छ।

जनसाधारणले पनि स्वास्थ्य मापदण्ड अवलम्बन गर्नमा कन्जुस्याइँ गर्नुहुँदैन,’उनी भन्छन्। नेपालमा जनसंख्याको २७ प्रतिशतले खोपका दुवै डोज लगाएका छन् भने खोपको एक डोज लगाउनेको संख्या झन्डै ३२ प्रतिशत छ।

प्रारम्भिक अध्ययनको नतिजाले यो भेरियन्ट छिटो फैलन सक्ने, पुनः संक्रमणको जोखिम रहेको तथा शरीरको प्रतिरक्षा प्रणालीलाई छक्याउन सक्ने देखाएको छ। यसैगरी नयाँ भेरियन्टको स्पाइक प्रोटिनमा ३२ पटक उत्परिवर्तन भएकाले खोपको प्रभावकारिता पनि न्यून हुन सक्ने वैज्ञानिक आकलन छ।

कोरानाविरुद्धको खोपको पहुँचका हिसाबले दक्षिण अफ्रिकाका अधिकांश देश अत्यन्त कमजोर मानिन्छन्। अफ्रिका महादेशमा खोपको दुवै डोज पाउने जनसंख्या ६ प्रतिशतको हाराहारी छ। खोपको असमान वितरणका कारण कोरोना भाइरसका नयाँ भेरियन्टको विकास हुन सक्ने चेतावनी विज्ञले दिँदै आएका थिए।

डब्लुएचओ के भन्छ? 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भेरियन्टका बारेमा थप अध्ययन भैरहेको र अध्ययनको परिणाम छिटै सार्वजनिक गरिने बताएको छ। प्रारम्भिक नतिजाले भाइरसका अन्य प्रजाति (भेरियन्ट अफ कन्र्सन) को तुलनामा यो भेरियन्टले पुनः संक्रमण गर्न सक्ने अत्यधिक क्षमता राख्ने देखाएका छन्।

संक्रामकता,रोगको गम्भीरता तथा उपचार छल्न सक्ने क्षमताको आधारमा संगठनले भाइरसका प्रजातिलाई भेरियन्ट अफ इन्ट्रेस्ट (ध्यान दिनुपर्ने) र भेरियन्ट अफ कन्सर्न (चिन्ताजनक) भनेर वर्गीकरण गरेकोमा नयाँ भेरियन्टलाई चिन्ताजनक भेरियन्टमा वर्गीकृत गरिएको छ।

डब्लुएचओको सल्लाहकार समूह

(एड्भाइजरी ग्रुप) ले शुक्रबार यो नयाँ भेरियन्टलाई ओमिक्रोन नामकरण गरेको हो। यसअघिको कोरोना भाइरसको डेल्टा प्रजाति अत्यधिक रहेको दक्षिणअफ्रिकामा पछिल्ला सातामा संक्रमण दर बढेको थियो। ९ नोभेम्बरमा संकलित एक नमुनामा धेरै उत्परिवर्तन (म्युटेसन) भएको खतरनाक भाइरस देखिएको डब्लुएचओले जनाएको छ।

यसैगरी संगठनले विश्वका देशलाई आफ्नो अनुगमन प्रक्रिया चुस्त पार्न र भाइरसको आनुवंशिक सिक्वेन्सको अध्ययन गर्न आह्वान गरेको छ। सर्वसाधारणले मास्को प्रयोग, हातको सरसफाइ, भौतिक दूरी, घरभित्र यथेष्ट भेन्टिलेसनको व्यवस्था तथा खोपको उपलब्धता सुनिश्चित गर्न पनि संगठनले अनुरोध गरेको छ।

प्रकाशित: १३ मंसिर २०७८ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App