७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रहस्यमय बन्दै कोरोना उत्पत्ति

सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

यो दाबीसँगै प्रयोगशालाबाट भाइरस बाहिर निस्केको सम्भावना देखिएकाले तथ्य पत्ता लगाउन स्वतन्त्र अध्ययन हुनुपर्ने आवाजलाई थप बल मिलेकोे छ। कोरोना भाइरस प्राकृतिक हिसाबले नभई प्रयोगशालाबाट उत्पत्ति भएको यसअघि केही विज्ञले बताउँदै आएका थिए। यो प्रतिवेदन सार्वजनिक भएपछि यो विषयको चर्चा उत्सर्गमा छ। यही आइतबार अमेरिकी दैनिक वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको अमेरिकी खुफिया एजेन्सीको एक प्रतिवेदनले वुहानस्थित एक प्रयोगशालाका तीनजना अनुसन्धानकर्ता नोभेम्बरमा नै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समाचार सार्वजनिक गरेपछि यो विषयले फेरि विश्वव्यापी चर्चा पाएको हो। 

जर्नलले उक्त प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सार्वजनिक स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ। अमेरिकाका गुप्तचर एजेन्सीसँग आबद्ध भूतपूर्व तथा वर्तमान अधिकारीले वुहानका अनुसन्धानकर्ता बिरामी भएको तथ्य सार्वजनिक भएपछि यो विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको बताएको वालस्ट्रिट जर्नलले जनाएको छ।  

एक अधिकारीले यो प्रतिवेदन एक अन्तर्राष्ट्रिय संस्थाले उपलब्ध गराएको र थप पुष्टिका लागि स्वतन्त्र अध्ययन आवश्यक रहेका बताएका छन्। ‘यो प्रतिवेदन अत्यन्त प्रभावशाली देखिएको छ। अनुसन्धानकर्ता किन बिरामी भए भन्ने विषयमा स्पष्टता आवश्यक छ,’ गुप्तचर एजेन्सीका अर्का अधिकारीलाई उद्धृत गर्दै वालस्ट्रिट जर्नलले भनेको छ। चीनको वुहान सहरमा सन् २०१९ को नोभेम्बरमा कोभिड–१९ सुरु भएको भाइरस विज्ञ तथा इमिडेमिओलोजिस्टको मान्यता रहेको छ भने चीनले यो भाइरसका कारण बिरामी भएका एक पुरुषको पहिचान डिसेम्बर ८ मा मात्र भएको दाबी गर्दै आएको छ।  

विश्व स्वास्थ्य संगठनको अगुवाइमा गत फेब्रुअरीमा वैज्ञानिकको एक टोलीले वुहानको स्थलगत अध्ययन गरेर भाइरसको उत्पत्तिसम्बन्धी जानकारी संकलन गरेको थियो। चिनियाँ र बाह्य विशेषज्ञ समावेश भएको उक्त टोलीले आफ्नो रिपोर्टमा भाइरस चमेरो अथवा अन्य जनावरबाट मानिसमा सरेको हुन सक्ने र भाइरसको उत्पत्ति सम्बन्धमा थप अध्ययन आवश्यक रहेको प्रतिवेदन दिएको थियो। उक्त रिपोर्टलाई वैज्ञानिकको एक समूहले आलोचना गरेको थियो। प्रतिवेदनमा प्रयोगशालाबाट भाइरस बाहिरिएको हुन सक्ने विषयलाई गम्भीरतापूर्वक नलिएको दाबी उनीहरूको थियो।  

विज्ञानसम्बन्धी प्रसिद्ध पत्रिका साइन्स म्यागजिनमा मे १४ मा प्रकाशित एक आलेखमा ती वैज्ञानिकले भनेका छन्, ‘हामीले भाइरसको प्राकृतिक उत्पत्ति र प्रयोगशालाबाट भएको हुन सक्ने उत्पत्तिका सिद्धान्त दुवैलाई त्यति बेलासम्म हेर्नुपर्छ, जति बेलासम्म हामीसँग यथेष्ट तथ्यांक हुँदैनन्।’ भाइरस उत्पत्तिसम्बन्धी दुवै सिद्धान्तलाई डब्लुएचओले समान हिसाबले नलिएको पनि साइन्स म्यागेजिनले उल्लेख गरेको छ। ‘३ सय १३ पेज लामो प्रतिवेदन र अनुसूचीमध्ये चार पेजमा मात्रा प्रयोेगशालामा भएको घटनाका कारण भाइरस उत्पत्ति भएको सम्भावनालाई उल्लेख गरिएको छ,’ साइन्स म्यागेजिनको उक्त अनुसन्धानमूलक आलेखमा भनिएको छ।

