डोल्पाको माथिल्लो क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनीको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ ।
शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
कारबाहीमा परेका भारतीय पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला त्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रतिकूल मौसमका कारण माथिल्लो डोल्पामा हिमपात र जोखिमपूर्ण अवस्था आउन सक्ने भन्दै यसअघि नै सूचना जारी गरी पर्यटकलाई सचेत गराएको थियो । तर, उक्त सूचना र चेतावनीको बेवास्ता गर्दै आवश्यक अनुमति नलिई यात्रा गर्दा उनीहरू हिमपातमा फसेका थिए ।
गत कात्तिक १४ गतेदेखि हिमपातका कारण सम्पर्कविहीन भएका उनीहरूको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरेको थियो । मौसम प्रतिकूलता र हेलिकोप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो ।
सोमबार बिहान हेलिकोप्टरमार्फत उनीहरूको सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ ।
प्रतिकूल मौसमको पूर्वसूचना र प्रशासनको चेतावनीलाई बेवास्ता गरी अनुमति नलिई जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्दा पर्यटक स्वयंको ज्यान जोखिममा पर्ने मात्र नभई उद्धारमा समेत कठिनाइ हुने गरेको छ । डोल्पा प्रशासनले पर्यटकीय क्षेत्रमा भ्रमण गर्दा आवश्यक अनुमति लिन र मौसमको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।
प्रकाशित: १६ कार्तिक २०८३ २१:५७ सोमबार





