७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रोल्पा अस्पतालमा शल्यक्रिया सुरु

एक महिनादेखि बन्द रोल्पा अस्पतालको शल्यक्रिया सेवा बुधबारदेखि सुचारु भएको छ। केन्द्र सरकारको सहयोगमा केही वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुति सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएको थियो। शल्यक्रिया सेवा बन्द हुँदा जटिल अवस्थाका प्रसुतिहरुलाई रिफर गर्नु परेको अस्पतालले जनाएको छ।

बुधबार राति डा. प्रकाश बहादुर बुढाको नेतृत्वमा डा. आधार वली, सुनिता तामाङ, निशा सर्मा, तिलकुमारी जिएम लगायतको टोलीले थवाङबाट रिफर भएर आएकि एक महिलाको सफल शल्यक्रिया गरेका थिए। जिल्लामा शल्यकृया बन्द भएको खबर पाए पछि स्थानीयहरु सुत्केरी हुने समय आउन थाल्दा बाहिर जिल्ला जाने गरेका थिए भने स्वास्थ्य संस्थाले पनि अन्य जिल्लामा रिफर गर्नु पर्ने बाध्यता थियो।

मंगलवार निक साइमन्स इन्स्टिच्युटले रोल्पा अस्पतालमा कर्मचारी पठाएपछि सेवा सुरु भएको हो। निक साइमन्स इन्स्टिच्युटले रोल्पामा अबको ५ बर्ष कार्यक्रम संचालन गर्ने छ। बरिष्ठ कार्यक्रम प्रबन्धक डा. मोहमद काशिम शाहका अनुसार स्वास्थ्य मन्त्रालय संगको सहकार्यमा लुम्बीनि प्रदेशका सबै जिल्ला स्तरका अस्पतालमा निक साइमन्सले काम सुरु गरेको छ।  

‘रोल्पा र पूर्वी रुकुममा हामीले सहयोग गर्न पाएका थिएनौँ। यो आर्थिक बर्षबाट काम सुरु गरेका छौँ। सरकारी जिल्ला स्तरको अस्पतालले दिने सेवा प्रवाह गर्न हामिले काम गरिरहेका छौँ।’  उनले भने ‘केही नीतिगत समस्याले ढिलाई भएको हो। एमडिजिपि चिकित्सक पनि चाँडै नै पठाउने छौँ।’  

डा.शाहका अनुसार निक साइमन्सले अस्पतालमा जनशक्ति सहयोग, स्वास्थ्य सामाग्री, सेवा बृद्धिका लागि क्लीनिकल तालिम र स्वास्थ्यकर्मीलाईआवासमा सहयोग गर्ने छ। उनका अनुसार छिमेकी जिल्ला प्युठानमा यो बर्ष देखि ८ जना कन्सल्टेन्ट डाक्टर सहितको २० जनाको टोलीले सेवा सुरु गरेको छ। 

प्रकाशित: ३ भाद्र २०७८ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App