७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतमा रहेका नेपालीलाई कोभिड खोप दिइने

नेपाली नागरिकले पनि परिचयपत्रको आधारमा भारतमा कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्। भारतको केन्द्र सरकारको निर्देशनमा सबै राज्य सरकारले जिल्लाका सरकारी अस्पतालका अधिकारीलाई नेपाली नागरिकलाई पनि कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्न निर्देशन दिएको हो। नेपाली नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाएर अब नेपाली नागरिकले त्यहाँका खोप केन्द्रमा खोप लिन पाउने भनी रक्सोलस्थित एक स्वास्थ्य अधिकारीले नागरिकलाई बताए।

‘छिमेकी मित्र राष्ट्रका नागरिकले आफ्नो नागरिकता, पासपोर्ट वा अन्य आधिकारिक परिचयपत्र देखाएर खोप लिन पाउनेछन्,’ उनले भने, ‘यसका लागि अलग्गै व्यवस्था गरिएको छैन, जसरी भारतीय नागरिकले खोप पाउने गरेका छन् त्यसरी नै नेपाली नागरिकलाई पनि उपलब्ध हुनेछ। हो, उमेर पूरा भएको कुरा प्रमाणपत्रले खुल्नुपर्छ, १८ वर्ष पूरा गर्ने उमेर समूहलाई खोप दिइने गरिएको छ।’ भारतीय पत्रकार अमरेन्द्र कुमारका अनुसार अवैधानिक माध्यमले नेपालका मानिसलाई खोप लगाउने गरिएको कुरा उठ्न थालेको थियो, अब वैधानिक रूपमै नेपालीका लागि कोरोनाविरुद्धको खोपका लागि भारतमा बाटो खुलेको छ।

उनले यसलाई भारत सरकारको स्वागतयोग्य निर्णय बताएका छन्। ‘खुसीको कुरा हो र नेपाल–भारतको सम्बन्ध अनुपम रहेको छ भन्ने यसले थप पुष्टि गरेको छ,’ अमरेन्द्रले भनेका छन्। भारतीय सरकारी अस्पतालहरू मातहतमा त्यहाँ विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्ध लगाइने खोपका लागि खोपकेन्द्रहरू सञ्चालित छन्। भारतमा प्रवासमा, रोजगारी, पढाइ, उपचार वा भ्रमणको क्रममा रहेका नेपाली नागरिकलाई यसबाट प्रत्यक्ष लाभ हुनेछ। त्यस्तै भारत सरकारको यस निर्णयपछि खोप पाउनबाट वञ्चित रहेका नेपाली नागरिकलाई पनि भारत गएको बेला खोप लिन भारत सरकारको तर्फबाट रोक हुनेछैन।

केन्द्र सरकारको परिपत्रलाई उद्धृत गर्दै राज्य प्रतिरक्षण पदाधिकारीसमेत रहेका बिहार राज्य स्वास्थ्य समितिका उच्च निर्देशक नरेन्द्र कुमारले मातहका एकाइहरूलाई यस सम्बन्धमा शुक्रबार एउटा निर्देशन जारी गरेपछि समाचार प्रकाशमा आएको हो। पत्रको बुँदा १ मा उमेर खुल्ने र फोटोयुक्त परिचयपत्रको आधारमा खोप उपलब्ध गराउन भनिएको छ । त्यस्तै बुँदा २ मा भारतमा रोजगारीका लागि धेरै नेपाली रहदै आएको बताइएको छ। बुँदा ३ मा नेपाली नागरिकलाई पनि खोप उपलब्ध गराउन आग्रह गरिएको छ, जसमा कुनै विशेष सर्त उल्लेख गएिको छैन।

प्रकाशित: १२ श्रावण २०७८ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App