coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

कोभिड अस्पतालमा निको भएकालाई बिदाई गरिदै। तस्बिर: महेश्वर

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

बजारक्षेत्रमा संक्रमण घट्दै गए पनि गाउँघरतिर परीक्षण गर्दा संक्रमण घट्नुको साटो बढेको पाइएपछि निषेधाज्ञा थप कडाई गर्ने निर्णय गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार  सातादिनयता कोभिडको लक्षण देखिएका नगरका गाउँ केन्द्रित परीक्षणमा संक्रमण देखिन नछाडेपछि  निषेधाज्ञालाई नगरक्षेत्रमा कडाई गर्ने निर्णय गरिएको हो।

जस अनुसार आईतबारको नगर कार्यपालिका बैठकले नगरक्षेत्रमा आउजाउ ठप्प पारिएको छ। अत्यावश्यक कामबाहेक हिडडुल र सवारी आवागमन निशेध गरिएको छ भने खाद्यान्न र औषधि पसलबाहेक बजार पसल बन्द गरिएको छ। बैंक तथा बित्तीय संस्थाहरुमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सतर्कता मापदण्ड पुरा गरेर मात्र खुल्न दिने निर्णय भएको छ। जिल्ला प्रशासनले असार पहिलो सातायता निषेधाज्ञा केही खुकुलो बनाउँदै लगेकोमा चौदण्डीगढी नगरक्षेत्रमा भने संक्रमण दर बढ्ने दर कायमै रहेकाले कडाई गरिएको मेयर राईले बताए।  

आईतबार मात्र चौदण्डीगढी ६ सातधारेस्थित उदयपुर कोभिड अस्पतालमा ८ महिलासहित ३७ जनाको एन्टीजेन परीक्षण गर्दा ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ महिलासहित १२ जनालाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु भएको छ भने ४ पुरुष होम आईसोलेसनमा बसेका छन्।  

कोभिड अस्पतालका फोकलपर्सन तेजबहादुर पोखरेलका अनुसार आईतबारै अस्पताल आईसोलेसनमा उपचाररत २० महिलासहित ४६ जनाको स्वास्थ्य परीक्षण गर्दा ३ महिलासहित ६ जना निको भएका छन्। हाल अस्पताल आईसोलेसनमा ३२ महिलासहित ७२ जनाको उपचार भईरहेको पोखरेलले बताएका छन्।  

आईतबारको कोभिड बिबरण अनुसार २४ घण्टामा उदयपुरमा १७ संक्रमित थपिदा २९ जना निको भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। जसमा ७ महिला छन् भने बाँकी पुरुष। सदरमुकाम त्रियुगा नगरपालिकामा ५, चौदण्डीगढीमा ३ र ताप्ली गाउँपालिकामा १ जना नयाँ संक्रमित देखिदा १६ महिलासहित २९ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ।  हाल जिल्लामा हाल ४ सय ३६ संक्रमित उपचारको क्रममा रहेका छन्। 

जसमा महिला २ सय १६ छन्। अहिलेसम्म जिल्लामा निको हुनेको संख्या १ हजार ७ सय ५९ पुगेको छ। जसमा महिला ७ सय ८६ जना छन्। निको हुनेमा त्रियुगाका ३ सय ४३ महिलासहित ७ सय ८६, कटारीका ६६ महिलासहित १ सय ६०, बेलकाका १ सय १९ महिलासहित २ सय ३४ र चौदण्डीगढीका १ सय ३५ महिलासहित २ सय ८४ जना निको भईसकेका छन्। त्यस्तै रौतामाईका ३४ महिलासहित ९२, उदयपुरगढीका २० महिलासहित ५३, लिमचुङबुङका ४८ महिलासहित ९७ र ताप्लीका २१ महिलासहित ५३ जना निको भईसकेको स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलले बताएका छन्।  

त्यस्तै उपचार भईरहेकाहरु त्रियुगाका ४४ महिलासहित १ सय ८, कटारीका ११ महिलासहित ३१, बेलकाका ६२ महिलासहित १ सय ९ जना छन्। चौदण्डीगढीका सबभन्दा बढी ८४ महिलासहित १ सय ४३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्यले जनाएको छ। ताप्ली गाउँपालिकाका १२ महिलासहित २९, लिमचुङबुङका ३ महिलासहित १४ र उदयपरगढी तथा रौतामाईका क्रमशः १–१ जना संक्रमित उपचाररत रहेका छन्।

प्रकाशित: १४ असार २०७८ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App