१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

जुम्ला विमानस्थलः टिकट नपाउँदा रेफर गरेका बिरामी घर फर्काइए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले रेफर गरेको कागज देखाउँदै गुठिचौर गाउँपालिकाका रिमाल पाण्डे जुम्ला विमानस्थल पुगे। उनको तीन महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचाररत थिए। तर अस्पतालले नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भएपनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो।

निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी अस्पतालमा पुगे। हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे। तर टिकट पाएनन्।

विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेका थिए। उनले गरेको फोन र देखाएको रेफर कागजको विमानस्थलमा कुनै सुनुवाइ भएन। उनी छोरा लिएर घर फर्किए। उनले भने,‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए। विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए। 

’दुई दिनअघिदेखि टिकटका लागि पहल थालेको थिए। एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिए,' उनले भने, ‘छोराको अवस्था जटिल हुँदै टिकटको लागि पहल गरेको थिए। तर टिकट पाउन सकिन। अन्नत: बिरामी छोरो बोकेर घर फर्किँएँ।’

एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघिदेखि सीट प्याक भइसकेको भन्दै फर्काए। बिरामीले जहाजमा उड्न नपाउनु बिडम्वना हो। उनले भने,‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ। तर टिकट पाउँदैनौँ। हवाई सेवा पहुँचवालाको मात्र हो भन्ने जस्तो आभाष हुन्छ।’

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नु पर्नेमा जोड दिएको थियो। कुनै पनि बिरामी जहाजमा जान पाउनु पर्ने भन्दै बिरामीको विकल्प अरु हुन नसक्ने बैठकको निष्कर्ष थियो।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए। उनले भने,‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ। अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ।’ उनले दुःखी बिरामीको लागि कर्णालीको हवाइसेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताए।

विमानस्थलमा भएको भद्रगोलको बरोमा जति निर्णय र छलफल भएपनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हवाई सेवामा रेफर भएका विरामीलाई पहिलो प्रथामिकता दिनुपर्ने बताइन्।

उनले भनिन,‘धेरै दिनदेखि विरामी होल्डमा थिए। अक्सिजन सिलिण्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइको थियो। अन्य बिरामीलाई जटिलता हेरेर प्रथामिकता दिइन्छ।’ सबैले समान रुपमा हवाइ सेवा पाउनुपर्छ। रिमाल पाण्डेको बिरामीलाई मंगलबार जसरी पनि टिकट मिलाउन पहल गर्ने प्रतिबद्धता जनाइन्। जुम्लामा तारा, सीता र समिट एयरका जहाज चल्ने गर्छन्।

प्रकाशित: ८ कार्तिक २०७८ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App