८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

संक्रमण दर बढेपछि नगरपालिका पुन: सिल

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय। तस्बिर: दमन राई/नागरिक

दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १० दिनका लागि सिल गरिएको छ। दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको हो।

नगरपालिकाभित्र कोभिड–१९ को संक्रमण दर उच्च देखिएको तथा उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको भन्दै साउन २७ गतेको बैठकको निर्णय अनुसार नगरपालिकालाई १० दिनका लागि सिल गरिएको मेयर दिपनारायण रिजालले बताए। सिल गरिएको अवधिमा हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन ठप्प बनाइने नगरपालिकाले जनाएको छ। पछिल्लो समय दिक्तेलबजारमा संक्रमण दर अधिक देखिएको छ।

कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसल लगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्ने बाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ। यस्तै, नगरपालिकाभित्रका सरकारी तथा गैर–सरकारी, संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयको सेवा स्थगन गर्ने, नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पुजा लगायतका भिडभाड हुने सबै क्षेत्र बन्द गर्ने, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पुर्वस्वीकृति लिएर आउने नगरबासीले अनिवार्य १५ दिन होम क्वारेन्टीनमा बस्नुपर्ने निर्णय गरिएको छ।  

कोभिड अस्पतालले रेफर गरेका विरामीलाई मात्र नगरपालिकाले रेफर गरेको अस्पतालमा गाडीमार्फत पु¥याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, मास्क र सेनिटाइजर प्रयोग गरी सामाजिक दुरी जस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने/गराउने मेयर रिजालले बताए।  

संक्रमितको मृत्यु भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई गत जेठ ७ गतेदेखि केही समय सिल गरिएको थियो। यसअघिका सिलमा अवधिमा बैंक तथा वित्तिय संस्था र कतिपय सरकारी कार्यालयको सेवा प्रवाहलाई छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो। नगरपालिकामा ४ हजार ८८० जनाको एन्टिजेन र २३३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २३७ जनालाई संक्रमण पूष्टि भइसकेको छ।

प्रकाशित: १ भाद्र २०७८ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App