coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मानसिक स्वास्थ्यः नजर नपुगेको समस्या

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जादा भाईरल ज्वरोका बिरामीको चापले रोल्पा अस्पताल भरिन थालेको छ। आज पनि १५ शैयाको मात्र क्षमता रहेको जिल्ला कै एक मात्र अस्पतालमा हरेक कुराको अभाव रहेको छ। 

कोरोना कहरको आतंकले आम नागरिकमा त्रास फैलिएको लामो समय पुगिरहँदा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन्। मानसिक स्वास्थ्यका सवालमा कोहि कसैको नजर पुगेको देखिँदैन।

अहिले अस्पतालमा आउने अधिकांश बिरामीहरु शारीरिक रोगभन्दा पनि मानसिक समस्या लिएर आउने गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार बिरामी शारीरिक समस्या भनेर आउँछन् तर उनीहरुमा बिरामी नभई मानसिक तनाव वा त्रासले घर बनाएको हुन्छ। रेडियो, टिभीमा दैनिक देखिने तथा सुनिने कोभिडका समाचारले आम नागरिकका मनमा चिन्ता र डर थप्दै लगेको हो।  

दैनिक अस्पतालको दैलोमा आउने दर्जनौ बिरामीहरुलाई यतिबेला मनोबिमर्श सेवाको आवश्यक्ता रहेको छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवा प्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोबिमर्शकर्ता छैनन्। अखबार, रेडियो, टिभीले पनि भय र त्रासका खबर बढी प्रस्तुत गरिदिनाले सर्वसाधारणहरु थप चिन्तामा पर्ने गरेका हुन्।

‘कोभिड निको भएकाहरु सामान्य समस्यामा पनि सन्चै भएन भनेर आउँछन्। पोष्ट कोभिड ट्रमा पनि सुरु भएको छ।’ रोल्पा अस्पतालकी डा. प्रतिभा सुवेदी भन्छिन्, ‘ब्यक्तिहरुले मानसिक समस्या बोक्न थालिसकेका छन्। सामान्य रुघाखोकी र ज्वरो आउने बित्तिकै कोरोना लाग्यो भन्दै अस्पताल आउनेहरु पनि प्रशस्तै छन्।’ उनका अनुसार यतिबेला ब्यक्तिलाई काउन्सिलिङ सेवाको आवश्यक्ता बढी छ।  

जनमानसमा कोरोनाका यथार्थ र भ्रमका बारेमा गतिलो सूचना प्रवाह गर्न नसक्दा पनि समस्या थपिएको चिकित्सकहरु बताउँछन्। स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकाय र तीन तहका सरकार मानसिक स्वास्थ्यका सवालमा अनभिज्ञ छन् अथवा चासो दिएका छैनन् भन्ने अन्यौल छ। त्यसो त दैनिक खबर प्रकाशन/प्रशारण गर्ने राष्ट्रिय र स्थानीय संचार माध्यमहरुले पनि कोरोनाका बारेमा चेतनामुलक गतिला सामग्री पस्कने गरेको पाइँदैन।  

मरिन्छकी भनेर डराउने, तनाव, आत्तिने, छटपटी, निद्रा नलाग्ने, खाना मन नलाग्ने, अपहेलनामा परिन्छ कि भन्ने त्रास लगायतका समस्याले जेलिएका मानिसहरुलाई समय मै गतिलो सूचना र मनोबिमर्श सेवा प्रदान गर्न सरोकारवाला चनाखो हुनु पर्ने देखिन्छ। रोल्पा अस्पतालमा देखिएका जस्तै समस्या देशै भरिका स्वास्थ्य सस्थामा भरपुर छ तर चिकित्सकहरु अनेकन स्वार्थका कारण पनि मानसिक समस्याका विषयमा बोल्ने गरेका छैनन्।  

समय मै समस्या व्यवस्थापन गर्न सकिएन र व्यक्तिले लामो समयसम्म मानसिक समस्या झेलिरहनु पर्ने अवस्था आयो भने गम्भीर दुर्घटना हुने खतरा बढ्ने देखिन्छ। तर राज्यका जिम्मेवार अंगले जिम्मेवारी बोध नगरिदिँदा जहिले समयमै समस्या समाधान हुँदैन। 

एक स्वास्थ्यकर्मीका अनुसार स्थानीय सरकारहरुलाई मानसिक स्वास्थ्य समस्या हो भन्ने जानकारी नै छैन। जनप्रतिनिधिहरु स्वास्थ्यका विषयमा कत्तिपनि संवेदनशिल छैनन्।

प्रकाशित: २६ श्रावण २०७८ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App