९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपीको कोभिड अस्पतालमा ५ वर्षीय बालकको ब्रेन ट्युमरको शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच वर्षीय बालकको ब्रेन ट्युमरको शल्यक्रिया भएको छ ।  

प्रतिष्ठानका न्युरो सर्जन डा. आलोक दाहालको नेतृत्वमा बुधबार राती संक्रमित बालकको ब्रेन ट्युमरको शल्यक्रिया भएको हो । ती बालक भारतको विहार राज्यका हुन् । बालकका अभिभावकले टाउको दुखेर सुरुमा उपचारको लागि विराटनगर ल्याएका थिए । त्यहाँ एमआरआई गर्दा ब्रेन ट्युमर भएको पुष्टि भएको थियो । एमआरआइसँगै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि भने शल्यक्रिया हुँदैन भनेर पठाइदिएका थिए । त्यसपछि उनीहरु भौतारिँदै वीपी प्रतिष्ठान आइपुगेका हुन् ।

प्रतिष्ठानमा पनि पिसिआर जाँच गर्दा बिरामी बालकको रिपोर्ट पोजेटिभ नै आएको थियो । तर, बच्चाको अवस्था जोखिमपूर्ण हुँदै गएको कारण कोभिड अस्पतालमा नै शल्यक्रिया गर्ने निर्णय गरिएको डा.दाहालले जानकारी दिए । ‘बच्चाको स्थिति क्रिटिकल थियो । हातखुट्टा नचलाउने, आँखा नहेर्ने, आँखाको नानी पनि सुन्निएको थियो,’ डा.दाहालले भने, ‘होस पनि त्यति थिएन । अप्रेशन गर्नैपर्छ भनेर तयार भयौं, र झण्डै साढे ४ घण्टा लगाएर हिजो गर्यौं ।’

अप्रेशनमा डा.दाहालसँगै डा.निमेष विष्ट, डा.शुसिल, एनेथेस्यिाबाट सिनियर कन्सल्टेन्ट डा.आशिष सुवेदी, जेआर डा.प्रशान्त, स्टाफ नर्स कविता, टेक्निनियसन चन्द्र, हेल्पर पुजालगायत संलग्न रहेको थियो । यस्तै, पेडियाट्रिक विभागका डा.जितेन्द्र ठाकुर, डा. स्नेहा किरण र कोभिड अस्पतालका फोकल पर्सन डा.विकास साहले पनि बच्चाको अप्रेशन, बेड व्यवस्थापनमा ठूलो सहयोग गरेको दाहालले बताए । ‘बच्चाको दिमागमा धेरै पानी थियो, दिमागको दाँया र बाँया दुवै पट्टी ट्युमर थियो,’ डा.दाहालले भने,‘ट्युमरले बनाएको पानी सबै निकाल्यौं, ट्युमरको मासु पनि निकालेका छौं, र बायोस्पी, कल्चर गर्न दिएका छौं ।’

बायोस्पी र कल्चरको रिपोर्ट अनुसार रेडियो थेपारी गर्ने कि के गर्ने भनेर थप निर्क्याैल हुने डा.दाहालले बताए । उनका अनुसार अहिले बिरामी बच्चालाई भेन्टिलेटरमा राखिएको छ । बच्चाले आँखा खोलेको र हातखुट्टा पनि चलाएको उनले बताए । ‘ट्युमरको ठूलो अप्रेशन नै हो, हिजोको भन्दा आज राम्रो भएको छ । छटपटाएर दिमागमा रगत जम्न नदिन एक दुई दिन बेहोस् जस्तै राख्छौं,’ डा.दाहालले भने ।  

यसअघि पनि डा.दाहालको टिमले जेठ पहिलो साता लडेर दिमागमा रगत जमेका धरानकै एक कोरोना संक्रमित पुरुषको न्युरो सर्जरी सफलतापूर्वक गरेका थिए । प्रतिष्ठानकै कोभिड अस्पतालमा यसअघि पनि आन्द्राको जटिल दुई वटा अप्रेशन भएको थियो ।

प्रकाशित: २० जेष्ठ २०७८ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App