१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमणबाट बालिका सहित दुई जनाको मृत्यु

फाइल तस्बिर

कोभिड–१९ संक्रमणका कारण खोटाङमा २० महिनाको बच्चा र वृद्धको मृत्यु भएको छ। कोभिड संक्रमणका कारण रावाबेँसी गाउँपालिका–२ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो। 

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा बिहिबार बिहान मृत्यु भएको हो। जिल्लामा कोभिड संक्रमणका कारण युवा र वृद्धबृद्धाले मात्र ज्यान गुमाएको अवस्थामा २० महिनाकी बालिकाले पनि ज्यान गुमाउन पुगेकी हुन्। यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।  

बुवाआमालाई संक्रमण पुष्टिभएपछि एन्टीजेन परीक्षण गर्दा बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो। उनका बुवाआमालाई भदौ १२ गते संक्रमण पुष्टि भएको थियो। बालिका मुटुको रोगबाट पिडित रहेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए। हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पु¥याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएका बालिकाको बेलुका मृत्यु भएको हो। मृत्यु भएपछि एन्टीजेन परीक्षण गर्दा मृतक बालिकामा संक्रमण पूष्टि भएको खार्पाका वडाध्यक्ष कालीदास पोखरेलले बताए।  

सो स्थानमा अहिले कोभिड–१९ को संक्रमण दर उच्च रहेको बताईएको छ। यस्तै, भदौ १५ गते अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो। कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको बिहीबार बिहान मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.बैभव मल्लिकले बताए। अस्थायी कोभिड अस्पतालले वृद्धलाई अन्यत्र लैजान रेफर गरेको थियो। अन्यत्र लैजानका लागि गाडी तयार पारिए पनि परिवारले एक रात पर्खने भनेपछि अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। 

प्रकाशित: १७ भाद्र २०७८ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App