७ मंसिर २०८३ सोमबार
image/svg+xml
खेल

युएईमाथिको जितले सेमिफाइनल सम्भावना जीवन्त

एसिया कप राइजिङ स्टार्स

भारत ‘ए’ सँग बिर्सनलायक हारपछि नेपालले जारी एसिया कप राइजिङ स्टार्समा जित रच्दै सेमिफाइनलको सम्भावना जीवन्त राखेको छ।

कतारको दोहोमा आइतबार भएको समूह ‘बी’ को दोस्रो खेलमा बलिङ चम्किएपछि नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ६ विकेटको फराकिलो जित रच्यो। यो जितसँगै चार राष्ट्र सम्मिलित समूहमा शीर्ष दुई स्थानमा रहँदै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना जीवन्त राखेको छ।

जारी एसिया कप राइजिङ स्टार्समा एसोसिएट राष्ट्रबाट राष्ट्रिय टोली र आइसिसीको पूर्ण सदस्य राष्ट्रबाट ‘ए’ टोली खेलेका छन्। भारत ‘ए’ सँग विश्वकीर्तिमानी हार सामना गरेको नेपालले अब समूहको अन्तिम खेल पाकिस्तान ‘ए’ सँग खेल्नेछ। यो खेल मंगलबार हुनेछ।

एसोसिएट प्रतिद्वन्द्वीसँग बलिङ चम्किए पनि नेपालको ब्याटिङ भने राम्रो हुन सकेन तर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले सामान्य लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा उत्कृष्ट बलिङ आधार बन्यो। पहिलो खेलमा नेपालले भारत ‘ए’ सँग ३०६ रनको लज्जास्पद हार बेहोरेको थियो।

उक्त खेलमा नेपाल २६ रनमै पराजित भएको थियो। ५० ओभरको खेलमा यो नै सबैभन्दा कम योगफल हो। खराब कीर्तिमानको हारपछि नेपालले दोस्रो खेलमा भने जित निकालेको छ। अघिल्लो खेलमा ब्याटिङ चल्न नसक्दा विश्व कीर्तिमानी हार बेहोरेको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट बलिङ गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरे।

तीन विकेट लिएका कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेले। जितपछि कप्तान सन्दीप लामिछानेले कुशलको प्रंशसा गरे। ‘आज कुशलले बल र ब्याटबाट उत्कृष्ट क्यारेक्टर देखाए। उनले आक्रामक ब्याटिङ पनि गरे। त्यसअघि राम्रो बलिङ गरेर जितको आधार पनि बनाए। सुरुमै विकेट गए पनि उनले धैर्यता पनि देखाए,’ कुशलको अलराउन्ड प्रदर्शनबारे कप्तान सन्दीपले भने।

कप्तान सन्दीपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। जुन सही साबित भयो। नेपाली बलरले उत्कृष्ट बलिङ गरे र युएई समान्य योगफलमा रोकियो।

युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा युएईले १२२ रनको लक्ष्य दिएको थियो तर नेपालले २२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

‘ब्याटिङ गर्न सहज हुने पिच थियो। युएईले राम्रो अवस्था पनि बनाएको हो। तर हाम्रा बलरहरूले गजबको प्रदर्शन गरे। यो त्यस्तो विकेट थिएन कि विपक्षी १२१ रनको सानो योगफलमै अल आउट होस्। यो राम्रो पिच हो,’ सन्दीपले भने,‘क्रिकेट ब्याट र बलको कथा हो। तपाईले राम्रोसँग कुनै पनि दिनमा योजना लागु गर्नुहुन्छ भने नतिजा पक्षमा जान्छ। एउटा नराम्रो दिनले नेपाली क्रिकेटको समग्र कथा बताउँदैन।’

सन्दीपले अहिले युवा टिम रहेको र उत्कृष्ट खेलाडी नरहेको पनि प्रतिक्रिया दिए।

नेपालको सुरुआत भने निकै खराब रह्यो। ८ रनमै नेपालले २ विकेट गुमाइसकेको थियो। यद्यपि, अर्का ओपनर कुशल र मायन यादवले इनिङ समाल्दै जितको आधार बनाए। यी दुईबीच तेस्रो विकेटका लागि ६१ रनको साझेदारी बन्यो। मायन २८ बलमा २७ रन जोड्दै आउट भए। उनको इनिङमा ४ चौका र १ छक्का रह्यो।

कुशलले ५६ बलमा ५७ रन बनाए। उनी चौथो विकेटका रूपमा आउट हुन पुग्यो। जितका लागि १० रन आवश्यक हुँदा कुशल आउट भए। यसपछि नेपालले थप क्षति बेहोर्नुपरेन। कुशलले ६ चौका र १ छक्का हिर्काए। त्यसअघि चौथो विकेटका लागि कुशलले बसिर अहमदसँग ४३ रनको साझेदारी गरे।

३१ बल खेलेका बसिर १८ रनमा नटआउट रहे। पवन सर्राफले ९ बलमा दुई चौकासहित ९ रनको योगदान गरे। त्यसअघि दोस्रो ओभरको पाँचौं र छैटौं बलमा मुहमद मोहसिनले नेपालका ओपनर अर्जुन कुमाललाई ५ र देव खनाललाई शून्यमा नै पभेलियनको बाटो देखाएका थिए।

युएईको बलिङमा मोहसिनले दुई विकेट लिए। उदिस सुरी र अंश टण्डनले १/१ विकेटमा नाम लेखाए। पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा नै अलआउट हुन पुग्यो। मोहम्मद शाहदादले ४० रन बनाए। यो नै ठूलो व्यक्तिगत स्कोर बन्यो। कुशलले नै साहदादलाई नन्दन यादवबाट क्याच गराएका हुन्।

७० बल खेल्दै उनले ५ चौका हिर्काए। हरप्रित सिंहले ३२ रन जोडे। ४८ बलमा उनले ४ चौका प्रहार गरे। नेपाली बलरले शाहदाद, हरप्रित र नुरुल्लाह अयोबीबाहेक अन्यलाई दोहोरो अंकमा रन जोड्न दिएनन्। नुरुल्लाहले १२ रन बनाए।

कप्तान सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन मात्र दिए। उनी र कुशलले समान तीन विकेट लिए। ललित राजवंशी, नन्दन र रसिद खानले समान विकेट निकाले। कुशलले पनि पाँच ओभरमा दुई मेडन राख्दै १५ रन मात्र खर्चिए।

प्रकाशित: ७ मंसिर २०८३ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App