८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पूर्वाधारले भरिँदै भेरी अस्पताल

भेरी अस्पतालको निर्माणाधीन भवनको डिजाईन नक्सा। स्रोत : भेरी अस्पाल नेपालगन्ज

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ। अस्पतालको २ सय ४० बेड क्षमताको भवन निर्माणको काम अहिले चलिरहेको छ। शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेको उक्त भवनको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भईसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई नेपालगन्जका इन्जिनियर विजयकेशर खनालले जानकारी दिए।  

उनका अनुसार २०७६ जेठमा मूल्य अभिवृद्धि कर(भ्याट)बाहेक ३२ करोड ३१ लाख रुपैयाँको लागतमा प्रेरा सि.ए.बि. भिमेश्वर जेभीले ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो। उक्त भवन लिफ्टसहित पाँच तले रहेको छ। ‘भवनको कन्स्ट्रक्सन सम्बन्धी काम सबै सम्पन्न भईसकेको छ, अब फिनिसिङ गर्ने काम मात्र भइरहेको छ,’ उनले भने। सम्झौता अनुसार भवन निर्माणको काम आगामी मंसिर मसान्तभित्र ठेकेदारले सम्पन्न गरिसक्नुपर्नेछ। इन्जिनियर खनालले थपे, ‘कोभिडको पहिलो र दोस्रो लहरले भवन निर्माणको कामलाई केही असर गर्यो, तरपनि मंसिरभित्रमा काम सम्पन्न गर्ने ठेकेदारको कोशिस छ।’

विभागले भवन निर्माणको काम सम्पन्न भएपछि अस्पताललाई हस्तान्तरण गर्नेछ। उक्त भवनमा २ सय ४० बेडको वार्डसहित इमेरजेन्सी, डायलासिस, आईसियु, सिसियु, प्रशासनिक कक्ष पनि सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले बताए। अस्पतालले अहिलेसम्म पुरानो भवनबाट कोभिड वार्डसहित ३ सय क्षमताको बेड सञ्चालन गरिरहेको उनले जनाए।  

अर्को नयाँ भवनको डिपिआर तयार

प्रस्ताव गरिएको अर्को नयाँ भवनको नक्सा । स्रोत : भेरी अस्पाल नेपालगन्ज

अस्पतालको सुविधायुक्त भवन निर्माणको काम चलिरहेका बेला अर्को नयाँ भवन निमार्ण गर्न पनि प्रस्ताव अगाडी बढाइएको उनले बताए। ‘अस्पतालका लागि अर्को २ सय ६० बेड क्षमताको भवन बनाउन डिपिआर तयार भईसकेको छ,’ डा. थापाले भने, ‘डिपिआरसहित आवश्यक बजेट विनियोजन गरिदिन प्रस्ताव अगाडी बढाएका छौं।’ नयाँ प्रस्ताव गरिएको अर्को नयाँ भवनमा २ सय ६० बेड क्षमताको वार्डसहित, अण्डर ग्राउण्ड पार्किङ, ओपिडी लगायत अन्य कक्ष राखिने सुनाए। उक्त भवन ७ तले बनाइनेछ।  

अस्पताल परिसरमै डाक्टर र अस्पताल कर्मचारी निवास, पोष्टमार्टम भवन निर्माण गर्न प्रस्ताव गरिएको मेसु डा. थापाले बताए। निर्माणाधीन र प्रस्ताव गरिएको भवन पश्चात अस्पतालको क्षमता ५ सय बेड पुग्ने स्पष्ट पारे। सरकारले गतवर्ष नै भेरी अस्पताललाई ५ सय बेडमा विस्तार गर्न अनुमति दिईसकेको स्मरण गर्दै उनले भने, ‘सरकारले हामीलाई ५ सय बेड क्षमताको चलाउन अनुमति दिइसकेको हो, यि दुबै भवन बनेपछि हामीलाई अब समस्या हुँदैन, अस्पतालको स्तरवृद्धिसँगै आवश्यक पर्ने जनशक्ति र उपकरण पनि थपिनेछन्।’

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पताल भवन निर्माणले यस क्षेत्रको स्वास्थ्यमा थप सुधार हुने आशा गरेका छन्। ‘एउटा भवन निर्माणको काम भइरहेको छ, अर्को भवन निर्माण गर्न डिपिआर तयार भइसकेको छ, सरकारले दोस्रो भवनको लागि पनि चाडै बजेट विनियोजन गरिदिनुपर्यो।’ सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा घोषणा गरेपछि पूर्वाधार बन्न लागेको श्रेष्ठ बताउँछन्। 

पश्चिम नेपालका झण्डै २५ जिल्लाका नागरिकको उपचार गर्न भेरी अस्पताल भरपर्दो केन्द्र बन्दै गएकाले सरकारले यसलाई विशेष प्राथमिकता दिनुपर्ने उनको आग्रह छ।

प्रकाशित: ८ श्रावण २०७८ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App