१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालको वार्डमै तीज मनाउने चेली

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा रहेका बिरामीको सेवा गर्दै नर्स। तस्बिर: अर्जुन ओली/नागरिक

बाहिर जताततै हरितालिका तीजको रौनक छाएको छ। तीजको अवसरमा थुप्रै चेलीहरू आफ्नो माइती घर पुगेका छन्। तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन। 

तीजको पूर्वसन्ध्यामा कोभिड वार्डमा भेटिएकी मधुले बिरामीको सेवा गर्ने आफ्नो पेसा भएकाले चार्डपर्वले आफूलाई खासै नछुने बताइन्। ‘चाडपर्वमा रमाईलो गर्ने इच्छा भए पनि नर्सिङ पेसा अरूको जस्तो धेरै दिनसम्म बिदा लिएर मनाउँदैनौं,’ उनले नागरिकसँग भनिन्,’ अस्पतालकै वार्डमा जति सक्छौं साथीसँग मिलेर सामान्य रूपले तीज मनाउँछौं।’

बाँकेको कोहलपुर निवासी मधु विगत एक वर्षदेखि भेरी अस्पतालमा कार्यरत छिन्। गत वर्ष पनि कोरोनाबाट आफै संक्रमित हुँदा आफ्नो तीज अस्पतालको वार्डमै बितेको उनी सम्झिन्छिन्। यस वर्ष तीज मनाउने सोच भए पनि पछिल्लो समयमा तीव्र रूपमा बढेको कोरोना संक्रमणले बिरामीको चाप बढेका कारण तीज वार्डमै मनाउने अवस्था आएको उनले बताइन्।

मधुको जस्तै नर्सिङ अधिकृत मौनता अर्यालको पनि तीज यसपटक कोभिड वार्डमै बित्दैछ। चार्डपर्व आए पनि आफ्नो जिम्मेवारीका हिसाबले बिरामीको सेवामै समर्पित हुनुपर्ने अवस्था रहेको उनी बताउँछिन्। ‘चार्डपर्व आउँदा खुसी लाग्ने स्वभाविक कुरा हो, तर कुन कुराले खुसी दिन्छ, त्यो महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘कोभिड वार्डमा धेरैजना संक्रमितले अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ, उहाँहरूको सेवा गर्नु हाम्रो लागि महत्वपूर्ण कुरा हो, बिरामीलाई सञ्चो भयो भने त्यहीअनुसार हामी खुसी र सन्तुष्ट हुन्छौं।’

एकातिर कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ, अर्कोतिर नेपाली महिलाको महान पर्व तीजको रौनकता छाएको छ। महामारी बढिरहँदा पनि सबैको ध्यान तीजले तानेको छ। संक्रमण बढ्दा अस्पतालमा संक्रमित बिरामीको चाप पनि बढिरहेको छ। भेरी अस्पतालको कोभिड वार्ड बिरामीले खचाखच भरिएका छन्। कोरोना संक्रमितको चाप बढेका कारण चार्डपर्वको मुखमा नर्स लगायत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको जिम्मेवारी पनि बढेको हो। अस्पताल प्रशासनका अनुसार भेरी अस्पताले अहिले ४० देखी ४५ जना संक्रमित भर्ना छन्।  

अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ कोभिड संक्रमित बिरामीको संख्या बढेकाले सबै नर्सलाई विदा दिएर तीज मनाउन सम्भव नभएको बताउँछिन्। ‘हामी जहाँ ड्युटी गर्छौ त्यही बसेका कर्मचारीको परिवार जस्तो बनेर रमाउन अथवा फ्रेस हुनका लागि विभन्न कार्यक्रम आयोजना गरी तीज मनाउने पहिलेदेखी कै परम्परा हो,’ उनले भनिन्, ‘चौबिसै घण्टा बिरामीको वरिपरी रहेर वा नजिकमा रहेर सेवा प्रदान गर्नुपर्ने हुनाले त्यहाँ छोड्न नमिल्ने हुँदा वार्डमै यस्ता चार्डपर्व मनाउँदै आएको परम्परालाई निरन्तरता दिएका छौं।’ कोरोना संक्रमण अहिले पनि उत्तिकै जटिल अवस्थामा रहेकाले नर्सको जिम्मेवारी झन् धेरै रहेको श्रेष्ठले बताइन्।

प्रकाशित: २४ भाद्र २०७८ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App