८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बाँकेमा रोकिएन कोरोना संक्रमण, थप दुई संक्रमितको मृत्यु

कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा मृत्यु हुने क्रम अझै रोकिएको छैन। यहाँका अस्पतालमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ। यसैक्रममा कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेका पुरुष र महिलाको मृत्यु भएको हो। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके र कैलालीका हुन्।  

कैलाली टिकापुर नगरपालिका वडा नम्बर ८ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान ४ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही साउन २० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पताल भर्ना भएकी थिईन्। स्वास्थ्यमा कुनै सुधार नआएपछि उनको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

यस्तै बाँके, कोहलपुर नगरपालिका वडा नम्बर ८ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भेरी अस्पतालमा यही साउन २२ गते भर्ना भएका उनलाई भोलीपल्ट पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको बिहीबार राती साढे १ बजेतिर मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३ सय ८७ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए।  

बाँकेमा कोरोना संक्रमणको दर पछिल्लो समयमा बढ्दै गएको छ। भेरी अस्पतालमा संक्रमितको चाप बढ्दै गएको हो। संक्रमण बढेपनि बजार, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, रेष्टुरेन्टलगायतका स्थानमा भने भिडभाड कायमै रहेको छ। कोरोनाबाट सचेत रहन बाँके प्रशासनले आग्रह गरिरहँदा पनि सर्बसाधारण नागरिक मास्क र स्यानिटाइजर विना हिडिरहेका छन्।  

प्रकाशित: २९ श्रावण २०७८ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App