१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्पतालकाे बेडबाट लडेर घाइते भएकी महिलाको मृत्यु, छानबिन गर्न परिवारको माग

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा बेडबाट लडेर घाइते भएको भनिएको कोरोना संक्रमित महिलाको निधन भएको छ।  

सिरहा गोलबजारकी ५५ वर्षीया महिलाको सोमबार राती करिब साढे ७ बजे मृत्यु भएको हो। मृतकका परिवारजनले भने अस्पतालमा गम्भीर लापरवाही भएकोले छानबिन गर्नुपर्ने माग गरेका छन्। सुगर बढेपछि उपचारमा आएकी महिलालाई संक्रमण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। सामान्य अवस्था नै भएकोले जनरल बेडमा नै राखिएकी महिलाको बेडबाट लडेर गम्भीर घाइते भएको ढिला गरि जानकारी दिएको भन्दै परिवारजनले लापरवाहीको आरोप लगाएका छन्।

मृतकको परिवारले छानबिनको माग गर्दै शव बुझेका छैनन्। मृतका ज्वाँई धननारायण श्रेष्ठले हिजो (सोमबार) दिउँसो २ बजे मात्र ब्रिफिङको क्रममा लडेर घाइते भएको जानकारी अस्पतालले गराएको बताए। ‘कति बेला लड्नु भयो, कसरी लड्नुभयो भन्ने थाहै छैन। अघिल्लो साँझसम्म सामान्य मान्छे एक्कासी लड्यो भन्यो,’उनले भने,‘फेरि ३ बजे तिर नाक र निधार फुटेकोले आइसले सेकिरहेका छौं भने। गाह्रो भएपछि आइसियु, भेन्टिलेटरमा पनि लगेनन्, हामीले जर्बजस्ती गरेपछि मात्र आइसियुमा लगे, आधा घण्टा पछि नै मृत्यु भयो भनेर जानकारी आयो।’

मृतकको परिवारले सामान्य अवस्थाको मान्छे बेडबाट कसरी लड्यो भनेर सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने पनि माग गरेका छन्। ‘डाक्टर, नर्स थिए होलान्, उनीहरुले के गरे? सिसिटिभी मनिटरबाट लडेको देखेपछि हामीलाई पनि समयमा नै किन जानकारी दिइएन?’ ज्वाँई श्रेष्ठले भने।  

मृतकको शव बुझ्न अस्वीकार गरेपछि अस्पताल प्रशासन र मृतकका परिवारबीच छलफल भइरहेको छ। उक्त छलफलमा सिसिटिभी फुटेज हेर्ने र त्यसको आधारमा छानबिन समिति गठन गर्ने कुरा भएको मृतकका ज्वाँई श्रेष्ठले जानकारी दिए। यता, प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले भने मृतक पक्षसँग छलफल भइरहेको र घटना के, कसरी भएको भनेर यथार्थ बुझ्ने प्रयास पनि भइरहेको जानकारी दिए। ‘उहाँको मृत्युको कारण के हो ? घटना के कसरी भएको हो भनेर बुझ्ने कार्य भइरहेको छ, छलफलमा नै छौं। यथार्थ आएपछि सार्वजनिक गछौं,’ उनले भने। 

प्रकाशित: १८ जेष्ठ २०७८ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App