८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जुम्लाका स्थानीयतहमा अक्सिजनसहितको कोभिड अस्पताल

अक्सिजन सहितको कोभिड अस्पतालको अनुगमन गर्दै पुर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोली: धनबहादुर/नागरिक

जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन्। एक कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डर सम्म व्यवस्थापन गरिएको पाइएको हो। चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले कोभिड अस्पताल सञ्चालनमा छैन।  

यहाँको गुठिचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ। २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए। उनले भने,‘कोरोना संक्रमितको प्राण भनेको नै अक्सिजन हो। कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा खासै अर्थ हुदैन्।’ चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्क संग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उनले बताए।  

अहिले सम्म अक्सिजन दिनु पर्ने बिरामी भर्ना भएका छैनन। बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन दिदैनौँ। उनले भने,‘लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ।’ उनको गाउँपालिकामा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ। हरेक बेडमा एक एक अक्सिजन सिलिण्डर राखिएको छ। उनले भने,‘अहिले सम्म बिरामी भर्ना भएको अवस्था छैन। यदि बिरामी भर्ना हुनु पर्ने अवस्था आएको खण्डमा कोभिड अस्पतालमै अक्सिजनको साहरामा चिकित्सकको निगरानीमा उपचार गर्न सकिने अवस्था छ। ’

गुठिचौर बाहेक जुम्लाको अन्य स्थानीयतहमा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा छन्। हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र  कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ।  जिल्लाको पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको अध्यक्ष लछिमान बोहोरा बताउँछन्।

उनले भने,‘गाउँमा लक्षण सहितका संक्रमित छैन। लक्षण नदेखिएका संक्रमित भएकोले होम आइसोलेसनमा बसेका छन्। लक्षण देखिएको र गम्भीर प्रकृतिको बिरामी देखिएमा कोभिड अस्पतालमा उपचार सुरु हुन्छ।’ भेण्टिलेटरमा राख्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीयतहमा एक एक जना चिकित्सक खटाएको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा तयारी राम्रै देखिएको बताउँछन्। उनले भने,‘गाउँका सिंहदरवारमा खोलिएका कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर देखि चिकित्सक र बेड व्यवस्थापन राम्रो देखिएको छ। तर संक्रमितको उच्च निगरानी राख्नु पर्ने देखिन्छ। ’

उनले स्थानीयतहलाई एन्टिजेन र आरडिटी खरिद गरेर मास टेस्टिङ र ट्रेसिङमा जोड दिन आग्रह गरे। कोरोना संक्रमितका लागि अहिले अक्सिजनको आवश्यकता हो। अक्सिजन नपाउँदा कैयो संक्रमितको ज्यान जाने गरेको छ, कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने,‘कोभिड अस्पताल भित्रको तयारी सन्तोषजनक छ। तर संक्रमितलाई आइसोलेसनमा राखेर उच्च निगरानी राख्नु पर्ने आवश्यकता छ। ’

उनले जिल्लाबाहिरबाट आउनेको तथ्यांक राखेर आरडिटी वा पिसिआर गर्नु पर्ने बताए। पुर्वमन्त्री भण्डारी कोभिड अस्पताल र आइसोलेसन सेन्टर अनुगमन गर्न जुम्ला पुगेका थिए। जुम्लाको सिँजा गाउँपालिका बाहेक सबै स्थानीयतहमा न्युनतम २५ देखि अधिकतम ५० बेड सम्मका आइसोलेसन सेन्टर बनेका छन्। तर संक्रमित घरमा बसेका छन्। आइसोलेसन सेन्टर खाली नै छन्। कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले भने,‘अब नयाँ भेरियन्ट आउँदैछ। स्थानीयतहमा अक्सिजन देखि चिकित्सक र अन्य पुर्वतयारी गर्न जरुरी छ। ’  

उनले कोरोना भाइरसको संक्रमणलाई खेलाँची नठान्न सुझाव दिए। हरेक स्थानीयतहमा कोभिड एम्बुलेन्स तयारी अवस्थामा राखेका छन्। हिमा गाउँपालिकाका कार्यबहाक अध्यक्ष हिमाली रोकाया कोरोना संक्रमितको उपचार र निगरानीमा संवेदनशिल बनेको बताउँछिन्।  

जुम्लाको सिँजा गाउँपालिका आइसोलेसन सेन्टर छैनन्। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई मध्येनजर गर्र्दै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ। सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यन्नको बैंक बनाएर केन्द्रको निर्णय बमोजिम वितरण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७८ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App