१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन प्लान्ट अझै अनिश्चित

दोस्रो लहरको कोभिड–१९ महामारीका बेला अक्सिजन प्लान्ट जडान गर्न पूर्वीपहाडी जिल्लालाई बजेट छुट्टिएपनि कार्यान्वयन अनिश्चित बनेको छ। प्लान्टका लागि दररेट नै पेश हुन नसक्दा खरिदप्रक्रिया अघि बढ्न नसकेको हो ।  

कोरोना फैलिने दर उच्च रहेपनि प्लान्ट स्थापना हुन नसक्दा बिरामीलाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन समस्या पर्ने देखिएको छ। नागरिकको दबाबपछि आर्थिक वर्षको अन्त्यमा संघीय सरकारले अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो । बजेट छुट्टिएसँगै त्यसको प्रचार गरी ‘जस’ लिन राजनीतिक दलका नेता–कार्यकर्ताको ‘होडबाजी’ चलेको थियो। तर, असारको १० गते बित्दासम्म खरिदप्रक्रिया नै अघि बढ्न नसकेपछि अत्यावश्यक भएका बेला नै प्लान्ट स्थापना हुने सपना अधुरै रहने देखिएको छ।

गत जेठ १० मा अर्थ मन्त्रालयले इलाम अस्पतालसहित देशका ११ स्थानमा अक्सिजन प्लान्ट स्थापना गर्न ७५ लाख रुपैयाँका दरले बजेटको सहमति दियो। माग अक्सिजन प्लान्टको भएपनि सुरुमा अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा ‘अक्सिजन ट्यांक’ नाम राखिदियो। मन्त्रालयलदेखि प्रदेश हुँदै सम्बन्धित अस्पतालसम्म त्यहीअनुसारको परिपत्र गरियो । अस्पतालहरूले अक्सिजन ट्यांक नभई प्लान्ट चाहिँ आवश्यक भएको पत्र लेखे। पुनः माथिबाटै त्यसलाई सच्याएर ल्याउँदा केही साता बिते।

प्लान्टका लागि अस्पतालहरूले १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्पेसिफिकेसन र दररेट माग गरे। तर, स्पेसिफिकेसन नै नआउँदा खरिदप्रक्रिया अघि बढ्न सकेको छैन। कतैबाट स्पेसिफिकेसन र दररेट उपलब्ध नभएकाले प्लान्ट खरिदप्रक्रिया अघि बढ्न नसकेको भन्दै इलाम अस्पतालले जेठ ३१ मा मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयलाई पत्र पठाएको छ। तर, त्यसयता पनि उपयुक्त खालको दररेट आउन नसकेको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले बताए। ‘स्पेसिफिकेसन नै नआएकाले आजको दिनसम्म खरिदप्रक्रिया अड्किएको छ,’ उनले भने, ‘स्पेसिफिकेसन र दररेटको पर्खाइमै छौं।’  

आफूहरूले निजी क्षेत्रबाट अनौपचारिक हिसाबले पनि दररेट मगाएर केही सप्लायर्सलाई पत्र लेख्दा विनियोजित बजेटले भ्याउनेखालको दररेट उपलब्ध नभएको उनले बताए। अस्पतालले साई ट्रेडर्स, नेसनल बायोमेडिकल सप्लायर्स, एमएस बायोमेड ट्रेडर्स, हेल्थकेयर सप्लायर्स र डाइग्नोकेम इन्टरनेसनलसँग दररेट मागेको थियो । यीमध्ये २ सप्लायर्सले दररेट उपलब्ध गराएपनि ७५ लाख रुपैयाँभन्दा माथिका मात्रै छन्।  

अक्सिजन प्लान्टका लागि एक भारतीय सप्लायर्स कम्पनीले ७९ हजार भारतीय रुपैयाँ (१ करोड २६ लाख) तथा अर्काेले ८० लाख रुपैयाँको दररेट पठाएको अस्पतालले जनाएको छ । ‘तर, यी दुवै दररेट हामीलाई उपलब्ध बजेटले भ्याउँदैन,’ व्यवस्थापक खतिवडाले भने, ‘सामाजिक विकास मन्त्रालयमै स्पेसिफिकेसनका लागि पहल गरिरहेकै छौं ।’  चालू वर्षभित्र अक्सिजन प्लान्ट खरिदको प्रक्रिया नै अघि बढ्न नसक्दा छुट्टिइसकेको बजेट नै के हुने भन्ने निश्चित छैन। इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमसमेतका जिल्लालाई लक्षित गरी अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयास गरिएपनि स्पेसिफिकेसन नभएकै कारण अड्किने सम्भावना देखिएको हो।  

कोरोना संक्रमणको दर बढेपछि जिल्लाबासीले अस्पतालको उपकरण र जनशक्ति व्यवस्थापनका लागि चौतर्फी दबाब दिएका थिए । ढिलै भएपनि जिल्लामै अक्सिजन प्लान्ट जडान हुने आशा जिल्लाबासीलाई थियो । तर, खरिदको सरकारी प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै धेरै समय बितेपछि कोभिडका बिरामीले अक्सिजन प्लान्टको सुविधा नपाउने देखिएको छ।  

प्रकाशित: १० असार २०७८ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App