७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

मोवाइलको उज्यालोमा अप्रेशन गर्नु पर्ने बाध्यताको अन्त्य

बिरामी अप्रेशन गर्दै डाक्टर । अस्पतालमा आएको जेनेरेटर ।

रोल्पा अस्पतालले स्थापनाकालदेखि भोग्दै आएको विद्युतको समस्या हल भएको छ। बिजुली जाँदा गतिलो बैकल्पिक ब्यवस्था नहुँदा मोवाइलको उज्यालोमा सुत्केरी अप्रेशन गर्नु पर्ने बाध्यता रहेको यहाँ रोल्पा नगरपालिकाले १ सय केभिएको जेनेरेटर उपलब्ध गराएको छ। एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख पुर्ण केसिले अस्पताल बिकास समितिका अध्यक्ष फबिन्द्र आचार्यलाई उक्त जेनेरेटर हस्तान्तरण गरेका हुन्।  

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केही समय अगाडि नागरिक दैनिकमा ‘मोवाइल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने बताए। ‘हामी जहिले जनताकै सहजताका लागि काम गरिरहेका छौं। स्वास्थ्यका सवालमा नगरपालिका सम्बेदनशिल छ।’ करिब १५ लाख रुपैयाँ बढी रकम खर्चेर किनिएको जेनेरेटरले आउँदा दिनमा स्वास्थ्यकर्मी र बिरामीका लागि सहज हुने चिकित्सकहरु बताउँछन्।

जेनेरेटर पाएपछि अस्पताल परिवार दंग छ। ‘पहिला बत्ति गयो भने अप्रेशन गर्नका लागि ब्याकअप थिएन। एक्सरे गर्नलाई पनि समस्या थियो।’ रोल्पा अस्पतालका प्रमुख डा. सबु काप्ले भन्छिन्, ‘अब मोवाइल बालेर अप्रेशन गर्ने दिन हट्ने छ। यसले दीर्घकालीन सहयोग गराउने छ।’ अप्रेशन, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रवाहमा अस्पतालले समस्या झेलिरहेको थियो।

‘पहिला असहज थियो। बत्ति गईरहन्थ्यो। कहिले कसो बत्तिका कारण सेवा समेत रोक्नु पथ्र्यो अब त्यो समस्या हुने छैन।’ मोवाइलको उज्यालोमा सुत्केरी अप्रेशन गरेका रोल्पा अस्पतालका डा. प्रकाशबहादुर बुढा भन्छन्, ‘अप्रेशन गर्दागर्दै बत्ति जान्छ कि भनेर डर लागिरहन्थ्यो। हामीलाई मात्र नभएर बिरामीलाई पनि असहज हुन्थ्यो अब ढुक्क हुनेछ।’

ब्यवस्था परिवर्तन भएपनि अवस्था फेर्न नसकेको जिल्ला अस्पताल आज पनि १५ शैयाको मात्र छ। चिकित्सक र स्वास्थ्य दरबन्दी पर्याप्त नभएको रोल्पामा शैया अभाव उत्तिकै जटिल छ। अभावका बीचमा पनि रोल्पा अस्पतालले आजसम्म जनताको गुनासो आउन दिएको छैन। ‘सकेको सेवा दिइरहेका छौं। जे उपलब्ध छ त्यसलाई म्यानेज गरेर भए पनि सेवा प्रवाहमा कुनै कन्जुस्याई गरेका छैनौं।’ यतिबेला रोल्पावासी रोल्पा अस्पताललाई ‘आहा अस्पताल’का रुपमा चिन्ने गर्दछन्।

प्रकाशित: ८ असार २०७८ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App