१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दुर्गममा जाँदैनन् डाक्टर! गाउँमा अझैँ नियन्त्रणमा छैन कोरोना

पाल्पाको निस्दी गाउँपालिका भवन ।

पाल्पाका अधिकांश पालिकाहरुले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन्। जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्वास्थ्य सामग्रीसहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका छन्। पाल्पाका अधिकांश गाउँपालिकाले डाक्टरसहितको कोरोना रोकथाम र उपचार गर्दै आएका छन्। तर पाल्पाको दुर्गम मानिने निस्दी गाउँपालिकामा भने डाक्टर नपाउँदा कोरोना उपचार गर्न मुस्किल परेको छ।  

पाल्पाको निस्दी गाउँपालिकामा हालसम्म ९३ जना कोरोना सङक्रमितहरु रहेका छन्। जसमध्ये १२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। गाउँपालिकाले कोरोना सङक्रमितहरु घरमै आसोलेसनमा रहेको जनाएको छ। गाउँपालिकामा अध्यक्ष मुक्तबहादुर सारुले सङक्रमितहरु अप्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर राख्दै गाउँपालिकाले निस्दी ५, ढुङ्गानावेशीमा ७ वेड र केएम खाम्चा प्रतिष्ठानको भवनमा १३ बेडको आसोलेसन निर्माण गरेको बताए। गाउँपालिकाले डाक्टर नपाएपनि अन्य स्वास्थ्यकर्मीहरु खटाएर कोरोना रोकथाम तथा उपचारात्मक सेवा प्रवाह गर्दै आएको छ।  

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले डाक्टरसहित कोभिड १९ कोरोना अस्पताल सञ्चालन गर्न डाक्टर नपाउँदा समस्या परेको बताए। ‘पाल्पाको दुर्गम गाउँपालिका भएर हो की के हो डाक्टर खोज्दा पाउन सकेनौं,' अर्यालले भने, 'डाक्टर नपाएपनि अन्य स्वास्थ्यकर्मीहरु रातदिन नभनि खटिईरहनु भएको छ। अन्य पालिकाको तुलनामा न्यून संख्या सङक्रमितहरु हुनुहुन्छ।’

निस्दी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६४ लाख रुपैयाँ रकम छुट्याएकोमा २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ। गाउँपालिकाले नेपाल सरकारसँग अनुमति माग गरेर खोप खरीद गर्न थप रकम व्यवस्थापन गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए। उनले होङसी सिमेन्ट, कालिगण्डकी फाउन्डेशन लगायतबाट अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्रीहरु सहयोग मिल्दा महामारी नियन्त्रणमा केही राहत मिलेको बताए।  

रामपुर नगरपालिकाले तीन स्थानमा पाँच÷पाँच शैयाको गरी पन्ध्र शैयाको अक्सिजनसहितको कोरोना अस्पताल तयार पारेको छ। वडा नं १ स्थित गाँडाकोट स्वास्थ्य चौकी, वडा नं ९ जब्गादी स्थित टङ्कनाथ स्मृति भवन र १० गेझा स्थित भानुभक्त माविमा  पाँच/पाँच शैयाको कक्ष तयार गरिएको आइसोलेसन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हिमाल मल्लले बताए। रामपुर अस्पतालमा दश शैयाको अक्सिजनसहितको आइसोलेसन कक्ष तयार छ जहाँ डाक्टरसहित २४ घण्टा स्वास्थ्यकर्मीहरु खटिएका छन्।  

रम्भा गाउँपालिकाले वडा नंं ५ ताहुँमा पाँच शैया र वडा नंं १ हुँगीमा पाँच शैया गरी दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ। रम्भा गाउँपालिकामा खटिएका डाक्टर पुजन श्रेष्ठले आफूहरु जुनसुकै वडामा पनि अप्ठ्यारो पर्दा घरघरमै पुगेर सेवा दिएका छन्। कोभिड १९ कोरोना अस्पताल, हुँगीका प्रमुख डाक्टर श्रेष्ठ भन्छन्, यस्तो महामारीको समयमा सुगमदुर्गम भन्ने हुँदैन हामीलाई खटाएको ठाउँमा तत्काल पुग्ने प्रयास गरि काम गरिरहेका छौं।  

रैनादेवी छहरा गाउँपालिकाले वडा नं ४ स्थित छहरामा दश शैयाको कोभिड अस्पताल तयार पारी संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए। पूर्वखोला गाउँपालिकाले दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ। तिनाउँ गाउँपालिकाले वडा नंं २ दोभान स्थित दोभान माविमा दश शैयाको कोभिड अस्पताल निर्माण गरी स्वास्थ्यकर्मी, खानपान, विभिन्न स्वास्थ्य उपचार सामग्रीसहितको प्रबन्ध गरी संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताए।  

बगनासकाली गाउँपालिकाले वडा नंं २ स्थित पोखराथोकमा दश शैयाको कोरोना अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। यस गाउँपालिकाले बिरामीलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन घर घरमा पुगेर औषधि उपचार सेवा दिँदै आइरहेको छ। रिब्दिकोट गाउँपालिकाले पाँच शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ भने पचास शैयाको अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेको छ। सङ्क्रमित बिरामीको मनोबल बढाउन घरमै पुगेर जानकारी लिने काम भइरहेको र अप्ठ्यारो परेमा कोभिड अस्पतालसम्म लैजाने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए।  

माथागढी गाउँपालिकाले वडा नं ४ मा १५ शैयाको अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए। उनी भन्छन्, ‘अस्पताल पनि बिरामीले भरिदा शैया नपाएर अकालमै मृत्युवरण गर्नु परेको अवस्था छ, पालिकाले स्वास्थ्यकर्मी, विभिन्न स्वास्थ्य सामग्रीको प्रबन्ध गरी अस्पताल संचालनमा ल्याएको छ, सङ्क्रमित बिरामीको दर बढ्दै गएको खण्डमा थप शैया तयार पार्ने छौ।’

तानसेन नगरपालिकाले जिल्ला अस्पताल पाल्पामा तीस शैयाको अक्सिजनसहितको कोराना अस्पताल निर्माण गरेको छ। निस्दीले विदेशबाट आएका भन्दा पनि शहरहरुबाट गाउँगाउँमा आएका व्यक्तिहरुले कोरोना सार्नसक्ने निष्कर्ष निकाल्दै प्रत्येक वडामा २० बेडको क्वारेन्टाईन स्थल बनाईएको छ। निस्दी ५ बेलडाँडामा हेल्थ प्लस हेल्प डेक्स स्थापना गरेको छ। जिल्लामा कोरोना सङक्रमितहरुको संख्या बढेसँगै उपचारात्मक तथा प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिँदै कन्ट्याक्ट ट्रेसिङ र सचेतना कार्य गरिँदै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App