१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो

टीकापुर अस्पताल भवन। तस्बिर: योगेश रावल

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।  

कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायका अनुसार हाल अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भैरहेको छ । ती मध्ये ५ जना एचडियु (उच्च उपचार कक्ष) र ५ जना कोभिड जनरल वार्डमा उपचाररत छन्।  

अस्पतालमा उपचाररत सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको फोकल पर्सन डा. उपाध्यायले जानकारी दिए। अस्पतालबाट हालसम्म १८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । उनीहरु सबै उपचार पश्चात निको भएका हुन्। अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये ४९ जना कोरोना संक्रमितले भने ज्यान गुमाएका छन्।  

अस्पतालमा ज्यान गुमाउने मध्ये धेरैजसो टीकापुर नगरपालिकाका रहेका छन्। अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार टीकापुर नगरपालिकाका २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसैगरी टीकापुर अस्पतालमा ज्यान गुमाउनेमा जानकी गाउँपालिकाका ११ जना, जोशीपुर गाउँपालिकाका ६ जना, भजनी नगरपालिकाका ३ जना, लम्कीचुहा नगरपालिकाका २ जना र बर्दगोरीया गाउँपालिकाका १ जना रहेका छन्। उनीहरु सबैको उपचारका क्रममा ज्यान गएको थियो।  

कोरोना संक्रमितको संख्या घटेपछि अस्पतालले आजदेखी ओपिडी सेवा सुचारु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले बैशाख १६ गतेदेखी ओपिडी सेवा बन्द गरेको थियो। मेसु डा.रेमकुमार राईले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी बन्द रहेको ओपिडी सेवा सुचारु गरिएको जानकारी दिए।  

जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता यता लकडाउन खुकुलो पार्दै लगेको छ। एकसाता अघि बिहान ११ बजेसम्म बजार क्षेत्र खुल्ला रहने निर्णय गरेको प्रशासनले आजदेखी अपरान्ह ३ बजेसम्म बजार खुल्ला रहने जनाएको छ। लकडाउन खुकुलो भएसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।

लकडाउन खुकुलो भएपछि कोरोना संक्रमितको संख्या फेरी बढ्ने आशंका फोकल पर्सन डा. उपाध्यायको छ। उनी फेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने बताउँछन। ‘विगतको झैं उच्च चाप नहुन सक्छ तर केही हदसम्म बिरामीको संख्या बढ्छ’ उनले भने–‘लकडाउन खुकुलो भएपछि झन बढी सचेतता अपनाउन आवश्यक छ।’

अस्पतालले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई समेत गम्भिरताका साथ हेरेको छ। फोकल पर्सन डा.उपाध्यायले सरकारको निर्देशन अनुसार तयारी भैरहेको जानकारी दिए। उनले अस्पतालमा बालबालिका लक्षित स्वास्थ्योपचारको प्रबन्ध भैरहेको बताए। 

टीकापुर अस्पतालमा बिरामीको अत्याधिक चाप हुने गरेको छ। यसले कैलालीको पूर्वी क्षेत्रका ६ वटा पालिकाका साथै छिमेकी जिल्ला बर्दियाको पश्चिमी भेगका बासिन्दालाई समेत उपचार सेवा दिँदै आईरहेको छ। यहाँ पहाडी जिल्ला डोटी र सुर्खेतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको पाईन्छ। 

प्रकाशित: ८ असार २०७८ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App