१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोप लगाए पनि हुन्छ संक्रमण

कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोभिड १९ उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि संक्रमित भएर दैनिक २ देखि ३ जना यो अस्पतालमा आउने गरेका छन्। दुवै डोज खोप लिएर पनि जटिल समस्या देखिएका दुईचारजना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले बताए। चिकित्सकका अनुसार खोप लगाएर एन्टिबडी बनिनसकेकाहरू पुनः संक्रमित भएर उपचारमा आएका छन्।  

पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर आउने धेरै रहेको अस्पतालले जनाएका छन्। चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ। तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन्। दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ। खोप लिएर शरीरमा कोभिड १९ विरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन्। एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन। तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ।  

नेपालमा अहिले पनि सबै व्यक्तिले खोप नलिइसकेको अवस्था रहेकाले खोप लिएका व्यक्तिहरूले अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम गर्ने र हातको सफाइ गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्र्नुपर्ने डा. पुन बताउँछन्। परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले कुनै पनि खोपले सय प्रतिशत शरीरमा काम गर्ने सुनिश्चितता नहुने भएकोले कोभिड १९ विरुद्धको खोप लिए पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर सुरक्षित रहन सुझाए। ‘अहिले हामीले प्रयोग गरेको खोपले सबैको शरीरमा काम नगर्ने हुन सक्छ। भाइरसको रूप परिवर्तन भएर आउँदा खोपले काम नगर्ने पनि हुन सक्छ। यो अवस्थामा खोप लिएकाहरूले खोपले काम गरेको छ कि छैन भनेर एन्टिबडी परीक्षण गर्ने एउटा उपाय हुन सक्छ। तर नयाँ भाइरसको हकमा खोपले काम गर्ने सुनिश्चित नभएकाले सुरक्षित रूपमा दैनिकी चलाउनु नै उत्तम उपाय हो’, डा. गौतमको सुझाव छ।  

संक्रमणदर २३ प्रतिशत  

गत २४ घण्टामा पिसिआर परीक्षण भएका मध्ये २३ प्रतिशतमा संक्रमण देखिएको छ। परीक्षण भएका १० हजार ९ सय ७ नमुनामध्ये २ हजार ६ सय १६ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन विधिसमेत गरेर १६ हजार ६ सय ६५ वटा नमुनाको परीक्षण गरिएकोमा ३ हजार ४ सय ८१ जना अर्थात् २० प्रतिशतमा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ३ सय ९१ पुगेको छ।

निषेधाज्ञा खुकोलो भएपछि दैनिक बढ्दो संक्रमणका कारण नेपालमा हाल ३८ हजार ३३ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसन र ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा छन्।

गत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यीसहित नेपालमा १० हजार १ सय ८० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। गत २४ घण्टामा काठमाडौ उपत्यकामा ९ सय ६४ जना नयाँ संक्रमित भेटिएका छन्। बितेको एक सातामा नेपालमा कोरोनाका कारण २ सय २३ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ४ सय ६९ जना संक्रमित थपिएका छन्।  

विश्वविद्यालयका विद्यार्थीलाई खोप  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय गरेको छ। मन्त्रालयको बुधबारको निर्णयअनुसार यी विद्यार्थीलाई अस्ट्राजेनेका र भेरोसेलको खोप पहिलो मात्रा दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App