प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको विषयलाई चीनले सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। चीनको विदेश मन्त्रालयले वालस्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको दोस्रो दिन अर्थात् गत सोमबार चीनले उक्त प्रतिवेदन असत्य रहेको बताएको छ भने मंगलबार विश्व स्वास्थ संगठनको एक बैठकमा चीनमा भाइरस उत्पत्ति नभएको पुष्टि भइसकेको र अन्य देशमा भएको हुने सक्ने सम्बन्धमा आगामी अध्ययन केन्द्रित हुनुपर्ने बताएको छ।  

‘अमेरिकाले प्रयोगशालाबाट भाइरस निस्केको सिद्धान्तलाई अतिरञ्जित गर्न खोजेको छ। भाइरस उत्पत्तिबारे के अमेरिका साँच्चै चिन्तित छ ? अथवा उसले यो विषयलाई विषयान्तर गर्न खोजेको छ ?’ चीनको परराष्ट्र मन्त्रालयले अमेरिकी दैनिक वालस्ट्रिट जर्नलको एक जिज्ञासाको प्रत्युत्तरमा भनेको छ। भाइरसको उत्पत्ति चीनमा नभई अमेरिकाको मेरिल्यान्डको फोर्ट डेट्रिक रहेको सैनिक प्रयोगशालामा उत्पत्ति भएको हुन सक्ने अथवा चीनबाहिर अन्य देशबाट भएको हुन सक्ने दाबी गरेको छ। उता अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गुप्तचर संस्थाको भाइरस उत्पत्तिसम्बन्धी प्रतिवेदनका विषयमा प्रतिक्रिया नदिएको तर उत्पत्तिको सबै सम्भावनाको अनुसन्धान हुनुपर्ने बताएका जर्नलमा प्रकाशित समाचारमा भनिएको छ।

विश्व स्वास्थ संगठनको मार्चको प्रतिवेदन अपुरो रहेको भन्दै युरोपियन युनियन, अमेरिकालगायत अन्य देशले पारदर्शी र स्वतन्त्र अध्ययन हुनुपर्ने माग गर्दै आएका छन्। यी देशले भाइरससम्बन्धी तथ्यांकमा यथेष्ट पहुँचको सुनिश्चितता हुनुपर्ने बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनको अध्ययन टोलीमा सहभागी एक अनुसन्धानकर्ताले वुहानमा रहेको एक रक्तसञ्चार केन्द्रमा डिसेम्बरअघिका रगतका नमुना उपलब्ध गराउन चीन तयार भए पनि अझैसम्म ती नमुना उपलब्ध नभएको वालस्ट्रिट जर्नललाई बताएका छन्।  

अमेरिकी समाचार संस्था सिएनएनले मंगलबार प्रकाशित एक समाचारमा भविष्यमा यस प्रकारको महामारी फैलिन सक्ने भएकाले चीनले भाइरस उत्पत्तिको गुत्थी सुल्झाउन सहयोग गर्नुपर्ने बताएको छ। यसअघि चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलीका वैज्ञानिकले डिसेम्बर ३० तारेखअघि इन्सिच्युटमा भाइरस नदेखिएको दाबी गरेका तर गुप्तचर संस्थाका पछिल्लो प्रतिवेदनले त्यो गलत देखिएकाले यो विषय थप पेचिलो भनेको सिएनएनले जनाएको छ।  

अमेरिका जोन हपकिन्स विश्वविद्यालयअन्तर्गतको कोरोना भाइरस रिसर्च सेन्टरका अनुसार बुधबारसम्म कोरोना भाइरसका कारण विश्वका ३४ लाख ८६ हजारको मृत्यु भएको छ भने १६ करोड ७८ लाख मानिस यो भाइरसबाट संक्रमित भएका छन्। कोरोना संक्रमणले सबैभन्दा बढी अमेरिकामा ५ लाख ९० हजारको मृत्यु भएको छ। यसैगरी ब्राजिलमा ४ लाख ५२ हजार र भारतमा ३ लाख ११ हजारको मृत्यु भएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App