३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण सफल

व्यावसायिक प्रयोजनका लागि तयार, सरकारी अनुमतिको प्रक्रिया अघि बढेको छ: नाष्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड अपनाएर तयार पारिएको अक्सिजन सिलिन्डर नेपाली वैज्ञानिकले तयार पारेका हुन्।  

सिलिन्डर तयार पार्ने काममा संग्लन रहेका नाष्टका वैज्ञानिक डा. शंकर ढकालले आइतबार सिलिन्डरको स्वीच अन गरेर दोस्रो चरणको परीक्षण सम्पन्न गरेको नाष्टका प्राविधिक संकाय प्रमुख डा.रवीन्द्रप्रसाद ढकालले बताए।  

हाल तयार पारिएको सिलिन्डर निकै सुरक्षित रहेको उनले जनाए। उनले आइतबार परीक्षण गरिएको सिलिन्डरमा ५ सय १५ किलो वर्ग सेन्टिमिटर चाप थेग्न सक्ने (५१५ बार ) क्षमता रहेको बताए। यो भनेको नेपालले तयार पारेको अक्सिजन सिलिन्डरले आवश्यक पर्नेभन्दा तीन गुणा बढी चाप थेग्ने क्षमताको रहेको छ।  

कोरोना महामारीको दोस्रो संक्रमणको जोखिम उच्च रूपमा बढ्दै गएपछि नेपालमा अक्सिजन ग्यास सिलिन्डरको अभाव हुँदै गएको छ। परनिर्भरता भएकै कारण नेपालमा अक्सिजन सिलिन्डरको हाहाकार बढ्दै गएपछि नेपाली इन्जिनियर वैज्ञानिकहरूले सिलिन्डर बनाउन सक्ने प्रविधिको निर्माण गरी आइतबार सफल परीक्षण गरेको नाष्टले जनाएको छ।  

‘बजारमा पाइने अक्सिजन सिलिन्डरको चाप क्षमता १५० किलोप्रति स्क्वायर सेन्टिमिटर हुन्छ। यसको सुरक्षा चाप क्षमता बढीमा साढे दुई गुणा मात्र हुन्छ,’ डा. रवीन्द्र ढकालले नागरिकसँग भने, ‘नाष्टका वैज्ञानिकले तयार पारेको सिलिन्डरको सुरक्षा चाप क्षमता तीन गुणा बढी छ।’ उनले थपे, ‘हामीले स्वदेशी स्टिलका डन्डी प्रयोग गरी विश्वस्तरीय सिलिन्डर तयार पारेका हौं। सफलता पाएकोमा गर्व महसुस भएको छ।’

उनले अब नाष्टले तयार पारेको प्रविधि व्यावासायिक रूपमा निजी कम्पनीलाई उपलब्ध गराउने सरकारसँग अनुमतिको पहलको प्रक्रिया समेत सुरु गरिसकेको बताए। ‘हामीसँग नेपालका तीन ठूला कम्पनीको आवेदन आएको छ,’ उनले भने, ‘स्वास्थ्य अनुसन्धान परिषद्, गुणस्तर तथा नापतौल विभाग र नेपाल सरकारसँग सरकारी अनुमति प्राप्त हुनसाथ नाष्टले व्यावसायिक काम सुरु गर्छ। अनुमतिको प्रक्रिया अघि बढेको छ। कम्पनीहरूे उत्पादन गरेको आधारमा नाष्टलाई रोयल्टी दिनुपर्छ।’ विश्व बजारमा ५ देखि ७ प्रतिशतसम्म रोयल्टी दिने व्यवस्था छ। यसका साथै अब नाष्टले सिलिन्डर प्रेसर परीक्षण गर्ने प्रविधिको पनि विकास गर्न लागेको उनले जनाए। यसका लागि युएनडिपीसँग छलफल अघि बढेको छ।

‘नाष्टसँग प्रेसर परीक्षण गर्नका लागि पूर्वाधार छैन,’ उनले भने, ‘परीक्षणको पूर्वाधार विकास गर्न युएनडिपीसँग सहकार्यको काम अघि बढेको छ।’ उनले थपे, ‘सिलिन्डरमा प्रयोग गरिएको स्टिल र त्यसमा भरिएको अक्सिजन ग्यासको चापले सिलिन्डरमा खिया लाग्छ। यसले खतरा बढ्छ। त्यही भएर सिलिन्डरहरूको परीक्षण ५÷५ वर्षमा गरिनुपर्ने विश्वस्तरीय मान्यता नै हो। तर हामी कहाँ परीक्षण गर्ने साधन नभएकोले गर्न सकिएको छैन। सुरक्षाको सवालमा पनि जोखिमकै वातावरण छ।’

नाष्टले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो। कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नाष्टले नेपालमा उपलब्ध भएको स्वदेशी सामग्रीकै प्रयोग गरी उच्चतम सुरक्षासहितको सिलिण्डर निर्माणको दोस्रो चरणको परीक्षण गर्न सफल भएको उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए।

‘नाष्टले स्वदेशमै उपलब्ध स्टिललगायतका सामग्रीहरूको प्रयोग गरी अक्सिजन सिलिन्डरको उच्च सुरक्षासहितको सिलिन्डर तयार गर्न अब नेपालसक्षम भएको छ,’ उपकुलपति श्रेष्ठले नागरिकसँग भने, ‘कोरोना महामारीको जोखिमका हामीकहाँ अक्सिजन सिलिन्डरको दैनिक खपत ४० हजार सिलिन्डर आवश्यक रहेको सरकारी तथ्यांक छ। तर हाल हामी विदेशीहरूमा निर्भर छौं। सिलिन्डरको हाहाकारकै कारण बिरामीको ज्यान गएको छ। यही समस्या महसुस गरी हाम्रा वैज्ञानिकले नेपालमै सिलिन्डर बनाउने र परीक्षण गर्न सक्नेसमेत प्रविधिको विकास गर्नुभएको छ।’ सरकारले स्वीकृति दिएलगत्तै उत्पादन गर्न योग्य कम्पनीहरूलाई नाष्टले प्रविधि उपलब्ध गराउने उपकुलति सुनिलबाबु श्रेष्ठले बताए। सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो। यसका साथै यसमा निजी क्षेत्रका प्रतिनिधिको योगदान छ। जसमा सुजन श्रेष्ठ, पूर्णराज सुवेदी, कृष्ण ढकाल र गौतम अर्यालको सहभागितामा सिलिन्डर तयार पारीएको हो।  

गत साता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितमापरीक्षण गर्दा ग्यासको दबाब २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो। प्रमुख ढकालका अनुसार नेपालमा उत्पादन हुने ग्यास सिलिन्डर अन्तर्राष्ट्रिय गुणस्तरको उच्च सुरक्षा छ र हाल विदेशबाट अयात हुने भन्दा निकै सस्तो मूल्यमा उपलब्ध हुन्छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App