१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

बाजुरामा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिका कोरोना संक्रमणसँग लक्षण मिल्ने ज्वरो र निमोनियाबाट बिरामी परेका छन्। पाँच वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। ज्वरो, निमोनिया र पखाला लाग्ने समस्याका कारण ३७ जना बालबालिका जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। 

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो। अस्पताल भर्नामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने ६ जनाको उपचार भइरहेको छ। एकजनालाई थप उपचारका लागि रिफर गरिएको छ। उपचाररत २ जना गम्भीर अवस्थामा रहेको जानकारी जोशीले दिए।  

भर्ना भएका धेरैजसो बालबालिकामा ज्वरो, निमोनिया, श्वाप्रश्वास र पखालाको संक्रमण देखिएको अस्पतालले जनाएको छ। उपचारका क्रममा केहीलाई अक्सिजनसमेत दिनुपरेको अस्पतालको भनाइ छ। रोगको पहिचान हुन सकेको छैन । मौसमी संक्रमण हो वा भाइरल ज्वरो हो भन्ने थाहा पाउन रगतको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ। बालबालिकाको एन्टिजेन जाँच गर्दा कोरोना नेगेटिभ देखाए पनि ज्वरोको संक्रमणका कारणमात्र यस्तो भएको हो भन्ने अवस्था नरहेको अस्पतालका सूचना अधिकारी नृप गिरीले बताए।

स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुन सक्ने अनुमानसहित थप जाँच आवश्यक देखिएको बताएका छन्। बिरामी भएका धेरैजसोमा एकै प्रकारको समस्या देखिनु सामान्य नभएकाले अस्पताले अभिभावकलाई ध्यान दिन आग्रह गरेको छ। बिरामीको लक्षण देखिएलगत्तै उपचारका लागि अस्पताल ल्याउन, खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाएका छन्।

छोटो समयमा धेरै बालबालिका बिरामी परेको सम्भावित जोखिम आउन नदिन पूर्वतयारीबारे अस्पताल प्रशासनले पत्रकारसँग पनि छलफल गरेको छ। अस्पतालले सञ्चारमाध्यमहरूलाई सचेतना सन्देश प्रसारण र प्रकाशन गर्न, परिवार र अभिभावकलाई जिम्मेवार बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: २९ श्रावण २०७८ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App