२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

८१ वर्षीया नेत्रकुमारी खाँड आइतबार पोखरा–१० रामबजारको खोप केन्द्रमा कोरोनाविरुद्ध दोस्रो खेपको खोप लगाउन आएकी थिइन। यसअघि उनले कोरोनाविरुद्ध कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकी थिइन्। लामो समयको अन्तराल र अन्योलबीच दोस्रो मात्रा खोप लगाउन पाउँदा उनी खुसी थिइन्। 

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन्।

अरू उमेर समूहका नागरिकले यसअघि नै दुई डोज खोप लगाएको भए पनि ६५ वर्ष उमेरमाथिको समूहले भने कोभिसिल्डको पहिलो खेपको खोप मात्रा पाएको थियो। कोभिसिल्डको दोस्रो डोज नआएपछि ज्येष्ठ नागरिकको खोप अभियान रोकिएको थियो। अहिले एस्ट्राजेनिका खोप आएपछि बल्ल ज्येष्ठ नागरिकले दोस्रो खेप पाएका छन्।  

‘पहिलो खोप लगाएकाले पनि हुनसक्छ, यसबीचमा केही समस्या भएन,’ खाँडले भनिन्, ‘अब त अलि सुरक्षित भइन्छ कि झैँ लागेको छ। यसबीचमा भगवानले बचाएकै हुन् ।’ कोरोनाका कारण धेरै मुलुकमा वृद्धवृद्धा अप्ठेरोमा परेकोमा उनलाई चिन्ता थियो। ‘अब त केही सजिलो हुन्छ कि ? अघिल्लोपटक खोप लगाउँदा पनि मलाई कुनै अप्ठेरो भएन। योपटक पनि केही समस्या नहोला,’ खाँडको भनाइ थियो, ‘अब त थप केही समय बाँचिएला ।’

पोखरा महानगरमा आइतबारदेखि कोरोनाविरुद्धको एस्ट्राजेनेकाको खोप लगाउन थालिएको थियो। महानगरभित्र मात्र ४९ वटा खोप केन्द्रबाट ज्येष्ठ नागरिकलाई खोप दिइएको छ। त्यसबाहेक प्रदेशका सबैजसो जिल्लामा ज्येष्ठ नागरिकका लागि खोप पुर्‍याइएको छ। ज्येष्ठ नागरिकलाई खोप दिने बेलामा भने अरू बेलाभन्दा केही सहज बनाइएको थियो। वृद्धवृद्धा भएकोले उनीहरू लामो समय उभिन नसक्ने भएकोले कतिपय खोप केन्द्रमा बस्ने व्यवस्था समेत मिलाइएको थियो।  

पोखरा महानगरपालिका–१० का वडासदस्य दीपक थापाले सबै जेष्ठ नागरिकलाई कुर्सीमा राखेर पालैपालो खोप लगाउने व्यवस्था मिलाएको बताए। अन्यत्र खोप लगाउने क्रममा कोरोना संक्रमण बढेको भन्ने गुनासो आउन थालेपछि वृद्धवृद्धालाई थप जोखिम नहोस भनेर सचेत बन्दै भीडभाड नहुने गरि खोप लगाइएको उनले बताए ।

‘पछिल्लोसमय खोप केन्द्र नै कोरोनाको हटस्पट बन्न थालेको सुनिएको छ। खोपकेन्द्रको भीडभाडले गर्दा ज्येष्ठ नागरिक झनै असुरक्षित भएको अनुमान छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई असुरक्षित नहोस् भनेर पनि हामीले सचेतना अपनाउनु पर्नेछ।’ बस्ने व्यवस्थाबाहेक खोप लगाउन पुगेका र गाडीबाट आर्लिन पनि नसक्नेलाई गाडीभित्रै गएर स्वास्थ्यकर्मीले खोप लगाइदिएका थिए ।

प्रदेशका कोल्ड चेन अफिसर भीमलाल सुवेदीका अनुसार एस्ट्राजेनेकाको एक लाख ५२ हजार डोज खोप आएको छ। विभिन्न जिल्लामा त्यहाँका वृद्धवृद्धाको संख्या अनुसार खोप वितरण गरिएको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम संख्यामा यो खोप लगाउनुपर्ने नागरिक छन्। उनका अनुसार यो खोप बचेको खण्डमा मात्र परीक्षा दिने विद्यार्थीले पाउनेछन्।

प्रकाशित: ३२ श्रावण २०७८ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App