२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

डेढ महिनाभित्र ६० लाख डोज खोप आउँदै

अबको डेढ महिनाभित्र नेपालमा तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल आइपुग्ने भएको छ। सो परिमाणमा भेरोसेल,फाइजर र कोभिडसिल्ड खोप आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।

नेपालले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरी ल्याउने ६० लाख डोज खोपमध्ये यही नोभेम्बरभित्र करिब १५ लाख र बाँकी चरणबद्ध रूपमा आइपुग्ने उनको भनाइ छ।

चीनबाट पनि ६० लाख डोज खरिद सम्झौता भइसकेकोमा बाँकी रहेको २३ लाख डोज १५ दिनभित्र नेपाल आइपुग्ने आपूर्ति महाशाखाले सिनोफार्म कम्पनीसँग माग गरेको जनाइएको छ। फाइजरको खोप भने डिसेम्बरभित्र आइपुग्नेछ।

फाइजर पनि २० लाख डोजको दरले आपूर्ति हुने महाशाखाको भनाइ छ। फाइजर भने नेपाल सरकारको खरिद प्रक्रियाबाट आउने भएको हो।

तीन कम्पनीबाट ६० लाख डोज खोप आएसँगै नेपालमा खोप अभियान कम उमेरका जनसंख्याका व्यापक रूपमा सुरु गरिने ढुंगानाले बताए। ‘तीनवटै कम्पनीका खोप आइसकेपछि खोप नलगाउनेलाई घरघरमै पुगेर खोप दिनुपर्ने हुन्छ,’ उनले भने।

नेपालमा हालसम्म सबै कम्पनीको गरी २ करोड ५४ लाख ७ हजार ६ सय ३० डोज खोप आइसकेको छ। ती खोपमध्ये जोनसन एन्ड जोनसन एक डोज मात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ।

यो हिसाबले नेपालमा हालसम्म ९१ लाख २० हजार जनसंख्याले पहिलो मात्रा मात्र खोप लिएका छन् भने ७९ लाख ६ हजार ३ सय ३९ जनाले पूर्ण खोप लगाइसकेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App