डोल्पा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक नै कोरोनाको दोस्रो लहरबाट पीडित बन्न थालेका छन्। सर्वसाधारणसंगै डोल्पामा संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी पनि छन्। अस्पतालका १ जना डाक्टरमा कोरोना पोजेटिभ देखिएको छ।
एन्टिजेन परीक्षण गर्दा शनिबार मात्रै कोरोना संक्रमित प्रमाणित भएपछि डा. मेलिना हमाललाई थप उपचारकाे लागि काठमाडौ लगिएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना पोकल पर्सन टेकबहादुर गुरुंगका अनुसार केही दिनदेखि डा. हमालको स्वास्थ्यमा गडबडी देखिएपछि शनिबार मात्र एन्टिजेन परीक्षण गरिएको थियो।
यससँगै डोल्पामा कोरोना संक्रमितको संख्या १ सय २६ पुगेको छ। जसमध्ये ४ जनाको मृत्यु भइएसकेको छ भने ४ जनालाई थप उपचारको लागि काठमाडौ रिफर गरिएकाे छ। ६३ जना सक्रिय संक्रमित रहेको र ५५ जना कोरोना जितेर घर फर्केको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ।
पोजेटिभ देखिएका २२ जना जिल्ला अस्पतालमा र विभिन्न स्थानीय तहका आइसोलेसनमा रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्।
प्रकाशित: १६ जेष्ठ २०७८ १०:०१ आइतबार